कौशल कुमार भट्टराई
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भइसकेपछि पार्टी स्वाभाविक रूपमा नयाँ चरणमा प्रवेश गरेको छ । महाधिवेशन केवल नेतृत्व छान्ने प्रक्रिया होइन, पुरानो कार्यकालको समीक्षा गर्दै आगामी यात्राको दिशा तय गर्ने राजनीतिक अवसर पनि हो । त्यस अर्थमा कांग्रेसभित्र अहिले देखिएको अवस्था जित–हारको हिसाब मिलाउनेभन्दा पनि महाधिवेशनपछि पार्टीलाई कसरी एउटै धारमा ल्याउने भन्ने प्रश्नसँग जोडिएको छ । एकातिर थापा नेतृत्वको कार्यसमिति अघि बढेको छ भने अर्कोतिर शेरबहादुर देउवा पक्ष भनिएको समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा छुट्टै कार्यतालिका बनाएर १५औँ महाधिवेशनकै नाममा अर्को प्रक्रिया अघि बढाउने प्रयास गरिरहेको छ । पार्टीका नेता–कार्यकर्ताको ठूलो पंक्ति नयाँ नेतृत्वतर्फ केन्द्रित हुँदै गएको अवस्थामा समानान्तर अभ्यासलाई लामो समयसम्म तान्नु कांग्रेसका लागि राजनीतिक रूपमा लाभदायक देखिँदैन । पूर्णबहादुर खड्काले अदालतमा आफ्नो विषय विचाराधीन रहेको जनाउँदै आफू निकटकालाई गगन नेतृत्व स्वीकारेर महाधिवेशन प्रक्रियामा सहभागी हुन दिएको निर्देशन तथा शेखर कोइराला स्वयं तटस्थ बसे पनि उनीनिकट धेरै नेता–कार्यकर्ता मूल प्रक्रियामा सहभागी भएको अवस्थाले कांग्रेसभित्रको शक्ति सन्तुलन कुन दिशातर्फ गइरहेको छ भन्ने संकेत गरिसकेको छ । यस्तो अवस्थामा बाँकी असन्तुष्ट पक्षले पनि आफ्नो राजनीतिक सम्मान सुरक्षित राख्दै पार्टीको साझा घरभित्रै समाधान खोज्नु बढी बुद्धिमानी हुन्छ ।
कांग्रेसको इतिहास हेर्दा यस पार्टीमा विचार, व्यक्तित्व र नेतृत्वको प्रतिस्पर्धा कुनै नयाँ विषय होइन । फरक मत र आन्तरिक प्रतिस्पर्धा लोकतान्त्रिक पार्टीका स्वाभाविक विशेषता हुन् । समस्या फरक मत हुनुमा होइन, फरक मतले समानान्तर वैधानिकताको रूप लिन थालेपछि उत्पन्न हुन्छ । अहिले देउवा–शशांक पक्षले अघि बढाएको भनिएको महाधिवेशन प्रक्रियामा अपेक्षित जनसहभागिता नदेखिनु सामान्य संकेत होइन । पार्टीको वास्तविक शक्ति केन्द्रीय नेताहरूको बैठकमा भन्दा वडा, पालिका, क्षेत्र र जिल्लामा रहेका कार्यकर्ताको सहभागिताबाट मापन हुन्छ । कार्यकर्ताले उत्साह नदेखाएको प्रक्रियालाई केवल कार्यतालिका सार्वजनिक गरेर जीवन्त बनाउन कठिन हुन्छ । अझ विगतमा देउवालाई विदेशबाट फर्काएर अलग राजनीतिक अभ्यासतर्फ प्रेरित गरेका भनिएका कतिपय नेतासमेत अन्ततः गगन नेतृत्वको महाधिवेशनमा सहभागी भइसकेको परिस्थितिले अलग धार निर्माण गर्ने प्रयासको राजनीतिक आधार थप साँघुरिएको देखाउँछ । त्यसैले अब देउवा वा शशांक पक्षले …कसले कसलाई जित्योÚ भन्ने प्रश्नमा अल्झिनुभन्दा …कांग्रेसलाई कसरी जोगाउने र बलियो बनाउनेÚ भन्ने प्रश्नलाई प्राथमिकता दिनु आवश्यक छ । असन्तुष्टि छन् भने पार्टीभित्रै राख्न सकिन्छ, विधि र प्रक्रियामाथि प्रश्न छन् भने कानूनी तथा संस्थागत बाटोबाट समाधान खोज्न सकिन्छ । एउटै पार्टीका नाममा दुई राजनीतिक केन्द्र खडा गर्ने अभ्यास अन्ततः कुनै नेता विशेषको मात्र होइन, समग्र कांग्रेसको शक्तिलाई कमजोर बनाउने बाटो बन्न सक्छ ।
यसको अर्थ नयाँ नेतृत्वले आफूलाई निर्विवाद ठानेर असन्तुष्ट पक्षलाई बेवास्ता गर्नुपर्छ भन्ने पनि होइन । बरु गगनकुमार थापाका लागि अहिलेको सबैभन्दा ठूलो परीक्षा महाधिवेशन जित्नु होइन, महाधिवेशनमा आफूसँग नउभिएका मानिसलाई समेत आफ्नो नेतृत्वको कांग्रेसभित्र सम्मानपूर्वक अटाउन सक्नु हो । नेतृत्व परिवर्तनको वास्तविक अर्थ पुरानो समूहलाई विस्थापित गरेर आफ्नै समूह स्थापित गर्नु मात्र भयो भने कांग्रेसले अनुहार फेर्ला, संस्कार फेरिँदैन । देउवा, शशांक, शेखर, पूर्णबहादुरलगायत विभिन्न धारमा रहेका नेता तथा उनीहरूसँग जोडिएका कार्यकर्तालाई राजनीतिक सम्मानसहित एउटै ठाउँमा ल्याउने पहल स्वयं सभापति थापाले गर्न सक्नुपर्छ। पुरानो पुस्ताले संगठन निर्माणमा दिएको योगदानको सम्मान र नयाँ पुस्ताले खोजेको परिवर्तनको आकांक्षाबीच पुल निर्माण गर्न सकियो भने मात्रै १५औँ महाधिवेशन वास्तविक अर्थमा पुस्तान्तरणको प्रस्थानबिन्दु बन्न सक्छ । यसका लागि व्यक्तिगत कटाक्ष, प्रतिशोध, जिम्मेवारी वितरणमा पक्षपात र …हामी विजेता, उनीहरू पराजितÚ भन्ने मानसिकताबाट नेतृत्व टाढा रहनुपर्छ । पार्टीभित्र न्यायोचित जिम्मेवारी, निर्णय प्रक्रियामा सहभागिता र असहमति राख्ने अधिकार सुनिश्चित गर्नु नै असन्तुष्ट समूहलाई फर्काउने सबैभन्दा प्रभावकारी उपाय हुनेछ ।
अर्कोतर्फ देउवा र शशांक पक्षका अगाडि पनि एउटा गम्भीर राजनीतिक प्रश्न उभिएको छ, त्यो के भने उनीहरूले आफ्नो बाँकी राजनीतिक ऊर्जा समानान्तर संरचना निर्माणमा खर्च गर्ने कि कांग्रेसलाई एकताबद्ध बनाउन प्रयोग गर्ने ? देउवाले लामो समय कांग्रेसको नेतृत्व गरेका छन् । प्रधानमन्त्री र पार्टी सभापतिका रूपमा उनको राजनीतिक जीवनले नेपाली राजनीतिमा छुट्टै स्थान बनाएको छ । यही कारण जीवनको पछिल्लो राजनीतिक चरणमा उनले निर्वाह गर्ने भूमिका पद प्राप्तिको भन्दा पनि पार्टीलाई जोड्ने अभिभावकीय भूमिकाका रूपमा स्थापित हुन सक्यो भने त्यसको ऐतिहासिक अर्थ बढी हुनेछ । त्यसैगरी बी.पी. कोइरालाको राजनीतिक विरासतसँग जोडिएको पारिवारिक पृष्ठभूमि भएका डा. शशांक कोइरालाका लागि पनि अहिलेको आवश्यकता अर्को केन्द्र निर्माण गर्नेभन्दा कांग्रेसको लोकतान्त्रिक विरासतलाई विभाजनबाट जोगाउने पहल गर्नु हो । इतिहासमा नेता कति पटक पदमा पुगे भन्ने मात्र सम्झिइँदैनÙ कठिन मोडमा उसले संस्थालाई जोड्यो कि विभाजनतर्फ लग्यो भन्ने कुरा पनि उत्तिकै स्मरण गरिन्छ । कांग्रेसका शुभचिन्तकले खोजेको देउवाको कांग्रेस, गगनको कांग्रेस वा कोइरालाको कांग्रेस होइन कि एउटै नेपाली कांग्रेस हो । यो सामान्य कार्यकर्ताको भावनालाई नेतृत्वले समयमै बुझ्नु आवश्यक छ ।
कांग्रेस एक भयो भन्दैमा उसको राजनीतिक चुनौती समाप्त हुँदैन । बरु त्यसपछि वास्तविक परीक्षा शुरु हुन्छ । नयाँ नेतृत्वले कांग्रेसलाई केवल चुनाव जित्ने संयन्त्रका रूपमा होइन, बदलिएको नेपाली समाज बुझ्ने आधुनिक लोकतान्त्रिक संस्थाका रूपमा पुनर्गठन गर्नुपर्नेछ । युवाको निराशा, बेरोजगारी, विदेश पलायन, उत्पादनमा आएको शिथिलता, शिक्षा र स्वास्थ्यको बढ्दो खर्च, सार्वजनिक सेवामा नागरिकले भोग्नुपर्ने हैरानी, भ्रष्टाचार, प्रशासनिक ढिलासुस्ती र राज्यप्रतिको घट्दो विश्वास आजका प्रमुख प्रश्न हुन् । कांग्रेसले अब ठूला राजनीतिक नाराभन्दा नागरिकको दैनिक जीवन छुने कार्यक्रम अघि सार्नुपर्छ । एउटा युवा देशमै बसेर सम्मानजनक आम्दानी गर्न सक्छ कि सक्दैन ? किसानले उत्पादनको उचित मूल्य पाउँछ कि पाउँदैन ? सानो व्यवसायीले अनावश्यक प्रशासनिक झन्झटबिना व्यवसाय गर्न सक्छ कि सक्दैन ? सामान्य परिवारले गुणस्तरीय शिक्षा र उपचार धान्न सक्छ कि सक्दैन ? वृद्धवृद्धाले सुरक्षित जीवन पाउँछन् कि पाउँदैनन् ? कांग्रेसको भावी नीति यिनै प्रश्नको मापनयोग्य उत्तर बन्न सक्नुपर्छ ।
विशेषगरी आर्थिक नीतिमा कांग्रेसले आफ्नो पुरानो परिचय दोहो¥याएर मात्र पुग्दैन । निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति र सामाजिक न्यायबीच नयाँ सन्तुलन आवश्यक छ । कृषि उत्पादनसँग उद्योग जोड्ने, स्वदेशी उत्पादनको बजार सुनिश्चित गर्ने, सूचना प्रविधि तथा नयाँ उद्यमलाई रोजगारीको प्रमुख आधार बनाउने, विदेशबाट फर्किएका युवाको सीप र पुँजीलाई उत्पादनमा लगाउने तथा प्रदेश र स्थानीय तहलाई स्थानीय अर्थतन्त्र निर्माणमा सक्रिय बनाउने स्पष्ट कार्यक्रम चाहिन्छ । प्रत्येक निर्वाचनमा घोषणापत्र लेख्ने तर अर्को निर्वाचनसम्म त्यसको हिसाब नदिने संस्कार तोडेर कांग्रेसले आफ्नो घोषणापत्रलाई समयसीमासहितको कार्यसम्पादन दस्तावेज बनाउन सक्छ । कुन काम सय दिनमा, कुन एक वर्षमा र कुन पाँच वर्षमा गर्ने भन्ने स्पष्टता भयो भने राजनीतिमा हराउँदै गएको जवाफदेहिता पुनःस्थापित गर्न मद्दत पुग्छ ।
संगठनभित्र पनि आमूल सुधार आवश्यक छ । कांग्रेसको सदस्यता प्रणाली पारदर्शी बनाउने, वडा तहसम्मको अभिलेख डिजिटल बनाउने, जिम्मेवारी पाउन नेताको निकटता होइन काम र क्षमतालाई आधार बनाउने तथा निश्चित अवधिमा पदाधिकारीको कार्यसम्पादन समीक्षा गर्ने व्यवस्था शुरु गर्न सकिन्छ । महिला, युवा, दलित, मधेशी, जनजाति, पिछडिएको क्षेत्र र विभिन्न पेशागत समुदायको प्रतिनिधित्व केवल संख्या पु¥याउने अभ्यासमा सीमित नराखी निर्णय प्रक्रियामै प्रभावकारी बनाउनुपर्छ । टिकट वितरणमा अन्तिम घडीको गुटगत भागबन्डा हटाएर उम्मेदवार छनोटका स्पष्ट मापदण्ड बनाउनु अर्को महत्वपूर्ण सुधार हुनेछ । राजनीतिमा नयाँ पुस्ता आउनुपर्छ भन्ने भाषणभन्दा नयाँ मानिस प्रवेश गर्न सक्ने ढोका संस्थागत रूपमा खोल्नु धेरै प्रभावकारी हुन्छ ।
कांग्रेसले सुशासनको विषयमा पनि आफूलाई अरू दलभन्दा फरक प्रमाणित गर्नुपर्नेछ । भ्रष्टाचारको आरोप लागेका आफ्नै नेता भए पनि छानबिनलाई सहयोग गर्ने, सार्वजनिक पदमा बसेकाको सम्पत्ति र निर्णयमा पारदर्शिता बढाउने तथा सरकारमा जाँदा नियुक्तिलाई योग्यता र कार्यसम्पादनसँग जोड्ने प्रतिबद्धता व्यवहारमा देखिनुपर्छ । लोकतन्त्रको रक्षा केवल संविधानको पक्षमा भाषण गरेर हुँदैनÙ नागरिकले सरकारी कार्यालयमा सम्मानपूर्वक सेवा पाउँदा, अदालतमा न्याय समयमै पाउँदा, अस्पतालमा उपचार सहज हुँदा र कर तिरेपछि त्यसको प्रतिफल देख्दा लोकतन्त्रप्रति विश्वास बलियो हुन्छ । कांग्रेसले लोकतन्त्रलाई नागरिकको दैनिक अनुभूतिसँग जोड्न सक्यो भने त्यसले पार्टीलाई नयाँ जीवन दिन सक्छ ।
१५औँ महाधिवेशनपछि कांग्रेसका सामु दुईवटा बाटा देखिएका छन् । एउटा बाटो विगतका गुट, प्रतिष्ठा र असन्तुष्टिलाई बोकेर समानान्तर यात्रामा जाने होÙ अर्को बाटो फरक मतलाई स्वीकार गर्दै एउटै संगठनभित्र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने हो । पहिलो बाटोले केही व्यक्तिको तात्कालीन अहंलाई सन्तुष्टि दिन सक्छ, दोस्रो बाटोले मात्र कांग्रेसको भविष्य सुरक्षित गर्न सक्छ । त्यसैले देउवा–शशांक पक्षले सम्मानजनक एकताको बाटो रोज्नु र गगन नेतृत्वले त्यसका लागि ढोका मात्र होइन मनसमेत खुला राख्नु अहिलेको आवश्यकता हो । गगनको सफलता आफ्ना समर्थकलाई साथमा राख्न सक्नुमा होइन, असहमतलाई समेत विश्वास दिलाउन सक्नुमा मापन हुनेछ । देउवा र कोइराला पक्षको राजनीतिक परिपक्वता पनि अर्को कांग्रेस बनाउन खोज्नुमा होइन, एउटै कांग्रेसलाई बलियो बनाउन भूमिका खेल्नुमा देखिनेछ । कांग्रेसका लागि अबको मूल प्रश्न नेतृत्व कसको भन्नेभन्दा पनि नीति कस्तो, संगठन कस्तो, आचरण कस्तो र नागरिकको जीवनमा त्यसको परिणाम कस्तो भन्ने हो । १५औँ महाधिवेशनले नेतृत्व परिवर्तन गरिसकेको छÙ अब त्यसले राजनीतिक संस्कार, संगठन र जनतासँगको सम्बन्ध पनि बदल्न सक्यो भने मात्रै कांग्रेसभित्र जागेको नयाँ आशाले सार्थकता पाउनेछ ।
