बच्चामा नकारात्मक प्रभाव अभिभावकको बानी

Nayabimarsha (Weekly Newspaper from Nepal)

अभिभावकले आफ्ना सन्तानले कहिले पनि दुःख नपाउन्, सधैं खुशी रहुन् भन्ने चाहना राख्छन् । यो स्वाभाविक पनि हो । आफ्ना सन्तानले दुःख पाएको, उनीहरुको आँखाबाट आँसु झरेको कसले पो चाहन्छ र ? अभिभावकका कतिपय कार्य वा बानीले गर्दा बालबालिकामा नकारात्मक प्रभाव पनि पर्ने गर्दछ ।
बालबालिकालाई आवश्यकताभन्दा धेरै माया देखाउनुलाई पनि अभिभावकको गलत बानीको रुपमा लिने गरिन्छ । लेबनानी कवि तथा लेखक खलिल जिब्रानको एउटा प्रख्यात भनाइ छ, ‘सन्तान तपाईंको माध्यमबाट संसारमा आउँछन्, तर तिनीहरु तपाईंका होइनन्, संसारका सन्तान हुन् । त्यसैले अभिभावकले सन्तानलाई माया गर्नुपर्छ तर माया गर्नुको पनि सीमा हुनुपर्छ ।’ जस्तै– बच्चा हिंड्न नसक्ने, आफैं खान नसक्ने भएसम्म अभिभावकले गर्नुपर्छ । बच्चा सक्षम भइरहेपछि पनि आफ्नो बच्चा भनेर जहिले काखमा लिइराख्ने, आफैंले खाना खुवाउने, लुगा लगाइदिने, हरेक समय बच्चासँगै बस्ने गर्नुहुँदैन । अभिभावकको नजरमा त्यो माया हुनसक्छ तर बच्चालाई अभिभावक देखेर रिस उठ्न सक्छ । बच्चाको नजरमा यस्ता अभिभावक खलनायक हुन्छन् ।
त्यसैले बच्चाले आफ्नो हेरचाह गर्न सक्षम भएपछि उसलाई साथीहरुसँग घुलमिल हुन दिनुपर्छ । यसले बच्चाको शारीरिक तथा मानसिक विकास राम्रो हुन्छ ।
बाहिरको रिस बालबालिकामा पोख्ने बानी अभिभावकले देखाएमा त्यसले पनि नकारात्मक असर गर्ने देखिन्छ । कोही अभिभावक बच्चालाई आवश्यकताभन्दा धेरै माया गर्ने गर्छन् भने कोही अभिभावक बाहिर अरुको रिस घरमा आएर बच्चामा पोख्ने गर्छन् । यस्तो व्यवहार गर्ने अभिभावकप्रति बच्चाको मनमा मान सम्मानको सट्टा डर, घृणा र रिस उत्पन्न हुन्छ । उनीहरु असुरक्षित महसुस गर्छन् । यस्ता नकारात्मक सोचले बच्चा र अभिभावकको सम्बन्ध बिग्रिंदै जानुका साथै उनीहरुको वृद्धि विकासमा पनि नकारात्मक असर पर्छ । घरमा यस्तो व्यवहार देखाउने अभिभावकलाई नराम्रो मान्छन् ।
बच्चालाई आफूमा अत्यधिक निर्भर बनाउँदा पनि त्यसले नकारात्मक असर गर्ने बताइन्छ । संसारका हरेक प्राणीको आधारभूत लक्ष्य बच्चालाई जतिसक्दो चाँडो आत्मनिर्भर बनाउने हो, तर भावनाका कारण मानिसले ढिलाइ गर्छन् । कोही अभिभावक आफ्ना बच्चालाई लामो समयसम्म नियन्त्रणमा राख्न खोज्छन् । यसले बच्चा स–साना कुरामा अभिभावकप्रति निर्भर हुन्छ । जस्तै– के खाने, के नखाने, कसलाई साथी बनाउने ? यी कुरामा अभिभावकले भन्दा पनि बच्चाहरु आफैंलाई निर्णय लिन प्रोत्साहन गर्नुपर्छ । बरु उसको कुरा राम्रोसँग सुन्ने र केही प्रश्न गरेको अवस्थामा सुझाव दिने गर्नुपर्छ । यसो गर्नाले उनीहरुको आत्मविश्वास बढ्दै जाने र निर्णय लिने क्षमताको विकास हुँदै जान्छ ।
अन्य बच्चासँग तुलना गर्ने बानी धेरै अभिभावकहरुको हुन्छ । यस्तो गरियो भने बालबालिकामा त्यसले नकारात्मक असर वा प्रभाव पार्ने देखिन्छ । एकअर्कासँग तुलना गर्नु मानवीय स्वभाव हो । धेरैजसो हामी अरुको तुलना गरेर नै अगाडि बढ्न प्रेरणा लिइरहेका हुन्छौं । कहिलेकाहीं हरेक समय तुलना गर्ने बानीले बच्चाको दिमागमा नकारात्मक सोच उत्पन्न हुनसक्छ । वास्तवमा, आफ्नो बच्चालाई अन्य बच्चासँग तुलना गरेर उसलाई अनावश्यक अप्रत्यक्ष दबाब दिने गरेको देखिन्छ । उसलाई अरु जस्तै बन्न अप्रत्यक्ष दबाब दिंदा बच्चाले आफूलाई अरुभन्दा कम ठान्न थाल्छ । भविष्यमा आफ्नो करिअरमा असफल भएमा त्यसको दोष अभिभावकलाई दिन सक्छन् ।
बच्चासँग कम बोल्ने बानी अभिभावकको छ भने पनि त्यसले नकारात्मक प्रभाव पार्ने गर्दछ । अभिभावकहरु बच्चालाई चाहिने सबैथोक भन्नेबित्तिकै ल्याइदिएकै छ, अरु के चाहियो र भन्ने सोच्छन् । चाहेको सामान किनिदिन्छन् तर उनीहरुसँग कुरा गर्ने, उनीहरुको विद्यालयमा के भइरहेको छ ? रुचि केमा छ ? के मन पर्छ वा के मन पर्दैन ? भनेर बुझ्न वा जान्न कोसिस गर्दैनन् जुन एकदम गलत बानी हो । त्यसैले भनेको चीज सामान पु¥याएको छ भन्दैमा राम्रो अभिभावक हुँदैनन् ।
बच्चाको अगाडि बसेर फोन चलाउने बानीले पनि बच्चाहरुमा नकारात्मक असर पारिरहेको अध्ययनले देखाएको छ । अभिभावकहरु बच्चालाई विद्यालयबाट आउनेबित्तिकै गृहकार्य गर, पढ बस् भन्छन् । अभिभावक भने उनीहरुकै अगाडि बसेर मज्जाले मोबाइलमा रिल हेर्ने, टिकटकमा भिडियो हेरेर बस्ने वा भिडियो बनाएर बस्ने गर्छन् । यसले बच्चाहरुले आफ्नो अस्तित्व नै नभएको महसुस गर्ने गर्छन् । अभिभावकप्रति आदर र मानसम्मान गर्दैनन् । त्यसैले अभिभावक आफैं रोल मोडल हुनका लागि बच्चालाई होमवर्क वा पढ्न बस्ने बेला आफूले मोबाइल नचलाइकन उनीसँग समय बिताउनुपर्छ । (एजेन्सीको सहयोगमा)

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *