अध्यक्ष बन्न सिटौलालाई ढोका खुल्यो

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर/ राष्ट्रियसभाको आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हिजो बिहीबार भएको निर्वाचनको परिणाम आएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरुले विजयको माला पहिरिए पनि कोशी प्रदेशको महिलामा भने गठबन्धनबाट उम्मेदवार बनेकी चम्पा कार्की पराजित भएकी छिन् । निर्वाचनमा महिलातर्फ नेकपा (एमाले) का रुक्मिणी कोइराला विजयी भएकी हुन् । कोइरालाले ५,०८६ मत पाइन् भने माओवादी केन्द्रकी कार्कीले ४,९९२ मत मात्र पाइन् । कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि तथा तीनजना प्रदेश सांसदले फलोर क्रस गरेर एमालेका उम्मेदवारलाई मत दिंदा कार्की पराजित भएकी हुन् ।
माओवादी केन्द्रका उम्मेदवारको पराजय तथा प्रदेश सांसदहरुको मत गन्दा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला पनि राप्रपाका उद्धव पौडेलभन्दा पछि परेका थिए । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा पौडेलले ४७ सांसदको मत पाएका थिए । स्थानीय तहतर्फ भने सिटौलाले सोचेअनुसार मत पाएका उनले जित निकाल्न सफल भएका हुन् । स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा पौडेलले १०९ जनाको मात्रै मत पाए । एमालेका पर्शुराम अधिकारीको उम्मेदवारी निस्कृय पारिएको भनिए पनि उनले स्थानीय तहबाट पाँचजनाको तथा प्रदेशतर्फ एकजनाको मत पाएका थिए । नतिजाअनुसार विजयी सिटौलाले कुल ५,२९२ मतभार प्राप्त गरे भने पौडेलले ४,५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे । सिटौलालाई गठबन्धनले राष्ट्रियसभाको अध्यक्ष बनाउने उद्देश्यका साथ उठाएको थियो ।
यसैगरी बागमती प्रदेशमा महिला कोटातर्फ नेपाली कांग्रेसकी विष्णुकुमारी पुडासैनीले जित हात पारेकी छिन् । पुडासैनीले ६,६२२ मतभार पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रोचकुमारी चौलागाईंले २,५५२ मत ल्याएकी थिइन् । बागमतीमा दलिततर्फ नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल विजयी भएका छन् । रिजालले ६,५१२ मतभारसहित विजयको माला पहिरिएको निर्वाचन आयोगले जनाएको छ । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धु्रवराज वि.क.ले ३,०५२ मत प्राप्त गरे ।
सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भए । महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्द ४,४५३ मत ल्याउँदै विजयी भइन् । अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट ४,४१९ मतसहित निर्वाचित भए भने अन्यतर्फ काङ्ग्रेसकै बलदेव बोहरा विजयी भए ।
उता, लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मतपरिणामअनुसार महिला क्लस्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भए । एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।
यस्तै गण्डकी प्रदेशमा अन्य क्लष्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ विजयी भए । उनले ३,८०८ मतभार पाएर विजयी भए । एमालेका चक्रबहादुर पराजुलीले २,४७७ मतभार पाए ।
मधेश प्रदेशको निर्वाचनमा विशेष चासो दिइएको थियो । मधेश प्रदेशमा गठबन्धनका तर्फबाट पहाडी समुदायका उम्मेदवार रहेका कारण मत परिणाम कस्तो आउला भनी चासो थियो । त्यहाँका मतदाताले जातीय सद्भावलाई कायम राखी जातिवादभन्दा माथि उठेर गठबन्धनका उम्मेदवारलाई विजयी बनाए । कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जसपाका पुजा चौधरी विजयी भएका हुन् । ढुंगानाले ७,३७० र चौधरी ७,९२३ मतसहित विजयी भएका हुन् । त्यस्तै एमालेका उम्मेदवारले २,४८४ मत पाए ।
यस्तै, गण्डकी प्रदेशमा अपाङ्गता क्लष्टरमा कांग्रेसका पदमबहादुर परियार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनबाट उनले ३,७,७४ मतभार पाए । महिला क्लष्टरमा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएन् । उनले ३,६६० मतभार पाएर विजयी भएकी हुन् । एमालेकी सम्झना देवकोटाले २,५५३ मतभार पाइन् । एमालेका हेमचन्द्र शेरचनले २,४५८ मतभार पाए ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *