प्रधानमन्त्रीसँग जनमतसँग र उन्मुक्ति रुष्ट

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीले एक सिट पनि नपाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग जनमत पार्टी र नागरिक उन्मुक्ती पार्टीले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको पुच्छर बनेर सत्तामै रमाउन र कमाउन व्यस्त नेकपा (एकीकृत समाजवादी) ले तीनवटा सिट मागेकोमा २ वटा मात्र सिट पाएपछि गन्हाउने मुख लगाएको जानकारहरुले बताएका छन् ।
उता, लोकतान्त्रिक समाजवादी पार्टीले भने अहिलेसम्म मुख खोलेको छैन । मधेश प्रदेशमा १३ वटा सिट र संघीय संसदमा पाँच सिट रहेको राष्ट्रिय पार्टी जनमतलाई १ सिट पनि नदिएर राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा (एस) लाई दुइटा सिट दिनुलाई विभेद ठानिएको छ ।
त्यसैगरी हाल भूमिसुधारमन्त्री रहेकी तत्कालिन उन्मुक्ती पार्टीकी अध्यक्ष रञ्जिता चौधरी श्रेष्ठले गठबन्धनमा हस्ताक्षर गरे पनि एक सिट पनि नपाउँदा रुष्ट बनेको जानकारहरुले बताएका छन् । राष्ट्रियसभामा एक सिट पनि नपाएका जनमत र उन्मुक्ती पार्टीले समर्थन फिर्ता लिने हो भने प्रधानमन्त्री दाहाल अल्पमतमा पर्दछन् ।
उता, राष्ट्रिय जनमोर्चाले गत २०७९ को प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट एमालेका उमेद्वार सूर्य थापासँग पराजित दुर्गा पौडेललाई राष्ट्रपतिबाट मनोनीत हुने एक सिटमा लैजान प्रस्ताव गरेपछि अध्यक्ष चित्रबहादुर के.सी.को निष्ठा पनि उदाङ्गो बनेको छ । राष्ट्रियसभामा आफुले भाग नपाएपछि पार्टी अध्यक्ष सि.के. राउतले विद्रोह गरेर मधेश र लुम्बिनी प्रदेशमा उमेदवार उठाएको छ । गठबन्धन सरकारमा हाल जनमत पार्टीको अनितादेवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छन् । नागरिक उन्मुक्तिकी रञ्जिता चौधरी श्रेष्ठ भूमिसुधार सहकारी तथा गरिबी निवारण मन्त्री छन् । यी दुबै पार्टी सरकार बाहिरिए दाहाल नेतृत्वको सरकार ढल्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *