शेखर र गगन जोड्न के.सी.को भूमिका

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसमा गगनकुमार थापा, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको तेश्रो धार विकसित हुन थालेपछि शेखर कोइरालाले आफ्नै समूहलाई बलियो बनाउने रणनीतिमा लागेका छन् । खासगरी शेखर–गगनको दूरी बढ्न थालेपछि र संवादहीनताको अवस्था आएपछि काँग्रेस नेता अर्जुननरसिंह के.सी.ले दुबैलाई मिलाउन पहल गरेका छन् ।
नेता के.सी.ले बुढानिलकण्ठस्थित (इटालीटार) आफ्नै निवासमा बोलाएर संवादको पहल गरेका थिए । सोही कारण गत मंगलबार मंसिर २६ गते बोलाइएको संस्थापन इतरसमूहको भेलामा महामन्त्री गगन नजाने भएपछि उक्त भेला एक दिन पछाडि सारेर सहमतिमा मंसिर २७ गते सारिएको थियो । दुई नेताबीच करिब तीन घण्टा छलफल भएको थियो । छलफलपछि मिलेर अगाढि बढ्न तयार भएको नेताहरुले बताएका छन् ।
कोशी प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार गठन भएपछि दुई नेताबीच दूरी बढेको थियो । बुधवारको गौशालास्थित अनुपम फुडल्याण्डमा भएको भेलाले आज शुक्रबार बस्ने पार्टीको कार्य समितिको बैठक पुस १६–१९ का लागि तयार भएको महासमिति बैठक र राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा गम्भीर छलफल गरेको छ ।
काँग्रेस सभापति शेरबहादुर देउवाले जाडो र राष्ट्रियसभा निर्वाचनको तयारी देखाउँदै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेका छन् । महासमिति बैठक फागुनमा सार्ने प्रस्तावप्रति इतरसमूह सहमत देखिएको छैन ।
काँग्रेसमा आगामी १५औं महाधिवेशनमा सभापति को बन्ने भन्ने विषयमा शेखर र महामन्त्री गगनबीच हानथाप चलेको छ । व्यक्तिगत स्वार्थ र टक्करले काँग्रेसका शुभचिन्तकहरु चिन्तित बनेका छन् । पार्टी संगठनलाई जनतासँग जोड्ने कार्यक्रम यी दुबै नेतासँग छन् । पार्टीको १५औं महाधिवेशन र मिसन ०८४ को लागि नेताहरुले युवा नेताहरु र गुटलाई भत्काएर अगाडि बढ्न नसके काँग्रेसप्रति जनताको आशा र विश्वास घट्ने निश्चित छ । यसै पनि सरकारमा भएका काँग्रेसका मन्त्रीहरुले रमाउन र कमाउन बाहेक डेलीभरी दिन नसकेको आरोप लागेको छ ।
जनता महँगी र कुशासनको भुंग्रोमा सेकिँदा पनि काँग्रेसका मन्त्रीहरु लाज नमानी सम्बृद्धिको गीत गाउँदै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको बखान गर्न व्यस्त छन् । यस्तो अवस्थामा संस्थापन इतर पक्षले निकम्बा मन्त्रीहरु हटाएर काँग्रेसलाई जनताको नजरबाट जोगाउन पर्ने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *