कांग्रेसको बैठकमा मन्त्रीहरुलाई र्‍याखर्‍याख्ती

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक हिजोदेखि बसेको छ । सरकारमा सहभागी भएका मन्त्रीको कार्यसम्पादनबारे समीक्षा, राष्ट्रियसभा सदस्यको उम्मेदवारको मापदण्ड तय गर्न र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो । गत मंसिर २९ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरे बमोजिम यो बैठक बसेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयम्ले मन्त्रीको कार्यसम्पादनबाट चित्त नबुझाएको अवस्थामा सत्तारुढ दल कांग्रेसको यो बेठक झनै महत्वपूर्ण हुने बताइएको छ । दाहालले सार्वजनिक रुपमा नै कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई परिवर्तन गरेर नयाँ ढंगले जाने बताएपछि कांग्रेसले पनि सो विषयमा ध्यान दिएको हो ।
सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै दाहालले ‘मन्त्रीहरूलाई भन्न चाहन्छु हामीलाई असफल हुने छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्ने अवस्था र मनस्थितिमा छैन । हामी सबैले आ–आफ्नो भूमिका न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यक्षमता प्रमाणित गर्न सकेनौं भने कसैले पनि ठाउँ ओगटिरहनु हुँदैन छाडदिनुपर्छ ।’ भनी भनेकाले पनि यो विषय कांग्रेसमा गहन रुपमा उठ्ने भएको हो ।
यसैबीच कांग्रेसभित्रै सरकारप्रति चर्को असन्तुष्टि छ । शेखर कोइराला, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालगायतका नेताहरूले सार्वजनिक रुपमै वर्तमान सरकारको कामप्रति असन्तुष्टि राख्दै आएका छन् । कांग्रेसका मन्त्रीहरुको रिपोर्ट कार्ड पनि राम्रो नरहेको अवस्था छ । त्यसैले सम्बन्धित मन्त्रीहरुलाई यो बैठकमा बोलाई प्रश्नहरु राखिने भएको बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा भने मन्त्रीहरुको परिवर्तनको विषय राष्ट्रियसभाको निर्वाचनपछि र महासमितिको बैठकभन्दा अगाडि राख्ने पक्षमा देखिएको पनि समाचार स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *