कौशल कुमार भट्टराई
हरेक वर्ष अक्टोबर ९ मा विश्व हुलाक दिवस मनाइन्छ । गत हप्ता यो दिवस विश्वव्यापी रुपमा मनाइयो । अघिल्लो हप्ता नै यो विषयमा लेख लेख्ने सोच बने पनि पछिल्लो समयमा हुलाक दिवसलाई के कसरी मनाइने रहेछ भन्ने हेरेर मात्र लेख्ने सोच फेरि आएकाले यो हप्ता लेख लेख्ने जमर्को गरेँ । यो दिवस केवल चिठीपत्र ओसारपसार गर्ने पुरानो सेवाको सम्झना गर्ने अवसर मात्र होइन, मानिस, समाज र राष्ट्रलाई आपसमा जोड्न हुलाकले निर्वाह गरेको ऐतिहासिक भूमिकाको मूल्याङ्कन गर्ने दिन पनि हो । आज सूचना प्रविधिले संसारलाई केही सेकेन्डमै जोड्न सक्ने अवस्थामा पु¥याएको छ । मोबाइल, इमेल र सामाजिक सञ्जालको विस्तारसँगै कुनै समय आत्मीयता, समाचार, व्यापार र सरकारी सम्पर्कको प्रमुख माध्यम बनेको हुलाकको प्रयोग घट्दो क्रममा छ । हुलाकको इतिहास हेर्दा यो केवल पत्र पु¥याउने संयन्त्र थिएन, राज्य सञ्चालन, सामाजिक सम्बन्ध, व्यापारिक कारोबार र सभ्यताको विकाससँगै अघि बढेको एउटा महत्वपूर्ण संस्था थियो ।
मानिसले टाढा रहेका आफन्त, सहयोगी वा शासकसम्म आफ्नो सन्देश पु¥याउन खोजेको समयदेखि नै हुलाकको अवधारणाको विकास भएको मान्न सकिन्छ । लिखित भाषा र कागजको प्रयोग व्यापक हुनुअघि पनि मानिसले दूत, घोडचढी, पैदल सन्देशवाहक तथा अन्य माध्यमबाट सूचना आदानप्रदान गर्थे । राज्यको क्षेत्र विस्तार हुँदै जाँदा शासकीय आदेश, सैनिक निर्देशन, करसम्बन्धी सूचना र कूटनीतिक सन्देश निश्चित समयभित्र गन्तव्यमा पु¥याउनुपर्ने आवश्यकता बढ्यो । यही आवश्यकताले सन्देशवाहकलाई व्यवस्थित गर्ने र निश्चित मार्गमा सन्देश ओसारपसार गर्ने प्रणालीको विकास गरायो ।
प्राचीन इजिप्ट, फारस, चीन, रोमलगायतका सभ्यतामा विभिन्न स्वरूपका सन्देशवाहक तथा राजकीय सञ्चार प्रणाली सञ्चालनमा थिए । विशेषतः फारसी साम्राज्यमा लामो दूरीसम्म शासकीय सन्देश पु¥याउन घोडचढी सन्देशवाहक र बाटोमा विश्राम तथा घोडा परिवर्तन गर्न मिल्ने केन्द्रको व्यवस्था गरिएको थियो । यस्तो प्रणालीले सञ्चारलाई व्यक्तिको व्यक्तिगत प्रयासबाट राज्यको संगठित जिम्मेवारीतर्फ अघि बढायो । ती सबै प्रणाली आजको अर्थमा सर्वसाधारणका लागि खुला हुलाक सेवा थिएनन्, तिनले आधुनिक हुलाक व्यवस्थाको आधार तयार पार्न महत्त्वपूर्ण भूमिका खेले ।
समयक्रममा व्यापार, नगरको विकास, राज्यहरूबीचको सम्बन्ध र जनसंख्याको विस्तारले नियमित पत्राचारको आवश्यकता बढायो । युरोपमा मध्ययुग तथा त्यसपछिका शताब्दीमा व्यापारी, धार्मिक संस्था, विश्वविद्यालय र राज्यहरूले आआफ्ना सञ्चार सञ्जाल विस्तार गरे । मुद्रण प्रविधिको विकास, कागजको सहज उपलब्धता र साक्षरताको विस्तारले लिखित सञ्चारलाई थप प्रचलित बनायो । सत्रौँ र अठारौँ शताब्दीसम्म आइपुग्दा विभिन्न देशमा सार्वजनिक प्रयोगका लागि हुलाक सेवा क्रमशः व्यवस्थित हुँदै गयो । त्यसपछि पत्र पठाउने शुल्क, दूरीअनुसारको दर र वितरण प्रक्रियालाई एकरूप बनाउने प्रयासले आधुनिक हुलाक प्रणालीलाई थप विश्वसनीय बनायो ।
आधुनिक हुलाक इतिहासमा सन् १८४० मा बेलायतमा प्रचलनमा आएको …पेनी ब्ल्याकÚ विशेष महत्वको टिकट हो । यो संसारकै पहिलो व्यापक रूपमा प्रयोगमा आएको टाँसिने हुलाक टिकट मानिन्छ । यसले पत्र पठाउँदा लाग्ने शुल्क अग्रिम तिरेको प्रमाण दिने काम ग¥यो । यसअघि धेरै ठाउँमा पत्र पाउने व्यक्तिले शुल्क तिर्नुपर्ने वा दूरी र पृष्ठअनुसार फरक शुल्क लाग्ने व्यवस्था थियो । टिकटको प्रयोगले शुल्क सङ्कलनलाई सरल बनाउनुका साथै पत्राचारलाई व्यवस्थित गर्न सहयोग पु¥यायो । पछि अन्य देशले पनि हुलाक टिकट जारी गर्न थाले । टिकटमा देशको पहिचान, राष्ट्रिय व्यक्तित्व, प्राकृतिक सम्पदा, ऐतिहासिक घटना र सांस्कृतिक विशेषता समेटिन थालेपछि ती सञ्चारको साधनसँगै इतिहास र राष्ट्रिय परिचयका अभिलेखसमेत बने ।
अन्तर्राष्ट्रिय हुलाकलाई व्यवस्थित बनाउने अर्को ठूलो उपलब्धि सन् १८७४ मा स्विट्जरल्यान्डको बर्नमा प्राप्त भयो । अक्टोबर ९ मा २२ देशले बर्न सन्धिमा हस्ताक्षर गरी जनरल पोस्टल युनियन स्थापना गरे, जसको नाम सन् १८७८ मा युनिभर्सल पोस्टल युनियन -युपीयू) राखियो । यसले विभिन्न देशका हुलाकबीच पत्र आदानप्रदानका नियमलाई व्यवस्थित गर्न र अन्तर्राष्ट्रिय पत्राचारलाई सहज बनाउन सहयोग ग¥यो । सन् १९६९ मा जापानको टोकियोमा सम्पन्न युपीयूको सम्मेलनले अक्टोबर ९ लाई विश्व हुलाक दिवसका रूपमा मनाउने निर्णय गरेपछि सन् १९७० देखि यो दिवस विश्वव्यापी रूपमा मनाउन थालियो ।
नेपालमा हुलाकको विकास पनि राज्य सञ्चालन र सामाजिक सम्बन्धको आवश्यकतासँग जोडिएको छ । औपचारिक सरकारी हुलाक सेवाको इतिहासमा वि.सं.१९३५ अर्थात् सन् १८७८ महत्वपूर्ण वर्ष हो । त्यतिबेला राणा प्रधानमन्त्री रणोद्दीप सिंहको शासनकालमा काठमाडौंमा नेपाल हुलाक घर स्थापना गरी सर्वसाधारणका चिठीपत्र ओसारपसार गर्ने औपचारिक व्यवस्था शुरु गरिएको थियो । त्यसैले नेपालको हुलाक सेवा वि.सं.१९७५ मा शुरु भएको भन्ने प्रचलित उल्लेखलाई सच्याउन आवश्यक छ । उपलब्ध सरकारी विवरणले यसको औपचारिक शुरुआत वि.सं.१९३५ मा भएको देखाउँछ । स्थापना भएको तीन वर्षभित्रै हुलाक कार्यालयको संख्या ४३ पुगेको विवरणले त्यस समयमै यसको आवश्यकता र विस्तारको महत्व स्पष्ट पार्छ ।
शुरुका वर्षमा हुलाकबाट पत्र पठाउँदा नगदमा शुल्क बुझाउनुपथ्र्यो । पछि वि.सं.१९३८ मा एक, दुई र तीन आना मूल्यका हुलाक टिकट प्रचलनमा ल्याइएपछि शुल्क तिर्ने प्रक्रिया थप व्यवस्थित भयो । वि.सं.१९४४ देखि दुई पैसाका हुलाक कार्ड प्रयोगमा आएको सरकारी विवरण छ । यसरी टिकट र हुलाक कार्डको शुरुआतले नेपालको पत्राचार प्रणालीलाई नयाँ चरणमा प्रवेश गरायो। हुलाक टिकट टाँस्नु केवल शुल्क बुझाउने कार्य थिएनÙ त्यो पत्र प्रेषकबाट गन्तव्यसम्म पुग्ने यात्राको औपचारिक शुरुआत पनि थियो ।
त्यस समयको नेपाली समाजमा हुलाकको महत्व अहिलेको पुस्ताले सहजै कल्पना गर्न सक्दैन । यातायातका साधन सीमित थिए, टेलिफोन सर्वसुलभ थिएन र टाढाको गाउँमा खबर पु¥याउने भरपर्दो माध्यम पनि कमै थिए । घरबाट टाढा व्यापार, जागिर वा अध्ययनमा रहेका व्यक्तिले परिवारलाई आफ्नो अवस्थाबारे जानकारी दिन पत्र लेख्थे । विवाह, जन्म, मृत्यु, बिरामी, पारिवारिक समस्या र आर्थिक सहयोगका कुरा पत्रमार्फत नै आदानप्रदान हुन्थे । सरकारी कार्यालयका आदेश, सूचना, नियुक्तिपत्र र प्रशासनिक कागजातसमेत हुलाकबाट ओसारिन्थे । त्यसैले हुलाक कार्यालय केवल सरकारी निकाय थिएनÙ त्यो मानिसको व्यक्तिगत जीवन र राज्यको प्रशासनलाई जोड्ने साझा सम्पर्कस्थल थियो ।
पत्र लेख्ने र पाउने प्रक्रियासँग खामको पनि आफ्नै महत्व जोडिएको थियो । कागजमा लेखिएको सन्देशलाई खामभित्र राखेर ठेगाना लेखिन्थ्यो र आवश्यक टिकट टाँसेर हुलाकमा बुझाइन्थ्यो । प्रेषकको नाम र ठेगाना, प्राप्तकर्ताको परिचय तथा टिकटमा लगाइने छापले पत्रको यात्रा व्यवस्थित गर्न सहयोग गर्थे । हातले लेखिएका अक्षर, खाममा लेखिएको ठेगाना र हुलाकको छापले पत्रलाई एउटा भौतिक बस्तुभन्दा बढी आत्मीयताको प्रतीक बनाउथे । कतिपयले वर्षौँसम्म पुराना पत्र सुरक्षित राख्थेÙ आज पनि यस्ता पत्रले पारिवारिक इतिहास, सामाजिक सम्बन्ध र तत्कालीन जीवनशैली बुझ्न मद्दत गर्छन् ।
नेपालमा प्रजातन्त्रको स्थापना भएपछि हुलाक सेवाको विस्तारले थप गति लियो । सरकारी विवरणअनुसार सन् १९५१ तिर देशमा १२४ वटा हुलाक कार्यालय सञ्चालनमा थिए । त्यसपछिका दशकमा जिल्ला, गाउँ र दुर्गम बस्तीहरूमा हुलाक कार्यालय तथा सेवा केन्द्र विस्तार गरिए । यसले भौगोलिक रूपमा विकट देशका नागरिकलाई राज्यसँग जोड्न सहयोग पु¥यायो । सडक नपुगेका ठाउँमा समेत हुलाक कर्मचारी र स्थानीय सञ्जालमार्फत चिठीपत्र पु¥याउने अभ्यासले सेवा विस्तारको महत्व देखाएको थियो । हुलाकको पहुँचलाई प्रशासनिक उपस्थिति र नागरिकबीचको सम्बन्धसँग जोडेर हेर्न सकिन्छ ।
नेपालमा हुलाकको इतिहास चर्चा गर्दा हुलाकी मार्गको प्रसङ्ग पनि उत्तिकै महत्वपूर्ण छ । हुलाक सेवा र हुलाकी राजमार्ग एउटै कुरा होइनन् । हुलाकी मार्गको ऐतिहासिक अवधारणा तराईका बस्तीहरूलाई जोड्ने पुराना बाटो र सन्देशवाहकको आवागमनसँग सम्बन्धित छ । पछि यही नाममा पूर्वदेखि पश्चिमसम्म तराईका बस्ती र जिल्लालाई जोड्ने सडक आयोजना अघि बढाइयो । यस मार्गको उद्देश्य हुलाक ओसारपसारमा मात्र सीमित छैनÙ यसले बस्तीहरूबीचको यातायात, कृषि उपजको बजारसम्म पहुँच, व्यापार र स्थानीय आर्थिक गतिविधिलाई पनि सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यस अर्थमा हुलाकी मार्ग नेपालको पुरानो सञ्चार इतिहाससँग जोडिएको नाम भए पनि यसको आधुनिक भूमिका यातायात र क्षेत्रीय विकाससँग बढी सम्बन्धित छ ।
हुलाक किन पछि प¥यो ?
हुलाक सेवाको उपयोगिता घट्नुको प्रमुख कारण सञ्चार प्रविधिमा आएको तीव्र परिवर्तन हो । पहिले एउटा पत्र गन्तव्यमा पुग्न दिनौँ वा हप्तौँ लाग्थ्यो । अहिले मोबाइल फोन, इमेल र विभिन्न सन्देश आदानप्रदान गर्ने माध्यमबाट केही क्षणमै सूचना पठाउन सकिन्छ । भिडियो कलले टाढा रहेका परिवारलाई प्रत्यक्ष कुराकानी गर्ने सुविधा दिएको छ । सरकारी सूचना, बैंकिङ कारोबार, शैक्षिक विवरण र व्यावसायिक कागजातसमेत डिजिटल माध्यमबाट आदानप्रदान हुन थालेपछि सामान्य चिठीपत्रको आवश्यकता स्वाभाविक रूपमा घटेको छ ।
यस परिवर्तनका पछाडि मानिसको जीवनशैलीमा आएको बदलाव पनि उत्तिकै जिम्मेवार छ । तीव्र गतिमा चलिरहेको समाजमा मानिसले छिटो, सहज र कम खर्चिलो सेवा खोज्छ । हुलाकको परम्परागत प्रक्रियामा पत्र लेख्ने, खाम तयार गर्ने, टिकट टाँस्ने, कार्यालयमा बुझाउने र वितरणको प्रतीक्षा गर्नुपर्ने हुन्छ । यसको तुलनामा डिजिटल सन्देश पठाउन समय र श्रम कम लाग्छ । कतिपय स्थानमा हुलाक सेवाको ढिलाइ, कमजोर व्यवस्थापन, प्रविधिको अपर्याप्त प्रयोग र सेवाप्रतिको जनविश्वासमा आएको कमीले पनि यसको आकर्षण घटाएको हुन सक्छ ।
पत्रको प्रयोग घट्दैमा हुलाकको आवश्यकता समाप्त भएको निष्कर्ष निकाल्नु उचित हुँदैन । आज पनि सरकारी कागजात, कानूनी सूचना, प्रमाणित पत्राचार, पार्सल र विभिन्न सामग्रीको सुरक्षित ढुवानीमा हुलाकको भूमिका रहन सक्छ । विशेषगरी निजी कुरियर सेवा सहज रूपमा नपुगेका दुर्गम क्षेत्रका नागरिकका लागि सार्वजनिक हुलाक सेवा महत्वपूर्ण छ । अनलाइन व्यापारको विस्तारसँगै सामान घरसम्म पु¥याउने सेवामा हुलाकले नयाँ सम्भावना पनि प्राप्त गरेको छ । विश्वका विभिन्न देशमा हुलाक सञ्जाललाई डिजिटल सेवा, पार्सल वितरण र वित्तीय पहुँचसँग जोड्ने प्रयास भइरहेको छ ।
नेपालमा पनि हुलाकलाई केवल पुरानो शैलीको चिठीपत्र वितरण गर्ने संस्थाका रूपमा सीमित राख्नु हुँदैन । यसको देशव्यापी सञ्जाललाई आधुनिक प्रविधिसँग जोड्ने, सेवा प्रवाहलाई छिटो र भरपर्दो बनाउने, पार्सल तथा कुरियर सेवालाई प्रतिस्पर्धी बनाउने र सरकारी निकायसँगको समन्वय बढाउने काम आवश्यक छ । हुलाक कार्यालयको भौतिक उपस्थितिलाई उपयोग गरेर नागरिकलाई डिजिटल सेवा, सूचना तथा अन्य आधारभूत सुविधासँग जोड्न सकिन्छ । त्यसका लागि दक्ष जनशक्ति, उपयुक्त लगानी र स्पष्ट कार्ययोजना चाहिन्छ ।
विश्व हुलाक दिवस मनाउनुको सार पनि यही हो कि विगतको योगदान सम्झनुका साथै भविष्यमा यसको भूमिका कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेबारे सोच्नु । हुलाक टिकटमा छापिएका राष्ट्रिय व्यक्तित्व र सम्पदादेखि खामभित्र सुरक्षित राखिएका आत्मीय सन्देशसम्मले एउटा समयको सामाजिक इतिहास बोकेका छन् । आज ती बस्तु सङ्कलन गर्नेहरूका लागि ऐतिहासिक धरोहर र अनुसन्धानकर्ताका लागि महत्त्वपूर्ण स्रोतसमेत बनेका छन् ।
प्रविधिले मानिसलाई जोड्ने माध्यम बदलिदिएको छ, तर मानिसलाई जोडिराख्नुपर्ने आवश्यकता बदलिएको छैन । हुलाकको पुरानो स्वरूप फर्काउन सम्भव नहोला, तर त्यसले बोकेको सार्वजनिक सेवाको भावना र सबै नागरिकसम्म पुग्ने जिम्मेवारीलाई नयाँ स्वरूपमा जीवन्त राख्न सकिन्छ । समयसँगै बदलिन सक्ने हुलाकले मात्र आफ्नो ऐतिहासिक विरासतलाई भविष्यको उपयोगितासँग जोड्न सक्छ । विश्व हुलाक दिवसको वास्तविक सन्देश पनि यही हो कि सञ्चारका साधन फेरिएलान्, तर सम्पर्क, विश्वास र सेवाको महत्त्व सधैँ रहिरहन्छ ।
