समुदायमा काँग्रेस अभियान रोकियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जनताको समस्या बुझ्न भन्दै गत माघ १६ गते बाट शुरु भएको समुदायमा काँग्रेस अभियान रोकिएको छ । गाउँगाउँमा पुगेर आम नागरिकका कुरा एवं गुनासो र समस्या सुन्ने अनि नागरिकका धारणा लिएर पार्टीले नीति बनाउने हिसाबले काँग्रेसले यो अभियान चलिरहेको अवस्थामा कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको मंगलबार भएको असामयिक निधनका कारण अभियान रोकिएको समाचार स्रोतले जानकारी दिएको छ । पूर्वनिर्धारित अवस्थामा चलेको भए आज शुक्रबार यो अभियानको समापन गरिने कार्यक्रम बनाइएको थियो ।
आगामी फागुन ७–९ गतेसम्म हुने काँग्रेसको महासमिति बैठकमा समुदायमा काँग्रेस अभियानमा जनताले गरेका गुनासा र समस्याका पोको फुकाइने बताइएको छ । आगामी महासमिति बैठकका लागि काँग्रेसले आठवटा उपसमिति गरेको छ । महासमिति बैठक मूल तयारी समितिका संयोजकका अनुसार प्रचार–प्रसार उपसमितिमा मीनबहादुर विश्वकर्मा, आवास समन्वयमा मदनबहादुर अमात्य, भोजन व्यवस्थापनमा उदय शमशेर राणा, स्वयंसेवक परिचालनमा जीतजंग बस्नेतलाई चयन गरिएको छ । यसैगरी स्वास्थ्य समन्वयमा उर्मिला नेपाल के.सी., प्रदेश समन्वयमा इन्द्रबहादुर बानियाँ र स्थानीय व्यवस्थापनको जिम्मा ललितपुर काँग्रेसका जिल्ला सभापति जितेन्द्र श्रेष्ठलाई दिइएको काँग्रेस श्रोतले बताएको छ ।
काँग्रेसमा महाधिवेशनपछि महासमिति शक्तिशाली मानिन्छ । काँग्रेसले अझै पनि यथास्थितिवादी मै विश्वास गर्ने गरेकोेले पार्टी परिवर्तनकारी र रुपान्तरणतर्फ अघि बढन नसक्दा संगठनमा विश्वास राख्नेहरु अन्य नयाँ पार्टीतर्फ आकर्षित हुन थालेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *