चौतर्फी घेरावन्दीमा भौतिक मन्त्री ज्वाला

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पछिल्लो समय बालकुमारी घटनाले घेरावबन्दीमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) का तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका ज्वालाले नौ महिनामा परिणाम देखाउन सकेनन् ।
निर्माण व्यवसायीहरुको पुरानो दायित्व भुक्तानी गर्न नसक्दा आलोचित बनेका मन्त्री ज्वालाले नौ महिनामा सडक निर्माणलाई अस्तव्यस्त बनाएको आरोप लागेको छ । मन्त्रीले दह्रो अडान लिन नसक्दा २२ अर्ब पुरानो दायित्व भुक्तानी गर्नुपर्ने रकम एक अर्ब ७४ करोडमा चित्त बुझाउन बाध्य भएका छन् । निर्माण व्यवसायी र योजना तथा डिभिजन प्रमुखहरुले बस्नै नसक्ने अवस्था श्रृजना भएपछि मन्त्रालय गतिहीन बन्न पुगेको समाचार श्रोतले जानकारी दिएको छ ।
आर्थिक वर्ष २०८०÷०८१ को बजेटमा अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयको ३७ अर्ब र सडक विभागको ३१ अर्ब रकम कटौती गरेपछि समस्या निम्तिएको बताइएको छ । पूर्वाधार निर्माणमा महत्वपूर्ण कामहरु झन्झन गतिहीन र समस्याग्रस्त बन्दै गएका छन् । विगत सात महिनादेखि स्मार्ट लाइसेन्सको वितरण ठप्प छ । इम्बोक्स नम्बर अनिवार्य भनिए पनि गतिशील बन्न सकेको छैन । त्यसैगरी सस्तो लोकप्रियताको लागि बिना तयारी शुरु गरिएको रत्नपार्क सूर्यविनायक दुूतवस सेवा बन्द हुने चरणमा छ । त्यसैगरी नौबीसे मलेखु– मुग्लिन सडकले मुग्लिन पोखरा सडक, नारायणगढ–बुटवल सडकले यात्रुलाई सास्ती दिई रहेका छन् । रबि–राँके, मुडे–चरिकोट, सिपाघाट–नगरकोट, मध्यपहाडी, हुलाकी, कर्णाली, कोशी, कालिगण्डकी डोरेडोर लगायतका सडकहरु म्याद थप्दै आइरहेका छन् ।
पटक पटक मन्त्री ज्वालाको समूहले अनुगमन गरे पनि प्रगति हुन सकेको छैन । कर्मचारीहरुको सरुवा बाहेक मन्त्री ज्वालाले भौतिक प्रगति देखाउन नसकेपछि उनलाई हटाएर नयाँ मन्त्री ल्याउने सोचमा प्रधानमन्त्री पुष्पकमल दाहालले तयारी गरिरहँदा बालकुमारी घटनाले उनको भूमिका माथि संसय पैदा गरेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले समेत मन्त्री ज्वालालाई छानविनको दायरामा ल्याउनुपर्ने बताइरहँदा गृहमन्त्री नारायण काजी श्रेष्ठले मन्त्री ज्वालाकै गल्तीका कारण बालकुमारी घटना घटेको बताएका छन् ।
गत १३ पुसमा पिएसओले रोक्दारोक्दै मन्त्री ज्वालाको जिद्दीले उक्त घटना घटेको जानकारहरुले बताएका छन् । पार्टीको केन्द्रीय कमिटिको बैठक कान्तिपुर पार्टी प्यालेसमा चलिरहेको अवस्थामा उक्त बैठकमा भाग लिन जाने क्रममा घटना घटेको मन्त्री ज्वालाले स्पष्टीकरण दिएका छन् । आखिर जे भए पनि मन्त्री पदबाट खुस्किने अवस्थामा पुगेको उक्त घटनाले ज्वालाको झण्डा खोसिने भएको बताइन्छ ।
मन्त्री ज्वाला चढ्ने ठूलो गाडीमा आगजनी भएपछि हाल १०८९ नम्बरको कार चढ्ने गरेका छन् । बालकुमारी घटनाले चौतफी रुपमा ज्वाला घेराबन्दीमा परेका छन् । बालकुमारी घटनामा परी दुई युवकहरुले अनाहकमा ज्यान गुमाउनु परेको थियो । कोरियाको इपीएस प्रणालीको परीक्षालाई केन्द्रित गरेर आन्दोलनमा उत्रिएका युवाहरु रहेको स्थानमा मन्त्री ज्वालाको गाडी पुग्दा आन्दोलनकारी झनै उत्तेजित बन्न पुगेका थिए । आन्दोलनकारीहरुले आक्रोश पोख्दै मन्त्री ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए ।
उता, आफ्ना मागहरु लिएर इपीएसको कार्यालय अघि आन्दोलनमा उत्रिएका युवाहरुमाथि प्रहरीले दमन गरेको थियो । उक्त दमनमा परी दुईजना युवकहरुको ज्यान गएको थियो । ती युवकहरुलाई शहीद घोषणा गर्ने प्रक्रिया राज्यले अघि बढाएको तथा उनीहरुको परिवारजनलाई केही राहतको घोषणा सरकारले गरेपछि उनीहरुका परिवारजनले उनीहरुको शव बुझेका थिए । उनीहरुमाथि राज्यले सही न्याय नगरेको भनी चौतर्फी रुपमा सरकारको आलोचना भैरहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *