देउवालाई ब्यूँझाउन थापा र शर्मा पुगे बालुवाटार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ÷ नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनपछि दललाई अझ सशक्त र ऊर्जाशील बनाउने विषयमा ध्यान दिन सकेका छैनन् । गठबन्धनको काँध चढेर सत्तास्वार्थमा रमाएका देउवा गत बैशाख ३० गतेको स्थानीय तहको निर्वाचन परिणामले मख्ख परेका छन् ।
१४ औँ महाधिवेशनपछि दलको नीति महाधिवेशन हुन सकेको छैन । पार्टीलाई विधानअनुसार छ महिनाभित्र गठन गर्नुपर्ने विभागहरु अस्तव्यस्त रहेका छन् । नेविसंघ र तरुण दललाई पूर्णता दिनुपर्ने आज १० गतेसम्म विभाग गठन र पूर्णता तथा भ्रातृ संस्थाको अधिवेशन टुङ्गो लगाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्री देउवालाई सुझाएको समाचार स्रोतले बताएको छ ।
यसैगरी, स्टेट पाटनरसीप प्रोग्राम (एसपीपी) बारे प्रतिपक्ष दल नेकपा (एमाले) सँग छलफल गरेर एसपीपी सधैँका लागि बन्द गर्न आग्रह गर्दै पेट्रोलियम पदार्थमा भएको चर्को मूल्यवृद्धिले जनता समस्यामा परेकाले राहत दिने कार्यक्रम सरकारले ल्याउनुपर्ने माग र विदेशमा रहेका नेपालीको मताधिकारको पनि ध्यानाकर्षण गरेको बताइएको छ । काँग्रेसकै प्रधानमन्त्री र गृहमन्त्री हुँदासमेत कार्यकर्ताहरुले न्याय नपाएको गुनासो आए र संगठनका गतिविधिहरु आझेलमा परेको अवस्थामा आगामी संघ र प्रदेशको निर्वाचनमा कार्यकर्ताहरुलाई तिखार्नुपर्ने, सुतेकालाई ब्यूँझाउनुपर्ने र ब्यूँझिएकालाई दौडाउनुपर्ने अवस्था छ ।
संस्थापन इतर पक्षका नेताहरुलाई विश्वासमा लिएर सभापति देउवाले गुट, उपगुटको ढोका बन्द गरी आगामी निर्वाचनमा काँग्रेसलाई एक नम्बरको दल बनाउन लाग्नुपर्ने जानकारहरुले बताएका छन् । काँग्रेसमा अबको नेतृत्व युवापुस्ताले पाउनुपर्ने चर्चा चलेको छ । काँग्रेसमा ७५ वर्ष काटेका नेताहरु देउवासहित वरिष्ठ नेता रामचन्द्र पैडेल, गोपालमान श्रेष्ठलगायतका नेताहरुले विश्राम लिनुपर्ने बहस शुरु भएको छ ।
स्थानीय निर्वाचनमा अन्तरघात गरेको भनिएका नेता तथा कार्यकर्ताहरुलाई अनुशासनको कारबाही गर्नुको सट्टा विश्वासमा लिएर अगाडि बढे फाटेका मनहरु फेरि जोडिने काँग्रेसमा लागेर बिनास्वार्थ काम गरेकाहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *