सबै एकजुट भए काँग्रेसले बहुमत ल्याउने

Nayabimarsha (Weekly Newspaper from Nepal)

कृष्ण लम्साल

काठमाडौं/ नेपाली काँग्रेसमा सबै एकजुट भए २०८४ को चुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने सभापति शेरबहादुर देउवाले बताएका छन् । सभापति देउवाले उक्त कुरा ओखलढुंगा काँग्रेसको जिल्ला सम्मेलन तथा बी.पी. स्मृति भवनको उद्घाटन गर्दै बताएका हुन् ।
पाँच पटक प्रधानमन्त्री र दुई पटक कांग्रेस सभापति बनी सकेका देउवाले पार्टीलाई एकढिक्का भने बनाउन सकेका छैनन् । तदर्थवादका हिसाबले पार्टी चलाएका देउवाको अझै एक पटक प्रधानमन्त्री बन्ने चाहना छ । युवा नेताहरुले देउवाको चाहना र कार्यशैलीप्रति कटाक्ष गर्दै आएका छन् । हाल काँग्रेसमा देउवा निकट संस्थापन गुट, वरिष्ठ नेता शेखर कोइराला, गुट र गगन–विश्व एवं प्रदीपको तेश्रो गुटले जरा गाडेको छ ।
आ–आफ्नो स्वार्थ अनुसार अगाढि बढिरहेका यी गुटका कारण काँग्रेसले अपेक्षाकृत गति लिन सकेको छैन । काँग्रेस पार्टीबाट उपसभापति बनेका पूर्णबहादुर खड्का र धनराज गुरुङ्ग हाल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा उपप्रधानमन्त्री छन् । उनीहरु वाहेक अन्य सातजना पनि मन्त्री बनेका छन् । उनीहरुले सुशासन सम्बृद्धि र डेलीभरी दिन नसक्दा पार्टीका नेता तथा कार्यकर्ताहरुबाट आलोचित बन्न पुगेका छन् ।
यता, युवा महामन्त्रीद्वय थापा र शर्माले नयाँ पुस्तालाई सभापतिले प्रधानमन्त्री बन्न आग्रह गर्नुपर्ने बताए पनि पार्टीभित्र सशक्त र प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेको छ । बरु काँग्रेस नेता चन्द्र भण्डारीले एक पटक शेखर कोइरालालाई सभापति भएको हेर्न पार्टीका नेता तथा कार्यकर्ताले चाहेको बताएर आफ्नो कित्ता प्रष्ट पार्दा शेखर–गगनबीच नै दूरी बढेको काँग्रेस बृत्तमा चर्चा चलेको छ ।
काँग्रेसमा देउवा, कोइराला, गगन, विश्व र प्रदीप पौडेल लगायतका नेताहरु एकजुट भएर अगाडि बढ्ने हो भने एक्लैले बहुमत ल्याउने सभापति देउवाले स्वीकार गरी सकेका छन् । यिनीहरु किन एकजुट हुन सकिरहेका छैनन् भन्ने चर्चा पनि चलेको छ । काँग्रेसका अन्य नेताहरु गोपालमान श्रेष्ठ, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र विमलेन्द्र निधिको राजनीतिक सटर लगभग बन्द छ । यस्तो अवस्थामा सभापति देउवाले आफ्नो स्वार्थ भन्दा पार्टीको स्वार्थलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने हो भने मिसन ०८४ काँगे्रसका लागि फलदायी बन्ने निश्चित छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *