काठमाडौं/ गत श्रावण २९ गते दौडाहामा निस्किएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको जिल्ला भ्रमण विवादमा परेको छ । सुदुरपश्चिमका जिल्लाका समस्याको स्थलगत अध्ययन गर्न, समस्याको समाधान गर्न मन्त्री लम्सालले धनगढीबाट यात्रा शुरु गरेका थिए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय सडक, खानेपानी, डोलीडार र शहरी विकास सम्बन्धी समस्याका लागि मन्त्री लम्सालले दार्चुला, बैतडी र डडेलधुरामा आफैंले गाडी चलाएर स्थलगत अध्ययन गर्दै जनताका समस्या बुझेका थिए ।
मन्त्री लम्सालको भ्रमण टोलीमा पूर्वाधार विकास सचिव गोपाल सिग्देल, सडक विभागका महानिर्देशबाट विजय जैशी, खानेपानी विभागका कमलराज श्रेष्ठ, शहरी तथा भवन निर्माण विभागका रविन्द्र बोहरा र डोलिडारका अशोक साह पनि संलग्न रहेको समाचार श्रोतले बताएको छ । धपडी र दौडधुप बढी भएपछि एक्कासी ज्वरो बढेर नरोकिएपछि मन्त्री लम्साल सेनाको हेलिकप्टर मगाएर भदौ १ गते काठमाडौं फर्केको र टोलीमा संलग्न अन्य व्यक्तिहरु -सचिव र डीजी) भदौ २ गते काठमाडौं फर्किएको स्रोतले जानकारी दिएको छ ।
मन्त्री लम्सालले सरकार गठन भएर जिम्मेवारी सम्हालेपछि साढे चार महिनामा ५५ जिल्लाको भ्रमण गरी एक्सप्रेस वेमा गाडी चलाएर पूर्वाधार विकासको बारेमा अध्ययन गरेको र रुग्ण विकासे आयोजनाका बारेमा समस्याको समाधान गर्ने तर्फ सकृयता देखाएको श्रोतले बताएको छ । साढे चार महिनाको तुफानी भ्रमणमा मन्त्री लम्सालले भौतिक प्रगति नभएका योजना तथा आयोजनाहरुको ठेक्का तोड्न र काम नगर्ने निर्माण व्यवसायीलाई कानूनी कठघरामा उभ्याउन समेत निर्देशन दिएका छन् ।
नरम एवं कठोर बन्दै अगाडि बढेका तथा बेलाबखत आलोचित बन्ने गरेका मन्त्री लम्साल पछिल्लो समय बैतडीबाट सेनाको हेलिकप्टर मार्फत काठमाडौं फर्किएपछि सत्ताधारी पार्टी रास्वपाका सांसद पारसमणि गेलाल र प्रतिपक्षका सांसद वासना थापा तथा वर्षमान पुनले जनता मर्न लाग्दा अस्पताल पुग्ने साधन छैन, मन्त्रीलाई सामान्य रुघा, खोकी लाग्दा र ज्वरो आउँदा हेलिकोप्टर ? भन्दै प्रतिनिधि सभाको बैठकमा प्रश्न उठाएका छन् । उनीहरुले मन्त्री लम्साललाई अनावश्यक रुपमा जिल्ला भ्रमणमा तामझाम र जम्बो टोलीका साथ ननिस्कन आग्रह गरेपछि देश घुम्ने रहर हो कि समस्या समाधान गर्ने हुटहुटी भन्दै प्रश्न उठेपछि उनका क्रियाकलाप चर्चित बनेका छन् ।
दौडाहा भ्रमणमा निस्किएका मन्त्री चर्चामा
Facebook Comments Box
