वामएकताको लागि वामदेवको हुटहुटी

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ अमेरिकाको भ्रमणपछि वामपन्थी नेता वामदेव गौतमलाई फेरि वाम एकताको भूत चढेको छ । नेकपा (एमाले) बाट अलग भई नेकपा एकता राष्ट्रिय अभियान शुरु गरेका गौतमले दोस्रो राष्ट्रिय भेला बोलाएका छन् । भोलि असार ११ (२०७९) शनिबार बिहान ८ बजे ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा भेला बोलाएका हुन् ।
एमाले र नेकपा (माओवादी केन्द्र) विभाजन भएपछि गौतम कतैतिर नलागी स्वतन्त्र रहँदै आएका छन् । २०७४ सालमा बर्दियाबाट प्रतिनिधिसभाको चुनावमा पराजित भएपछि विभिन्न जिल्लाबाट उपनिर्वाचन लडेर विजयी बनेपछि प्रधानमन्त्री बन्ने सपना देखेका थिए । त्यो पूरा नभएपछि गौतम हाल राष्ट्रियसभा सदस्य रहेका छन् ।
कुनै बेला एमालेका शक्तिशाली नेताका रुपमा चिनिने गौतम नेकपाको सचिवालय सदस्यसमेत थिए । नेकपामा चट्याङ परेपछि गुमनाम जस्तै बनेका गौतम अहिले एमाले, माओवादी र एकीकृत समाजवादी पार्टीलाई पुनः एकता गर्ने लाममा सक्रिय बनेका छन् । नेता गौतमलाई पूर्वमन्त्री हरि पराजुलीलगायतका औँलामा गन्न सकिने नेताहरुले साथ दिँदै आएका छन् । हक्की र स्पष्ट वक्ताका रुपमा चिनिएका गौतमको वाम एकता अभियान पूरा नभए पनि आगामी संघ र प्रदेशको निर्वाचनमा वाम गठबन्धनको लागि गृहकार्य शुरु भएको जानकारहरुले बताएका छन् ।
गठबन्धन भत्काउन माओवादी नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, एसका सम्मानित नेता झलनाथ खनाल र एमालेका दोस्रो तहका नेताहरु घनिभूतरुपमा लागिपरेको समाचार स्रोतले बताएको छ । त्यसैले नेता गौतम अहिले वाम एकताको पक्षमा सक्रिय हुन थालेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *