काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सत्तामा पुगेपछि उसको राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश गरेको छ । सडकमा प्रश्न उठाउने र पुराना दललाई कठघरामा उभ्याउने अवस्थामा रहेको पार्टीले अहिले आफैंले उठाएका प्रश्नको उत्तर दिनुपर्ने परिस्थिति भोग्न थालेको छ । सांसद खगेन्द्र सुनारसँग जोडिएको महिला हिंसासम्बन्धी विवाद यही बदलिएको परिस्थितिको एउटा उदाहरण बनेको छ । आरोपको सत्यता अनुसन्धानबाट टुंगिन बाँकी रहे पनि यसले रास्वपाको राजनीतिक व्यवहारलाई भने बहसमा ल्याएको छ ।
सुनारसँग जोडिएको विषयमा सबैभन्दा पहिले तथ्य छुट्याउन आवश्यक छ । सामाजिक सञ्जालमा आएको सामग्रीकै आधारमा कसैलाई दोषी ठहर गर्न मिल्दैन । आवाज कसको हो, घटना के हो र आरोपको आधार कति विश्वसनीय छ भन्ने कुरा अनुसन्धानले स्पष्ट गर्नुपर्छ । सार्वजनिक पदमा रहेको व्यक्तिसँग सम्बन्धित गम्भीर आरोप उठेपछि त्यसलाई केवल व्यक्तिगत विवाद भनेर पन्छाउन पनि मिल्दैन । यही ठाउँमा राजनीतिक दलको परिपक्वता देखिन्छ कि आरोपितलाई पूर्वदोषी नबनाउने र सम्भावित पीडितको आवाजलाई पनि बेवास्ता नगर्ने सन्तुलनमा ।
अहिले सरकारको व्यवहारलाई लिएर उठेको प्रश्न पनि यही हो । सत्तारुढ दलका सांसदसँग जोडिएको विषय भएकाले सरकारमाथि बोल्नुपर्ने दबाब स्वाभाविक छ । सरकार बोल्नु भनेको सुनारलाई दोषी घोषणा गर्नु होइन । बरु कानूनले आफ्नो बाटो लिनुपर्छ, राजनीतिक पहुँचले अनुसन्धान प्रभावित गर्नु हुँदैन र महिलामाथि हुने हिंसाका विषयमा राज्य गम्भीर छ भन्ने सन्देश दिनु हो । सरकारको मौनताले भने उल्टै …आफ्नो मान्छे भएकाले विषय कमजोर बनाइँदै छ कि ?Ú भन्ने शंका जन्माउने ठाउँ दिएको छ ।
यस घटनाभन्दा पनि रास्वपाका लागि दीर्घकालीन चिन्ताको विषय नेतृत्वको बदलिँदो उपस्थिति हो । केही समयअघिसम्म पार्टीको राजनीतिक परिचय नै रवि लामिछानेको सक्रियता र अभिव्यक्तिसँग जोडिन्थ्यो । अहिले उनी सार्वजनिक राजनीतिक बहसमा पहिलेको जस्तो लगातार देखिँदैनन् । यसको कारण एउटै हुनुपर्छ भन्ने छैन । व्यक्तिगत कानूनी चुनौती, पार्टी सत्तामा पुगेपछि बदलिएको जिम्मेवारी र सरकारभित्र नयाँ नेतृत्वको प्रभाव आदि सबैले उनको भूमिकालाई फरक बनाएको हुन सक्छ ।
राजनीतिक दलमा नेताको मौनता पनि कहिलेकाहीँ आफैंमा एउटा सन्देश बन्छ । विशेषगरी रास्वपाजस्तो व्यक्तिको लोकप्रियताबाट तीव्र रूपमा विस्तार भएको पार्टीमा सभापतिको सार्वजनिक उपस्थिति घट्दा कार्यकर्ता र समर्थकमाझ स्वाभाविक प्रश्न उठ्छ कि पार्टीको राजनीतिक दिशा कसले तय गरिरहेको छ ? सरकारको नेतृत्व र पार्टी नेतृत्वबीचको सम्बन्ध कस्तो अवस्थामा छ ? अनि पार्टीले भोलिको राजनीतिक बाटो कसरी तय गर्दैछ ?
सुनार प्रकरणको सत्य अनुसन्धानले निकाल्नेछ तर त्यसले रास्वपालाई दिएको राजनीतिक सन्देश भने अहिले नै बुझ्न सकिन्छ । सत्ता प्राप्त गर्नु परिवर्तनको अन्तिम उपलब्धि होइनÙ सत्ता पाएपछि आफ्नै मानिसमाथि उठेका प्रश्नलाई कसरी सम्हालिन्छ भन्ने नै नयाँ राजनीतिको वास्तविक परीक्षा हो । रास्वपाले यही परीक्षामा आफू पुरानै राजनीतिक संस्कृतिको अर्को संस्करण होइन भन्ने प्रमाणित गर्नुपर्ने भएको छ ।
रास्वपामा देखिन थाल्यो समस्या
Facebook Comments Box
