काठमाडौं/ प्रधानमन्त्री निवास बालुवाटारमा दशैंको आफ्नै इतिहास छ । देशको कार्यकारी प्रमुख जहाँ बस्छन्, त्यहाँ चाडपर्व पनि केवल पारिवारिक विषय भएर रहँदैन । प्रधानमन्त्रीको घरमा आउने शुभेच्छुक, भेट्न पुग्ने नेता–कार्यकर्ता, आफन्त र राजनीतिक व्यक्तित्वको बाक्लो उपस्थिति क्रमशः सार्वजनिक दृश्य बन्छ । दशैंको टीका कहिलेकाहीँ पारिवारिक संस्कारभन्दा बाहिर निस्केर राजनीतिक पहुँच र निकटताको संकेतसमेत बन्ने गरेको छ ।
२०८३ को दशैंमा बालुवाटारको त्यो परिचित दृश्यमा केही फरकपन देखियो । प्रधानमन्त्री बालेन्द्र शाह अर्थात् बालेनका लागि यो प्रधानमन्त्रीका रूपमा पहिलो बडा दशैं थियो । उनले त्यसलाई आफ्नो राजनीतिक हैसियत प्रदर्शन गर्ने अवसर बनाएनन् । व्यक्तिगत जीवनमा आएको शोकका कारण उनी यसपालि टीकाको संस्कारमा सहभागी भएनन् । त्यसले बालुवाटारमा प्रधानमन्त्रीको पहिलो दशैंलाई अरू वर्षको भन्दा स्वाभाविक रूपमै फरक बनाइदियो ।
बालेनका पिता बितेको केही समय भएकाले उनी बरखीमा थिए । नेपाली सामाजिक संस्कारमा यस्तो अवस्थामा टीका नलगाउनु अस्वाभाविक होइन । त्यसैले यसलाई उनले अरूभन्दा फरक देखिन खोजेको निर्णयका रूपमा मात्र बुझ्नु उचित हुँदैन । प्रधानमन्त्री निवासको दृष्टिले हेर्दा यसको अर्को अर्थ पनि देखिन्छ कि सत्ताको सर्वोच्च कार्यकारी पदमा पुगेका व्यक्तिको निजी संस्कार र सार्वजनिक भूमिकाबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने एउटा उदाहरण यसपालि देखियो ।
नेपालमा विगतका प्रधानमन्त्रीहरूको दशैं सम्झिँदा प्रधानमन्त्री निवास प्रायः शुभेच्छा साट्ने ठाउँका रूपमा देखिन्छ । प्रधानमन्त्रीलाई टीका थाप्न जाने, शीर्ष नेतासँग भेटघाट हुने, पार्टीका नेता–कार्यकर्ता पुग्ने र राजनीतिक सम्बन्धलाई पारिवारिक आत्मीयताको भाषामा प्रस्तुत गर्ने चलन रहँदै आएको छ । कतिपय अवस्थामा प्रधानमन्त्रीको हातबाट टीका लगाएको तस्वीर आफैंमा राजनीतिक समाचार बन्थ्यो ।
बालेनको पहिलो दशैंले भने त्यो परम्परालाई निरन्तरता दिन सकेन वा उनले त्यसलाई प्राथमिकता दिएनन् भन्ने देखियो ।
यसमा बालेनको व्यक्तिगत स्वभावको प्रभाव पनि छुट्याउन मिल्दैन । उनी राष्ट्रिय राजनीतिमा प्रवेश गर्नुअघि नै स्थापित राजनीतिक संस्कारभन्दा फरक व्यवहारका कारण चर्चामा आएका व्यक्ति हुन् । काठमाडौं महानगरको नेतृत्व गर्दा होस् वा अहिले संघीय सरकारको नेतृत्व गर्दा, सार्वजनिक पदलाई व्यक्तिगत लोकप्रियता प्रदर्शन गर्ने मञ्चभन्दा कामको परिणामसँग जोड्नुपर्ने उनको राजनीतिक छवि निर्माण भएको छ । त्यसैले बालुवाटारमा उनको पहिलो दशैंलाई पनि यही पृष्ठभूमिमा हेर्न खोजिनु स्वाभाविक हो ।
यसपालिको दशैंमा उनी राज्यको औपचारिक भूमिकाबाट भने बाहिर रहेनन् । फूलपातीका अवसरमा हुने राज्यका औपचारिक कार्यक्रममा प्रधानमन्त्रीका रूपमा उनको सहभागिता भयो । अर्थात् व्यक्तिगत रूपमा दशैंको टीका नलगाए पनि प्रधानमन्त्रीको जिम्मेवारीले मागेको सार्वजनिक भूमिका उनले निर्वाह गरे ।
यही दुई पक्षबीच उनको पहिलो प्रधानमन्त्रीीय दशैंको वास्तविक तस्वीर भेटिन्छ, त्यो के भने व्यक्तिगत संस्कारमा संयम र राज्यको जिम्मेवारीमा उपस्थिति । बालेनको दशैंलाई पुराना प्रधानमन्त्रीसँग तुलना गर्दा अर्को कुरा पनि देखिन्छ । अघिल्ला पुस्ताका प्रधानमन्त्रीहरूको राजनीतिक संस्कारमा ‘प्रधानमन्त्री’ र ‘पार्टी नेता’को परिचय धेरै ठाउँमा एकै ठाउँ मिसिन्थ्यो । चाडपर्वका अवसरमा शुभेच्छा आदानप्रदान पनि पार्टी सम्बन्ध विस्तार गर्ने अवसर बन्न सक्थ्यो । बालेनको राजनीतिक यात्रा भने परम्परागत दलको सांगठनिक संरचनाबाट सुरु भएको होइन । त्यसैले उनको प्रधानमन्त्री निवासले पनि त्यही पुरानो राजनीतिक संस्कार हुबहु बोक्नैपर्छ भन्ने छैन ।
एउटा दशैंका आधारमा बालुवाटारको नयाँ संस्कार घोषणा भइसकेको निष्कर्ष निकाल्नु हतार हुनेछ । यसपालि व्यक्तिगत शोक प्रमुख कारण थियो । आगामी वर्षहरूमा बालेन प्रधानमन्त्री रहँदा उनले दशैंलाई कसरी व्यवस्थापन गर्छन् त्यसले मात्रै उनको स्थायी शैलीबारे बताउनेछ ।
यसपालि भने उनको शुभकामनाको भाषामा पनि चाडको व्यक्तिगत आनन्दभन्दा देशको अवस्थाप्रतिको चिन्ता बढी देखियो । विपत्तिमा परेका नागरिक, रोजगारीका लागि विदेश पुगेका नेपाली, राज्यबाट सेवा पाउनुपर्ने नागरिक र सुशासनको अपेक्षालाई उनले दशैंसँग जोडेर हेरे । यसबाट एउटा राजनीतिक संकेत भने निकाल्न सकिन्छ कि प्रधानमन्त्रीका लागि दशैं केवल आफ्नो परिवारको चाड होइन, उनले नेतृत्व गरेको देशको अवस्थालाई सम्झने समय पनि हो ।
नेपालमा दशैंको अर्थ नै सामूहिकता हो । वर्षभरि छुट्टिएका परिवार एउटै घरमा जम्मा हुन्छन् । विदेश गएको मानिस घर फर्कन्छ । टाढिएका आफन्त नजिकिन्छन् । मान्यजनको हातबाट टीका थापेर आशीर्वाद लिइन्छ । यही संस्कारलाई राज्यको तहमा लैजाने हो भने प्रधानमन्त्रीको दशैं पनि नागरिकसँग जोडिने अवसर बन्न सक्छ । नागरिकसँग जोडिन प्रधानमन्त्रीको निवासमा मानिसको भीड लाग्नैपर्छ भन्ने छैन ।
सायद यहीँबाट बालेनको पहिलो दशैंलाई फरक ढंगले पढ्न सकिन्छ । बालुवाटारको द्वारमा कति मानिस आए भन्नेभन्दा प्रधानमन्त्रीले दशैंलाई कुन अर्थमा लिए भन्ने प्रश्न यसपालि महत्वपूर्ण बन्यो ।
उनको निधारमा टीका थिएन तर प्रधानमन्त्रीका रूपमा उनी राज्यका औपचारिक कार्यक्रममा देखिए । निजी शोक थियो । त्यससँगै देशको विपत्तिको पीडा पनि थियो र प्रधानमन्त्रीको शुभकामनामा नागरिकको अपेक्षा तथा शासन सुधारको कुरा थियो ।
दशैं सकिएको छ । अब बालुवाटार फेरि नियमित शासनको केन्द्रमा फर्किएको छ । चाडका दिन देखिएको सादगीलाई शासन सञ्चालनको व्यवहारमा पनि निरन्तरता दिन सकिन्छ कि सकिँदैन, त्योचाहिँ बालेनको वास्तविक परीक्षा हुनेछ किनकि प्रधानमन्त्रीको दशैं कस्तो थियो भन्ने कुरा अब इतिहासको एउटा सानो प्रसंग मात्र बन्न सक्छ । प्रधानमन्त्रीको घरमा देखिएको सादगी राज्य सञ्चालनको संस्कार बन्न सक्यो भने त्यसको अर्थ दशैं सकिएपछि पनि बाँकी रहन्छ ।
प्र.म.निवासमा दशैं कस्तो रह्यो ?
Facebook Comments Box
