आन्तरिक राजश्व र एयरपोर्टका प्रमुख फेरिए

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ अर्थमन्त्री प्रकाशशरण महतले आन्तरिक राजश्व विभागका महानिर्देशक र त्रिभुवन विमानस्थल भन्सार प्रमुखसहित केही सहसचिवहरु परिवर्तन गरेका छन् ।
गत हप्ता गरिएको परिवर्तनमा आन्तरिक राजश्व विभागको महानिर्देशकमा भुपाल बराल र एयरपोर्ट भन्सार प्रमुखमा सेवन्तक पोख्रेल रहेका छन् । विभागका दीर्घराज मैनालीलाई तात्कालिन अर्थमन्त्री जनार्दन शर्माले गत २०७९ मंसिर १५ गते विभागको महानिर्देशक बनाएका थिए । मैनाली १४ महिने कार्यकालमा विभागले राजश्व संकलनमा फड्को मारेको आन्तरिक राजश्व विभागका जानकारहरुले बताएका छन् ।
यसैगरी अर्थमन्त्री महतकै पालामा सुन तस्करी रोक्न एयरपोर्ट भन्सार लगिएका डा. टोकराज पाण्डेको कार्यकालमा सुन तस्करी नियन्त्रण हुन नसकेपछि उनको सरुवा मन्त्रालयको प्रशासन प्रमुखमा भएको छ । एयरपोर्ट भन्सारमा भन्सार विभागका उपमहानिर्देशक सेवन्तक पोख्रेललाई पठाइएको छ । पोख्रेल तस्करीको लाइन सेटिङ गर्न र कम्बल ओढेर घ्यू खान सिपालु रहेको सम्बद्ध सूत्रले बताएको छ ।
आन्तरिक राजश्व विभागका महानिर्देशक मैनालीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख बनाइएको छ । हाल आन्तरिक राजश्व विभागको महानिर्देशक बनेका बराल राजश्व अनुसन्धान विभागको महानिर्देशक भैसकेका व्यक्ति मात्र नभै राजश्वका जानकार पनि हुन् । ३ नम्बर राजश्व कार्यालय, अर्थ मन्त्रालयको राजश्व महाशाखा प्रमुख, मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा काम गरेका अनुभवी सहसचिव हुन् । अर्थतन्त्र लयमा फर्केको बखान गर्ने अर्थमन्त्रीले जिम्मेवारी सुम्पिएर पठाइएका बरालले राजश्व उठाउन कति सफल हुन्छन् त्यो भविष्यले बताउने स्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *