न्यूरो सर्जरी शिखर सम्मेलन नेपालमा हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ दक्षिण एसियाको न्यूरोसर्जरी अर्थात् स्नायू शल्यचिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । यही सेप्टेम्बर ७ देखि ९ सम्म आठौं शिखर सम्मेलन ललितपुरको कुपन्डोलस्थित हिमालय होटेलमा हुन लागेको नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा. प्रबीण श्रेष्ठले जानकारी दिए ।

विगत ६ वर्षदेखि र कोरोनाकालमा यस सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्युरोसर्जन समाजले यो आयोजना गर्न लागेको हो । सम्मेलन सन् १९९९ मा पहिलो पल्ट नेपालबाट नै शुरु भएको थियो । उक्त सम्मेलनको पहिलो दिनमा न्यूरोसर्जरी रेजिडेन्ट चिकित्सक (तालिमरत चिकित्सक) लाई न्यूरो सर्जरीसम्बन्धी विविध विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूद्वारा तालिम दिइने कार्यक्रम रहेको बताइएको छ । यसैगरी दोस्रो र तेस्रो दिनमा दक्षिण एसियाका आठै देशलगायत अमेरिका, युरोप, जापान, चीन, क्यानाडा, इजरायल आदि देशहरुबाट न्यूरोसर्जरी समबन्धी विज्ञहरुको सहभागिता रहने बताइएकोछ ।

उक्त सम्मेलनमा एक सय ५० वटाभन्दा धेरै कार्यपत्रहरू प्रस्तुत हुने जानकारी दिइएको छ । नेपालमा हाल करिब एक सय १२ जना सक्रिय न्यूरोसर्जनहरू रहेका बताइन्छ । सन् १९८८ मा डा. उपेन्द्र देवकोटा (हाल स्वर्गीय) ले नेपालमा पहिलोपल्ट आधुनिक न्युरोसर्जरी सेवा शुरु गरेपश्चात यस सेवाको विस्तार हुँदै गएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *