कुस्ती : खेल मात्र होइन, बुद्धि र धैर्यको परीक्षा

Nayabimarsha (Weekly Newspaper from Nepal)

हरि शरण जमकटेल

कुस्तीलाई टाढाबाट हेर्दा दुई जना बलिया मानिस एक–अर्कालाई पछार्न खोजिरहेको दृश्य देखिन्छ । त्यति मात्रै बुझियो भने कुस्तीको वास्तविकता छुट्छ । एउटा पहलवान्ले अर्कोको शरीरभन्दा पहिले उसको मन पढ्नुपर्छ । प्रतिद्वन्द्वीले कुन क्षणमा वजन सार्छ, कुन खुट्टा अगाडि ल्याउँछ, हात कहाँ पु¥याउँछ र आफ्नो सन्तुलन कहिले कमजोर हुन्छ यी साना संकेत समात्न नसक्ने हो भने ठूलो शरीर र धेरै बल पनि काम लाग्दैन । त्यसैले कुस्तीको मैदानमा शरीरले जति काम गर्छ, दिमागले पनि त्यति नै काम गर्छ ।
आज संसारका विभिन्न देशमा म्याट बिछ्याएर खेलिने आधुनिक कुस्तीको जरा भने निकै पुरानो मानिन्छ । मानिसले आफ्नो शारीरिक सामथ्र्य परीक्षण गर्ने अभ्यास सभ्यताको प्रारम्भिक चरणदेखि नै गर्दै आएको देखिन्छ । प्राचीन ग्रीसमा कुस्तीले व्यवस्थित प्रतिस्पर्धाको रूप पायो र ओलम्पिक परम्परासँग जोडियो । पछि आधुनिक खेल प्रणाली विकास हुँदै जाँदा यसको नियम, तौल समूह, पोशाक, निर्णायक प्रणाली र प्रशिक्षण पद्धति निश्चित हुँदै गए । अहिले कुस्ती विश्वका धेरै देशमा संघीय संरचनामार्फत सञ्चालन हुने प्रतिस्पर्धात्मक खेल बनेको छ ।
नेपालको कुस्तीको कथा ओलम्पिकको इतिहास पढेर मात्र बुझिँदैन । यसको एउटा महत्वपूर्ण अध्याय गाउँको माटोमा भेटिन्छ । तराई–मधेशका गाउँमा कुनै समय अखडा केवल खेल्ने ठाउँ थिएनन् । ती त युवा जम्मा हुने ठाउँ थिए । बिहानको अभ्यास, शरीरमा तेल दल्ने चलन, गुरुको निर्देशन, माटोमा पल्टिएर उठ्ने अभ्यास र दाउ सिक्ने क्रमले एउटा छुट्टै जीवनशैली बनाएको थियो । गाउँको मेलामा दंगल लाग्दा टाढाटाढाबाट मानिस जम्मा हुन्थे । नाम चलेका पहलवान् आउँदा उनीहरूलाई हेर्नु आफैंमा कार्यक्रम हुन्थ्यो । जित्ने खेलाडीले पुरस्कार पाउनु एउटा कुरा थियो, तर उसको प्रतिष्ठा गाउँभन्दा बाहिरसम्म पुग्नु अर्को ठूलो उपलब्धि हुन्थ्यो ।
यही परम्पराले नेपाली कुस्तीलाई अरू खेलभन्दा अलि फरक बनाएको हो । क्रिकेट वा फुटबलजस्तो खेलका लागि निश्चित मैदानको आवश्यकता हुन्छ । कुस्तीको पुरानो रूपलाई त्यति धेरै पूर्वाधार चाहिँदैनथ्यो । राम्रोसँग तयार पारिएको माटो, केही अभ्यास सामग्री र गुरुको ज्ञान भए अखडा चल्न सक्थ्यो । यसले गर्दा आर्थिक रूपमा कमजोर समुदायका युवाले पनि यसमा आफ्नो शक्ति परीक्षण गर्ने अवसर पाउँथे ।
समयसँगै अखडाको स्वरूप बदलियो । शहर विस्तार भए, पुराना खेलमैदान हराए, युवाको रोजाइ फेरिए र रोजगारी तथा विदेश जाने क्रम बढे । कुनै समय गाउँको गौरव बनेको पहलवानी क्रमशः सीमित हुँदै गयो । कुस्ती समाप्त भएको होइन, तर त्यसलाई जीवनसँग जोडेर अघि बढाउने पुरानो वातावरण कमजोर भएको हो ।
आधुनिक कुस्ती भने पुरानो दंगलभन्दा फरक नियममा आधारित हुन्छ । खेलाडी आफ्नो तौलअनुसार समूहमा विभाजित हुन्छ । त्यसपछि निश्चित समयभित्र विपक्षीलाई नियन्त्रणमा लिन, म्याटमा पछार्न, उसको स्थिति कमजोर बनाउन वा निर्धारित दाउबाट अंक हासिल गर्नुपर्छ । सबैभन्दा निर्णायक क्षण त्यतिबेला आउँछ, जब एउटा खेलाडीले अर्कोको काँध म्याटतर्फ नियन्त्रणमा राख्न सफल हुन्छ । त्यस अवस्थामा खेल तुरुन्तै समाप्त हुन सक्छ ।
यसको अर्थ कुस्तीमा लगातार बल प्रयोग गर्नुपर्छ भन्ने होइन । बरु अनावश्यक बल खर्च गर्ने खेलाडी आफैं थाक्न सक्छ । अनुभवी पहलवान्ले ऊर्जा बचाउँछ, विपक्षीलाई गल्ती गर्न बाध्य बनाउँछ र सही समय कुर्छ । त्यसैले कुस्तीमा ‘बल’ र ‘चाल’ बीचको सन्तुलन महत्वपूर्ण हुन्छ ।
कुस्तीका विभिन्न विधिमध्ये फ्रिस्टाइल र ग्रेको–रोमन अन्तर्राष्ट्रिय रूपमा स्थापित छन् । महिला कुस्तीले पनि अहिले विश्व खेलकुदमा बलियो स्थान बनाइसकेको छ । यी विधिमा नियम फरक छन्, तर आधारभूत लक्ष्य एउटै छ, त्यो के भने विपक्षीलाई प्राविधिक रूपमा नियन्त्रणमा लिएर आफूलाई उत्कृष्ट सावित गर्नु ।
यही कारण कुस्तीको प्रशिक्षण निकै कठिन हुन्छ । खेलाडीले केवल हातको शक्ति बढाएर पुग्दैन । खुट्टाको शक्ति, कम्मरको नियन्त्रण, शरीरको लचकता, सन्तुलन, प्रतिक्रिया गति र सहनशक्ति सबै एकै पटक विकास गर्नुपर्छ । एउटा दाउ सफल हुन शरीरको धेरै भाग एउटै क्षणमा समन्वयमा चल्नुपर्छ ।
पुरानो अखडामा गुरुको अनुभव मुख्य शिक्षक हुन्थ्यो । अहिले त्यसमा खेल विज्ञान थपिएको छ । अभ्याससँगै शक्ति परीक्षण, दौड, लचकता, तौल व्यवस्थापन, पोषण, आराम, चोटबाट बच्ने उपाय र मानसिक तयारी पनि प्रशिक्षणको हिस्सा बनेका छन् । प्रतियोगिताको केही दिनअघि तौल घटाउने वा बढाउने विषयसमेत वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ । यसैले अन्तर्राष्ट्रिय कुस्ती अब केवल पहलवानको व्यक्तिगत अभ्यासबाट चल्ने खेल रहेनÙ यसमा प्रशिक्षक, फिजियो, चिकित्सक, पोषण विज्ञ र व्यवस्थापकको भूमिका पनि महत्वपूर्ण हुन्छ ।
नेपालको समस्या यहीँबाट शुरु हुन्छ । हामीसँग कुस्तीको सांस्कृतिक आधार छ, प्रतिभा खोज्न सकिने भूगोल छ र खेल सिक्न इच्छुक युवासमेत छन् तर ती सबैलाई एउटै प्रणालीमा जोड्ने संरचना अझै पर्याप्त बलियो छैन । कतिपय ठाउँमा माटोको अखडा छ, तर नियमित प्रशिक्षक छैनन् । कतै प्रशिक्षक छन्, तर राम्रो म्याट छैन । खेलाडी छन्, तर वर्षभरि प्रशिक्षण र प्रतियोगिताको अवसर छैन । प्रतियोगिता हुन्छ, तर त्यसपछि खेलाडीको निरन्तर विकास कसरी गर्ने भन्ने योजना कमजोर हुन्छ ।
यही कारण नेपालले कुस्तीमा सम्भावना भएर पनि त्यसलाई निरन्तर अन्तर्राष्ट्रिय उपलब्धिमा बदल्न कठिनाइ भोगिरहेको छ । अर्को समस्या कुस्तीप्रतिको सामाजिक दृष्टिकोण पनि हो । धेरै अभिभावक अझै यसलाई भविष्य निर्माण गर्ने पेशागत खेलभन्दा शारीरिक भिडन्तका रूपमा हेर्न सक्छन् । पढाइसँगै खेललाई व्यवस्थित ढंगले अघि बढाउन सकिन्छ भन्ने विश्वास पर्याप्त रूपमा स्थापित भएको छैन जबकि आज संसारका धेरै देशमा कुस्ती खेलाडीका लागि छात्रवृत्ति, प्रशिक्षण, रोजगारी र अन्तर्राष्ट्रिय अवसरको बाटो बन्न सक्छ ।
नेपालमा भने कुस्तीलाई पुनर्जीवित गर्न सबैभन्दा पहिले स्थानीय अखडा र आधुनिक प्रशिक्षण केन्द्रबीच सम्बन्ध बनाउनुपर्छ । पुरानो ज्ञान फालेर नयाँ प्रणाली ल्याउनु पनि ठीक होइन, पुरानै तरिकामा अड्किएर बस्नु पनि पर्याप्त हुँदैन । गाउँका अनुभवी गुरुहरूले जानेका दाउ, अनुशासन र अभ्यास संस्कारलाई आधुनिक खेल विज्ञानसँग जोड्न सकियो भने एउटा बलियो नेपाली मोडल बन्न सक्छ ।
तराई–मधेश यसका लागि स्वाभाविक आधार बन्न सक्छ । त्यहाँको परम्परागत कुस्ती संस्कृतिलाई विद्यालयस्तरको खेलसँग जोड्न सकिन्छ । स्थानीय तहले प्रशिक्षण स्थल बनाउन सक्छन् । प्रदेशले उत्कृष्ट खेलाडीलाई आवासीय प्रशिक्षण दिन सक्छ । राष्ट्रिय स्तरमा नियमित प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रशिक्षणको अवसर दिन सकिन्छ । भारतजस्तो कुस्तीमा लामो परम्परा भएको छिमेकी देशसँग नियमित अभ्यास र प्राविधिक आदानप्रदान गर्न सके नेपाली खेलाडीले धेरै सिक्न सक्छन् ।
महिला कुस्तीलाई पनि अब छुट्टै प्राथमिकता दिनुपर्ने समय आएको छ । खेलकुदमा महिलाको सहभागिता बढिरहेको अवस्थामा कुस्ती पनि त्यसबाट बाहिर रहनुपर्ने कारण छैन । सुरक्षित प्रशिक्षण वातावरण, महिला प्रशिक्षक वा सहयोगी जनशक्ति, परिवारको समर्थन र नियमित प्रतियोगिता उपलब्ध गराउन सके नयाँ पुस्ताका महिला पहलवान उत्पादन हुन सक्छन् ।
कुस्तीको महत्व पदकमा मात्र छैन । यसले शरीरलाई अनुशासित बनाउँछ, हारपछि पुनः उठ्न सिकाउँछ र प्रतिस्पर्धाको दबाब सहन सक्ने मानसिकता विकास गर्छ । प्रतिद्वन्द्वीलाई हराउनु यसको एउटा पक्ष होÙ आफ्नै डर, थकान र कमजोरीलाई नियन्त्रण गर्नु अर्को पक्ष हो ।
सायद यही कारण कुस्तीलाई बुझ्ने सबैभन्दा राम्रो तरिका ‘पछार्ने खेल’ भनेर होइन, आफूलाई नियन्त्रण गरेर अर्कोमाथि नियन्त्रण जमाउने खेल भनेर हो । नेपालमा अहिले कुस्तीलाई नयाँ आँखाले हेर्नुपर्ने बेला आएको छ । पुराना अखडाका कथा सम्झेर मात्र खेल जोगिँदैन । ती अखडाबाट निस्कने प्रतिभालाई आधुनिक म्याटसम्म पु¥याउनुपर्छ । माटोमा सिकेको दाउलाई अन्तर्राष्ट्रिय नियममा रूपान्तरण गर्नुपर्छ । स्थानीय गुरुको अनुभवलाई वैज्ञानिक प्रशिक्षकको ज्ञानसँग जोड्नुपर्छ ।
कहिलेकाहीँ कुनै खेलको भविष्य नयाँ रंगशाला बनाएर होइन, पुरानो खेलप्रतिको दृष्टिकोण बदल्दै शुरु हुन्छ । नेपाली कुस्तीको माटो अझै सुकिसकेको छैन । त्यही माटोमा नयाँ पुस्ताका पहलवान जन्मिन सक्छन् तर अब उनीहरूलाई अखडामा मात्र होइन, संसारको म्याटमा उभ्याउने जिम्मेवारी खेल संरचनाको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *