काँग्रेस सरकारमा हुँदा मात्तियो, अहिले आत्तियो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / नेपाली काँग्रेस सरकारमा हुँदा ‘भूँइमा न भाँडामा’ भएर मात्तिएको थियो । काँग्रेसका मन्त्रीहरुलाई भेट्न सगरमाथाको चुचुरोमा पुग्नुजस्तै हुन्थ्यो । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा काँग्रेसबाट नौजना मन्त्री बनेका थिए ।
तीमध्ये अर्थमन्त्री प्रकाशशरण महत, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री धनराज गुरुङलाई फोन गर्दा नउठाउने र भेट्न जाँदा नभेट्ने गुनासो कार्यकर्ताहरुले गरेका छन् । उपरोक्त मन्त्रीहरुलाई २०८४ सम्म नै मन्त्री पदमा टिकिरहने भ्रम र सत्ता उन्मानले ग्रस्त बनाएको थियो ।
गत फागुन २१ गतेको सत्ता समीकरण परिवर्तन भएपछि भने यी मन्त्रीहरु भएकाहरु सिंहदरबारमा छ्यापछ्याप्ती भेटिन थालेका छन् । अहिले यी मन्त्रीहरुलाई ‘जय नेपाल मन्त्रीज्यू’ भन्ने कार्यकर्ता चाहिएको छ । काम गर्न त कुरै छाडौं भेट्न समेत गाह्रो मान्ने यी सकुनी (जसले गठबन्धन भत्काउन भूमिका निर्वाह गरे) हरुलाई अहिले कार्यकर्ताले देखे पनि नदेखेझैं गर्न थालेका छन् । ‘काँग्रेस भ्रष्ट र भष्मासुरहरुको पार्टी हो, काँग्रेसले जनतालाई हेर्दैन’ भन्ने भाष्य महत, खड्का, बस्नेत र गुरुङ सत्तामा हुँदा पुष्टी भएको छ ।
यतिबेला समीकरण परिवर्तन भएपछि उपप्रधान तथा गृहमन्त्री बनेका रास्वपाका सभापति रवि लामिछाने खरो रुपमा उत्रिएर ‘एक्सन’ लिन थालेपछि काँग्रेसले विनाकारण आफ्ना विगतका कर्तुतहरु चटक्क विर्सिएर प्रतिशोध राख्दै संसद अवरुद्ध र गृहमन्त्रीको राजीनामा माग गरिरहेको छ । सुनकाण्डमा पक्राउ परेका माओवादी नेता कृष्णबहादुर महराको जस्तै हुने हो कि भन्ने मनको बाघले काँग्रेसलाई खाएको छ ।
त्यसैले यो पाँचदलीय गठबन्धनको सरकार भत्काउन मन्त्रीबाट मुक्त भएकाहरु भित्रभित्रै भ्यागुताको धार्नी पु¥याउने कसरतमा लागेको काँग्रेसका जानकारहरुले बताएका छन् । काँग्रेसका दोश्रो तहका नेताहरु अहिले काँग्रेस र एमालेको सरकार बनाउने कसरतमा पनि लागेको खबर प्राप्त भएको छ ।
सरकार जसको बने पनि काँग्रेस फेरी सत्तामा गए पनि नगए पनि मात्तिने र सत्ता बाहिर हुँदा आकाशै खस्न लागेझैं आत्तिने प्रवृत्ति ठीक नभएको राजनीतक वृत्तमा चर्चा चलेको छ । यस्तै अवस्था रहे काँग्रेस ‘कोल्याप्स’ हुन बेर छैन ।
आफैं संलग्न सत्ता ढाल्न लागिरहेको पनि थाहा नपाउने काँग्रेस सत्ता जोगाउन नसक्ने काँग्रेस अनि सत्ता बाहिर हुँदा पानी विनाको माछा जस्तो बन्ने काँग्रेस धैर्यपूर्वक प्रतिपक्षमा बस्न नसक्ने काँग्रेस ‘भूँइको टिप्न खोज्दा पोल्टाको गुमाएको’ काँग्रेसप्रति जनताको आशा र विश्वास एवं भरोसा टुटे काँग्रेसको अवस्था के होला ? भन्ने व्यापक चर्चा परिचर्चा र बहस चल्न थालेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *