पाण्डेले सफाई पाएपछि दाहाललाई तनाब

Nayabimarsha (Weekly Newspaper from Nepal)

चितवन/ राप्रपाका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डेले सिक्टा सिंचाई आयोजनामा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ पाएका छन् । उनलाई विशेष अदालतले सफाइ दिएको हो ।
पाण्डेविरुद्ध साढे दुई अर्ब रुपियाँ बिगो दाबी गर्दै अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता भएको थियो । कालिका कन्स्ट्रक्सनको नामबाट ठेक्कापट्टा गर्दै आएका पाण्डे चितवन क्षेत्र नं.३ मा लोकप्रिय मानिन्छन् । चितवन ३ मा पाण्डेको राम्रो पकड देखेर नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद ओलीले एमाले प्रवेश गराएर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई पत्तासाफ गर्ने रणनीतिमा जुटेका छन् । पाण्डेले एमालेभन्दा राप्रपा नै रोजेका बताइएको छ ।
संघको निर्वाचन आउन अझै पाँच महिना बाँकी रहेकाले एमालेसँग पाण्डेले तालमेल गरेर दाहाल चुनाव हराउने जानकारहरुले बताएका छन् । एमालेको आपूmलाई हराउने सुइँको पाएपछि दाहालले अन्य जिल्ला खोजी गरेको समाचार स्रोतले बताएको छ । पाण्डेले अदालतबाट सफाइ पाउना साथ दाहाल तनावमा परेको राजनीतिक वृत्तमा चर्चा चलेको छ ।
गठबन्धन भए पनि दाहाललाई चुनाव जित्न सकस पर्ने अनुमान गरिएको छ । २०७४ सालको प्रतिनिधिसभाको चुनावमा दाहालसँग पाण्डेले नै प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला एमालेसँगको तालमेल गरेका दाहालले ४८ हजार दुई सय ७६ मत ल्याएर विजयी बनेका थिए । भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि काँग्रेसी मतदाताहरु नेतृत्वसँग रुष्ट बनेका छन् । भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडेका जगन्नाथ पौडेलले १५ हजार मत ल्याए पनि रेणु दाहाललाई विजयी बनाउन ठूलो हात काँग्रेसीहरुकै थियो ।
आउने चुनावमा दाहाललाई हराउन एमालेले साम, दाम, दण्ड, भेदको नीति अपनाउने चर्चा चलेको छ । २०७० सालको संविधानसभाको निर्वाचनमा चितवनबाट चुनाव जिती पाण्डे भूमि सुधार मन्त्री बनेका थिए । निर्माण व्यवसायीहरुमध्ये पाण्डेको कालिका कन्स्ट्रक्सन टप आठजना भित्र पर्ने सडक विभाग स्रोतले बताएको छ । रसुवा कन्स्ट्रक्सन, शर्मा एण्ड कम्पनी, कालिका कन्स्ट्रक्सन, तुँदी कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सन, रमण र अनक कन्स्ट्रक्सनलगायतका निर्माण व्यवसायीहरुको ठेक्कापट्टामा एकछत्र राज चलिरहेको समाचार स्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *