कांग्रेस फुटाउने ओलीको दाऊ, शेखर- मोहरा प्रदेशमा खेल्ने प्रयास

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ सत्तारुढ दलहरुमध्येको प्रमुख घटक नेपाली कांग्रेसलाई फुटाउने दाऊमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली लागेका छन् । वर्तमान सत्तारुढ गठबन्धनलाई कुनै पनि अवस्थामा तोड्ने एकमात्र उद्देश्यका लागि परेका ओलीले पहिलो प्रहार कांग्रेसमाथि गर्ने तयारी गरेका हुन् । यसका लागि ओलीले कांग्रेसभित्र हाल उत्पन्न भैरहेको आन्तरिक असहमतिमाथि खेल्ने प्रयास गरिरहेका छन् । ओलीले गठबन्धन टुटाउने नाममा कांग्रेसमा विभाजनको सपना देखेको समाचार स्रोतले बताएको छ ।
पछिल्लो निर्वाचनबाट तेस्रो दलको रुपमा रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने कार्यमा मुख्य भूमिका ओलीले निभाएका थिए । त्यो बेला कांग्रेससहितको गठबन्धनमा रहेको माओवादी केन्द्रलाई आफ्नो कित्तामा तानी ओलीकै पहल कदमीमा दाहाललाई प्रधानमन्त्री बनाइएको थियो । ओली आफैंले मेहनत गरेर बनाएका प्रधानमन्त्री दाहाल ओलीको पेलाहा शैलीका कारण फेरि एमालेविनाको गठबन्धन अर्थात कांग्रेसको पक्षमा पुगी एमालेलाई सरकारबाट बाहिर पु¥याइदिएका थिए ।
पहिलो कार्यकाल दाहाललाई प्रधानमन्त्री बनाएर दोस्रो कार्यकाल आफू प्रधानमन्त्री बन्ने सपना देखेका ओलीलाई भित्तामा पु¥याएर दाहाल प्रधानमन्त्रीमै कायम छन् । यसरी आफूलाई धोका दिएको भन्ने बुझाइमा रहेका ओली कुनै पनि हालतमा दाहाललाई सरकारबाट बाहिरियाउन चाहन्छन् । यसका लागि उनी मौकाको खोजीमा रहेका बताइएको छ ।
ओलीको पहिलो प्रहारमा चन्द्रकान्त (सि.के.) राउतको दल जनमत पार्टी थियो । उनले विभिन्न प्रयास गरेर जनमत पार्टीलाई सरकारबाट बाहिरिनु पर्ने अवस्थामा पु¥याएका थिए । यसैगरी उनले लामो प्रयास गरी राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारबाट बाहिरिनुपर्ने अवस्थामा पु¥याएका थिए । ओलीले यी दुई दललाई सरकारबाट बाहिरियाएपछि दाहाल प्रधानमन्त्रीबाट हटुने अवस्था आउँछ भन्नेमा पुगेका थिए किनकि राप्रपा पनि त्यो बेला सरकारबाट बाहिर गइसकेको थियो ।
यस्तो अवस्थामा दाहालले जनता समाजवादी पार्टीलाई सरकारमा मात्र ल्याएनन् कि जनमतलाई समेत सरकारमै भित्र्याए । नागरिक उन्मुक्ति पार्टीको समेत सहयोग पाएका दाहाल नेतृत्वको सरकार झनै बलियो रहेको बुझाइमा ओली पुगेपछि पछिल्लो ध्यान उनको कांग्रेसमै रहेको अवस्था छ ।
माओवादीसँगको सहकार्यमा कांग्रेसका केही नेताहरु असन्तुष्ट रहेको स्थिति छ । यो स्थितिलाई ओलीले मौकाको रुपमा लिन चाहिरहेका छन् । दाहाललाई सत्ताच्यूत गर्न पाए आफ्नो राजनीतिक शाख उँचो हुने बुझाइमा ओली रहेका छन् । यसै कारण पनि उनले कांग्रेस भित्रको अवस्थालाई मौकाको रुपमा अघि बढाउन खोजेको राजनीतिक रुपमा चर्चा चल्ने गरेको छ ।
पछिल्लो समय वर्तमान सरकारको काम कारबाही तथा आफ्नै दलबाट मन्त्री बनेकाहरुको गतिविधिका कारण शेखर कोइराला, गगनकुमार थापा, प्रदीप पौडेल लगायतले सरकारका विरुद्ध बोल्ने गरेका छन् । यो कुरालाई माओवादी केन्द्रका नेताहरुले रुचाएका छैनन् । कांग्रेस सरकारमा रहेका कांग्रेसकै नेताहरु सरकारको विरुद्धमा रहेको उनीहरुको बुझाइ छ ।
यही कारण माओवादीका नेताहरुले समेत कांग्रेसलाई थर्काउने प्रयास गर्न थालेका छन् । उनीहरु उस्तै परे एमालेसँग मिल्न सकिने, पार्टी नै एकीकरण गर्न सकिने जस्तो खालका अभिव्यक्ति दिन थालेका छन् । एमालेका ओलीले दाहाललाई साथ नदिने अवस्था रहँदा रहँदै पनि उनीहरु कांग्रेसलाई ‘साइज’ मा राख्नका लागि भनी त्यस्तो अभिव्यक्ति दिइरहेका पनि बताइएको छ ।
उता, यी सबै घटनाक्रमलाई विभिन्न कोणबाट विश्लेषण गर्दै आएका ओली भने दाहाललाई पहिलो निशाना बनाउने पक्षमा रहेका बताइएको छ । यसका लागि माओवादी केन्द्रसँग मिल्ने कुरालाई प्राथमिकतामा नराखी जसरी हुन्छ वर्तमान सरकारलाई ढाल्ने सोचका साथ ओली प्रयासरत रहेको बताइएको छ ।
यसका लागि कोशी प्रदेशमा सरकार अस्थिर बनेको अवस्थालाई ओलीले मौकाको रुपमा लिएका छन् । कोशी प्रदेशमा सरकार बनाउने विभिन्न प्रयासहरु भैरहेका छन् । घरि एमालेको नेतृत्वमा त घरि कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयास भैरहेको छ । दुवै पक्षले विश्वासको मत पाउन नसकेको अवस्थामा कोशी प्रदेशमा ओलीले दोहोरो खेल खेलिरहेको बताइएको छ ।
कोशी प्रदेशमा आज शुक्रबारसम्ममा अन्तिम विकल्पको सरकार बन्ने अवस्था छ । आजसम्म प्रदेशसभामा रहेका कुनै पनि सांसदले आफ्नो नेतृत्वमा सरकार बन्न सक्ने आधार सहित दाबी प्रस्तुत गर्नुपर्ने अवस्था छ । यो बेलामा पनि एमालेको दाऊ भने खेल्ने नै रहेको छ ।
एमाले सकेसम्म कोशी प्रदेशमा मध्यावधि निर्वाचनको पक्षमा देखिएको छ । उसले सरकार बनाउन सहयोग नगर्ने मात्र होइन कि अरुलाई पनि सहयोग गर्न नदिने नीति लिएको देखिन्छ । यसका लागि राप्रपालाई आफ्नो पक्षमा राखी सरकार बन्न नदिने खेल एमालेले खेलिरहेको बताइएको छ ।
केन्द्रमा दाहाललाई सरकारबाट च्युत गराउने सर्तमा ओलीले कोशी प्रदेशमा कांग्रेस नेतृत्वको सरकार बन्न आफूले सहयोग गर्ने खालको कुरा एकातिर गरिरहेको छ । यसैगरी अर्कातिर भने कोशीमा कांग्रेसलाई सरकारबाट बाहिर राख्न तयार हुने हो भने नेकपा (एकीकृत समाजवादी) वा माओवादी केन्द्रको नेतृत्वलाई स्वीकार्न तयार रहनेसम्मको खेल एमालेले खेलिरहेको बताइएको छ ।
एमालेका खेललाई नजिकबाट नियाल्दै आएका कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालले भने यस्तो अवस्था आउन नदिने तयारी थालेका छन् । यसका लागि देउवा माओवादी केन्द्रलाई कोशी प्रदेशमा सरकारको नेतृत्व गर्न दिने पक्षमा समेत पुगेका छन् । आज दाबी लिने क्रममा माओवादीले राप्रपाको समेत समर्थनमा सरकार बनाउने बताइएको छ ।
उता, ओली भने कांग्रेस नेता शेखर कोइरालालाई उचाल्ने पक्षमा रहेका छन् । ओली निकटहरुले भने कोइरालालाई कोशी प्रदेशमा माओवादी केन्द्रलाई दिनु नहुने भन्ने खालको सन्देश पु¥याइरहेको बताइएको छ । यसरी ओलीले कोइरालालाई मोहरा बनाए पनि उनले आफू मोहरा बनिरहेको नबुझी सरकारको विरोधमा मात्र उत्रिएको भनी उनको कांग्रेस भित्रै पनि विरोध भइरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *