राष्ट्रियसभाका मतदाताको किटान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट मतदाता नामावली स्वीकृत भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानूनी व्यवस्था छ ।
सोही अनुसार प्रदेशसभा सदस्य पाँच सय ४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ जना गरी जम्मा दुई हजार ४७ जनाको मतदाता नामावली स्वीकृत भएको आयोगले जनाएको छ । स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाई पाँच सय ४९ जना कायम गरिएको छ ।
त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता एक हजार पाँच सय छजनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख चार गरी आठजनाको नाम हटाई कूल एक हजार चार सय ९८ जनाको नामावली स्वीकृत गरिएको छ । स्वीकृत मतदाता नामावली आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको आयोगले जनाएको छ ।
निर्वाचन कार्यक्रम बमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने व्यवस्था आयोगले मिलाएको जनाएको छ । यसैगरी पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने पनि आयोगले जनाएको छ ।
मतदातामध्ये प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको पनि आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कूल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८ हजार चार सय ६२ गरी जम्मा ५७ हजार पाँच सय ५९ रहेको आयोगले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *