काँग्रेस– माओवादीको पुच्छर समाएर मख्ख

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेस नेकपा (माओवादी केन्द्र) को पुच्छर समातेर सत्तामा रमाइरहेको छ । काँग्रेसले बी.पी., किशुनजी र गणेशमानद्वारा प्रतिपादित विचार परित्याग गर्दै माओवादीसँगको सहयात्री बनेको छ ।
काँग्रेसले भ्रष्टाचारको शब्द सुन्नै चाहँदैन र भ्रष्टहरुको संरक्षण पनि गर्न छाड्दैन । काँग्रेसमा वरिष्ठ नेता शेखर कोइराला र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दी गरे पनि सफल हुन सकेका छैनन् । अझैसम्म पार्टीमा देउवाकै हालीमुहाली चल्दै आएको छ ।
यही मेसोमा काँग्रेसले नेकपा (एमाले) को मध्यपहाडी संकल्प यात्राको अनुशरण गर्दै एक महिने ‘समुदायमा काँग्रेस’ अभियान चलाउने भएको छ । मुलुकका छ हजार सात सय ४३ वटै वडामा पुग्ने एक महिने अभियान पुस १६ गतेदेखि माघ १६ सम्म चलाइने बताइएको छ । जाडो महिनामा शुरु हुने भनेर फागुनमा सारिएको महासमिति बैठक जस्तै यो अभियान पनि जिल्लामै बसेर सञ्चालन गरिने जानकारहरुले बताएका छन । काँग्रेस नेता तथा कार्यकर्ताहरु अल्छी भएकाले खट्न नसक्ने श्रोतले बताएको छ ।
सरकारमा माओवादीको अपजसको भारी बोकेर रमाइ रहेका काँग्रेस लठमुंग्रे मन्त्रीहरुले समुदाय जनता र कार्यकर्ताहरुलाई डेलीभरी दिन नसकेको अवस्था छ । काँग्रेसले समुदायको गीत गाउन छाडेको छैन । सभापति देउवालाई माओवादी अध्यक्ष दाहालसँगको सहयात्रा एवं गठबन्धन प्यारो लाग्दा इतरपक्षले सरकारको नेतृत्व काँग्रेसले नै गर्नुपर्ने बताएर प्रधानमन्त्री रिपोर्ट कार्ड मागेका छन् । काँग्रेसको बुई चढेर आफ्नो अनुकूल सरकार चलाउँदै आएका प्रधानमन्त्री दाहालको आगामी पुष १० गते एक वर्षे कार्यकाल पूरा हुँदैछ । यो एक वर्षमा काँग्रेसबाट मन्त्री बनेकाहरुले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न, रमाउन, कमाउन र विदेश भ्रमण गर्नु बाहेक जनताका लागि सिन्को नभाँचेको काँग्रेसकै असन्तुष्ट नेता एवं कार्यकर्ताहरुले बताएका छन् ।
गठबन्धन दलमा भएको सहमति अनुसार प्रधानमन्त्री दाहालले आगामी २०८१ पुषसम्म सरकारको नेतृत्व गर्नेछन् । यस्तो अवस्थामा काँग्रेस– माओवादीको पुच्छर बन्नु बाहेक विकल्प देखिँदैन र शेखर–गगनको भ्यागुताको धार्नी पनि पुग्न सक्ने अवस्थामा छैन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *