२५ लाख बुझाएर माधव लागे चीनतिर

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कार्तिक २१ गते चीन प्रस्थान गरेका छन् । चिनिया कम्युनिष्ट पार्टी (सीपीसी) को निमन्त्रणामा १५ सदस्यीय टोलीको नेतृत्व गर्दै अध्यक्ष नेपाल चीन भ्रमणमा गएका छन् ।
मुलुकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट ठूलो धनजनको क्षतिको सामना गरिरहेको अवस्थामा अध्यक्ष नेपाल पार्टीका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई रु.२५ लाखको चेक हस्तान्त्रण गरेर चीन भ्रमणमा निस्केका हुन् । उता, राष्ट्रपति रामचन्द्र पौडेलले १० दिने यूरोपको भ्रमण स्थगित गरेर भूकम्पपीडितहरुको अवस्था बुझ्न जाजरकोट र रुकुम पश्चिम गए ।
जनताको सुख–दुखमा भन्दा विदेश भ्रमणलाई महत्व दिएका अध्यक्ष नेपाल सहितको टोलीको पार्टी प्रतिनिधि सभामा खासै महत्व राख्दैनन् । प्रतिनिधि सभामा १० सिट भएको नेकपा एस आगामी २०८४ को निर्वाचनमा कोल्याप्स हुने जानकारहरुले बताएका छन् । राष्ट्रिय दल बन्न नसकेको सो दलले समानुपातिकमा तीन लाख मत ल्याउन नसके पनि अध्यक्ष नेपाललाई विदेश भ्रमण फलिफाप बनेको छ ।
कम्युनिष्ट नेताहरुको लागि चीन पानी पँधेरो जस्तै बन्ने गरेको छ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहाल, नेता अग्नि सापकोटा, वर्षमान पुन, गृहमन्त्री नारायण काजी श्रेष्ठ, एमाले नेता शंकर पोख्रेल, नेकपा एशका सम्मानित नेता झलनाथ खलान पनि केही समय अगाडि चीन भ्रमण गरेर फर्किएपछि अध्यक्ष नेपाल चीन हान्निएका छन् ।
भूकम्पको संकटलाई समाधान गर्न उद्दार र राहत एवं पुनस्थापनामा जुट्नुपर्ने बेलामा नेपाल चीनतर्फ लागेपछि उनको आलोचना शुरु भएको छ । विघटनको डिलमा पुगेको नेकपा एसका धेरैजसो नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमै फर्किने तयारी गरिरहेको समाचार श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *