राष्ट्रियसभाबाट विदा हुनेहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर / गोलाप्रथाबाट छ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुने भएका छन् । हिजो विहीबार भएको निर्वाचनबाट १९ जना निर्वाचित भएका छन् । यसैगरी राष्ट्रपतिले नियुक्त गर्ने एकजना समेतको गरी फागुन २० गतेबाट नयाँ सदस्यहरु राष्ट्रियसभामा देखिने अवस्था आएको छ ।

५९ सदस्यीय राष्ट्रियसभामा गोलाप्रथाबाट एक तिहाई सदस्यको कार्यकाल छ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । यसरी छ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना पनि विदा हुनेको सूचीमा परेका छन् । यसरी विदा हुनेहरुमा नेकपा (एमाले) का नौ सदस्य परेका छन् । दीपा गुरुङ (गण्डकी), इन्दु कडरिया (सुदूरपश्चिम), खिमलाल भट्टराई (लुम्बिनी), दीलकुमारी रावल थापा (बागमती), रामचन्द्र राई (बागमती), नरपति लुवार (कर्णाली), भैरव सुन्दर श्रेष्ठ (कर्णाली) र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि राष्ट्रियसभाबाट बिदा हुँदैछन् ।

नेपाली कांग्रेसबाट पनि चारजना आफ्नो कार्यकाल पूरा गरी विदा हुनेमा परेका छन् । यसरी विदा हुनेमा अनिता देवकोटा (लुम्बिनी), जितेन्द्रनारायण देव (मधेश), प्रकाश पन्थ (गण्डकी) र रमेशजंग रायमाझी (कोशी) रहेको बताइएको छ । यस्तै, नेकपा (माओवादी केन्द्र) का महेशकुमार महरा (सुदूरपश्चिम), हरिराम चौधरी (सुदूरपश्चिम) र विना पोखरेल (कोशी) रहेका छन् । उता, नेकपा (एकीकृत समाजवादी) का नन्दा चपाईं (कर्णाली), सिंगबहादुर विश्वकर्मा (बागमती) पनि आफ्नो कार्यकाल सकाएर विदा हुने अवस्थामा पुगेका छन् । यस्तै, जसपाकी प्रमिलाकुमारी यादव (मधेश प्रदेश) को कार्यकाल पनि सकिँदै छ ।

यता, बागमती प्रदेशबाट दलीय रुपमा नभई स्वतन्त्र रुपमा निर्वाचित खिमलाल देवकोटाको पनि कार्यकाल सकिने भएको छ । राष्ट्रियसभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानूनी व्यवस्था अनुरुप हिजो विहीबार निर्वाचन भई निर्वाचन परिणाम पनि आएको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *