सचिव फेर्न ‘रेकर्ड’ राख्ने मन्त्रीहरु

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । निजामती प्रशासनको स्थायी मानिने सचिव पदलाई सरकारमा रहेका मन्त्रीहरुले नै हल्का बनाएका छन् । मन्त्रीहरुले आफ्नो स्वार्थ अनुकूल काम नगर्ने सचिवहरुलाई वर्ष दिनमा पटक पटक सरुवा गरेर सचिव पदलाई हल्का बनाउने गरेका हुन् ।
सचिव फेर्न रेकर्ड कायम गरेका मन्त्रीहरुमा अर्थमन्त्री प्रकाश शरण महत, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती, संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा र शहरी विकाश मन्त्री सीता गुरुङ्ग रहेका छन् ।
एक वर्षको बीचमा अर्थमन्त्री महतले तीन जना सचिव परिवर्तन गरिसकेका छन् । महत अर्थमन्त्री बन्दा अर्थसचिवमा तोयम राय कार्यरत थिए । महतले रायलाई हटाएर अर्जुन पोख्रेललाई अर्थ मन्त्रालयमा भित्र्याएका थिए । सचिव पोख्रेललाई पाँच महिनैमा हटाएर काँग्रेस नेतृ डा. आरजु राणाको दबाबमा डा. कृष्णहरि पुष्कर कर्णलाई अर्थ सचिवमा भित्र्याए पनि मुलुकमा अर्थतन्त्रले काँचुली फेर्नुको सट्टा झन भयावह बनेको छ ।
अर्थ सचिव पुष्करको नामको अगाडि डा. झुन्ड्याइए पनि उनी अर्थ सम्बन्धि जानकार छैनन् । शक्ति केन्द्रको आशीर्वादमा लाए अह्राएको काम गर्ने उट्पटाङ सचिव भनी उनको विषयमा चर्चा चल्ने गरेको समाचार श्रोतले बताएको छ ।
यसैगरी काँग्रेसबाट शहरी विकासमन्त्री बनेकी सीता गुरुङ पनि सचिव परिवर्तन गरेर स्वार्थ पूरा गर्नेमा रेकर्ड कायम गरेकी छन् । त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले पनि १० महिनाको अवधिमा दुईजना सचिव परिवर्तन गरेर चर्चित बनेका छन् । चार महिना अगाडि पर्यटन सचिव बनेका भरतमणि सुवेदीलाई सेवा, सत्कार नपुगेको निहुँमा अन्यायपूर्वक सरुवा गरी कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्लेलाई मन्त्रालयमा भित्र्याए आफ्नो स्वार्थ पूरा गरेको जानकारहरुले बताएका छन् । संचार तथा सूचना मन्त्री रेखा शर्मा र जलश्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेतको पनि सचिव फेर्ने सूचीमा नाम चढेको समाचार श्रोतले जानकारी दिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *