अनधिकृत संरचना हटाउन थालियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साह (बालेन) अनधिकृत रुपमा गरिएका निर्माणहरुलाई भत्काउने कार्यमा लागि परेका छन् । अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउने अभियानमा उनी स्वयम् पनि उपस्थित भएर लागि परेका हुन् । यस क्रममा महानगरले सुन्धारास्थित काठमाडौं मलमा बनेका अनधिकृत संरचना डोजर लगाएर भत्काएको छ । यसैगरी खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडिका संरचना पनि भत्काइएको छ ।
यस्तै, रञ्जनागल्लीको कोजी कम्प्लेक्स र न्यूरोडको केषा प्लाजालाई पुनः मिति दिएर महानगरको टोली फर्किएको बताइएको छ । यसअघि काठमाडौंको बानेश्वर क्षेत्रमा समेत प्रमुख साह आफैं उपस्थित भएर भूमिगत क्षेत्रमा बनाइएका संरचना भत्काउने भन्ने जानकारी दिएका थिए । नक्सा पारित गर्दा भूमिगत क्षेत्रमा सवारी साधन राख्ने ठाउँ बनाउने भनिएकोमा ती ठाउँहरुमा समेत विभिन्न किसिमका संरचनाहरु बनाइएकाले महानगरपालिकाले त्यस्ता संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । यसैगरी ती स्थानहरुलाई खुला राखी सवारी साधनहरुलाई राख्नका लागि प्रयोग गरिएमा काठमाडौं उपत्यकामा गाडी राख्ने ठाउँको अभाव घट्ने बुझाइमा महानगर रहेको बताइएको छ । ती स्थानहरुमा गाडीलाई तोकिएको शुल्क लिएर घरवालाहरुले राख्ने व्यवस्था मिलाउने अपेक्षा महानगरले गरेको छ ।
त्यसरी भत्काउने तथा हटाउने कार्यका लागि प्रमुख साह पुग्दा त्यहाँ व्यवसाय संचालन गर्दै आएका व्यक्तिहरुले दशैंको मुखमा खाली नगराउन अनुरोध गरेका थिए । उनीहरुले आफूहरुको वर्ष दिनभरिको कमाइ नै दशैंको समयमा हुने जानकारी गराउँदै दशैंपछि मात्र हटाउने व्यवस्था मिलाउन अनुरोध गरेका थिए । उता, उनीहरुले समस्या देखाउँदा पनि प्रमुख साहले भने त्यसरी अर्को संरचना बनाउने कार्य सम्बन्धित घरवालाले जानी जानी गरेको अवस्थामा अब थप समय दिन नसकिने बताएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *