अरुण तेस्रोलाई रकम जुटाउँदै भारत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं । भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले नेपालमा सञ्चालन हुने अरुण तेस्रो जलविद्युत परियोजनाका लागि थप रकम जुटाउन लागेको पाइएको छ । यस परियोजनालाई मूर्त रुप दिन ६३ अर्ब ३३ करोड भारतीय रुपियाँ बराबरको लगानीका लागि उसले बैंकहरुसँग सम्झौता गरेको छ ।

यसका लागि एसजेभीएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीले भारत र नेपालका विभिन्न बैंकसँग ऋण सम्झौता गरेको बताइएको छ । यसका लागि एसबीआई इन्डिया र पीएसबीको नेतृत्वमा कन्सोर्टियममा एक्जिम बैंक, केनरा, यूबीआई र नेपालका एभरेस्ट बैंक, नबिल बैंकले लगानी गर्न लागेका बताइएको छ ।

वित्तीय वर्ष २०२३÷२४ भित्र नेपालमा नौ सय मेगावाटको अरुण–३ जलविद्युत् परियोजना निर्माण गरिसक्ने योजनाका साथ कार्य अघि बढाइएको बताइएको छ । यसका लागि भारत सरकारले बजेटबाट नै रकम छुट्याएर खर्च गर्दै आएको छ । सन् २०११ मा एक खर्ब चार अर्ब लागत अनुमान गरिएको थियो । पछि यसको लागत बढेर एक खर्ब १६ अर्ब पुग्ने अनुमान गरिएको छ ।

नेपाल सरकारले २०७१ साल मंसिर ९ गते परियोजना विकास सम्झौता (पीडीए) गरी यसको जिम्मेवारी सतलजलाई दिएको हो । नेपाल र भारतका प्रधानमन्त्रीले २०७५ बैशाख २९ गते नयाँदिल्लीमा स्विच थिचेर परियोजनाको संयुक्त शुभारम्भ गरेका थिए ।

यो आयोजनाबाट नेपालले २५ वर्षमा तीन खर्ब ४८ अर्ब रुपियाँ राजश्व पाउने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *