प्रसाईको महाअभियानमा को को ?

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को कार्यक्रममा कस कसको सहभागिता होला भनी अहिले सर्वत्रबाट चासो व्यक्त गरिएको छ । मंगलबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा तात्कालिन राजा ज्ञानेन्द्र शाह तथा राप्रपाको सहभागिता नभएपछि अबका दिनमा भित्री रुपमा कस कसले साथ दिने हुन् भनी चासो झनै बढेको छ ।
उक्त कार्यक्रममा प्रसाईंले ‘राजा’ ज्ञानेन्द्र शाहका साथै राजावादी दल भनी चिनिएको राप्रपालाई निम्ता दिए पनि उनीहरुको संस्थागत सहभागिता भने भएन । ‘राजा’ ज्ञानेन्द्रको संवाद सचिवालयले ‘राजा’ ज्ञानेन्द्र चितवनको विभिन्न धार्मिक स्थलको भ्रमणका साथसाथै शुभेच्छुकहरूसँग भेटघाटमा व्यस्त रहेकाले आउन नमिल्ने भनी जानकारी दिएको पनि समाचार स्रोतले जनाएको छ ।
राजतन्त्र फर्काउनका लागि फागुन १ मा कार्यक्रम गरेर आन्दोलन गर्ने भनेर प्रसाईले राप्रपाका नेताहरुसँग समर्थक जुटाउने प्रयास गरेका थिए । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर उनले समर्थन खोजे पनि लिङ्देनले संस्थागत सहभागिताका लागि अस्वीकार गरेका बताइएको छ ।
अहिलेकै अवस्थामा राप्रपाको संस्थागत सहभागिता नरहे पनि राजतन्त्र फर्काउने आन्दोलनमा नैतिक समर्थन भने रहने भनी लिङ्देनले प्रसाईलाई भनेको भनी समाचार स्रोतले दाबी गरेको छ ।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भने प्रसाईंका पछिल्ला गतिविधिलाई सकारात्मक रुपमा लिएको टिप्पणी गर्दै आएका छन् ।
केही हिन्दुवादी संघ–संगठन र राप्रपाकै केही नेताहरुले पनि व्यक्तिगत रुपमा प्रसाईंलाई सघाउने स्रोतको दाबी छ । मिटरब्याज र लघुवित्त पीडितको मुद्दा पनि प्रसाईले उठाउँदै आएकाले पछिल्लो समय उनी लोकप्रीय बन्दै गएका छन् ।
यसैबीच, अभियन्ता प्रसाईले आफ्नो महाअभियानले आफ्नो लक्ष्यप्राप्ति गरेरै छाड्ने विश्वास व्यक्त गर्दै आएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *