काभ्रेमा बानियाँको दमदार भाषण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काभ्रेपलाञ्चोक/ नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले अहिलेको मिश्रित निर्वाचन प्रणाली अस्थिरताको प्रमुख कारकका रुपमा रहेको धारणा राखेका छन् । बुधबार काभ्रेपलाञ्चोक जिल्लाको नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिले आयोजना गरेको नगर सम्मेलनलाई सम्बोधन गर्दै बानियाँले त्यस्तो धारणा राखेका हुन् ।
उनले प्रतिनिधिसभाको मिश्रित निर्वाचन प्रणाली हटाएर प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने बताए । संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार गर्न आग्रह गर्दै उनले भने, ‘हामीले इमान्दारिता देखाउँदै आएको हो । माओवादी पार्टीमा इमान्दारिता रहेन । त्यस कारण प्रदेश र संघमा कांग्रेस सरकारमा सहभागी हुन सकेन ।’ कांग्रेसलाई मत दिनेहरूले एक्लै निर्वाचन जित्न संगठन निर्माण गर्नुपर्छ भन्ने सुझाव दिइरहेको सभापति बानियाँले बताए । उनले भने, ‘नयाँ दलहरूले धेरै ठूला ठूला कुरा गरेका छन् । हिजो टिभीमा बोल्दा बोल्दै टिभी छोडेर आज दल खोलेर भूगोलमा केही सिट ६ वटा जितेका थिए । तनहुँमा थपेर ७ वटा भए’, भन्दै उनले, ‘समानुपातिक प्रक्रियाले १४ वटा सिट लिएर २१ भएकाहरु अहिले ठूला कुरा गरिरहेका छन् ।’
बानियाँले ‘भरखर उम्लिएको पार्टीले कांग्रेसलाई २०८४ को धम्की नदिए हुन्छ । कांग्रेस संविधान संशोधन गर्न तयार छ’, भन्दै उनले भने, ‘संविधान संशोधन गरेर मिश्रित निर्वाचन प्रणाली हटाऔँ । मिश्रित निर्वाचन प्रणाली नै अस्थिरताको जग हो । प्रत्यक्ष निर्वाचन प्रणाली गरौँ ।’ भने ।
बानियाँले ‘हामीभित्रको आन्तरिक कमीकमजोरी छ । हामीभित्र केही न केही सुधार गर्नुपर्नेछ । शुद्धीकरण गर्नुपर्नेछ । आफूले टिकट पाए ठीक, नपाए बेठीक भन्ने कांग्रेसका नेताहरुले त्यो चेतबाट माथि उठी जसले पाए पनि आफूले पाएको जस्तो गरी खट्ने हो भने कांग्रेसको विजयलाई कसैले रोक्न नसक्ने अवस्था छ ।’ भन्दै उनले ‘आज एउटा सामान्य नागरिक भए दुइटा नागरिकतामा जेल जानुपर्छ । दुइटा राहदानीमा जेल जानुपर्छ । एमाले र माओवादीलाई सत्तामा बहुमत चाहिएको थियो । दुइटा नागरिकता, दुइटा राहदानी भएको व्यक्तिसँग अहिले सरकारलाई बहुमत चाहिएको कारणले कानूनी सजाय भोग्न नपर्ने ? कम्युनिस्टको यो खुलेआम राजनीतिक गुण्डागर्दी चलेको छ’ भन्ने धारणा उनले राखे ।
‘कांग्रेसले संसदीय छानविन समिति माग गरिरहेको छ । रवि लामिछानेले संसदीय छानविन समिति बनाउन किन रोक्ने ? प्रधानमन्त्री, गृहमन्त्री, आइजीपी, न्यायाधीश बन्ने हो भने यो देशको न्याय कहाँ जान्छ ? गल्ती गर्नेहरू कांग्रेसकै भए पनि जेल जान्छन् ।’ भन्दै मण्डनदेउपुरका स्रोतको आँङ जिरिङ्ग पार्ने गरी भाषण गरेका बानियाँले कांग्रेसलाई लोकतन्त्र र संसदीय मर्यादाका बारेमा कसैले नपढाए हुन्छ भन्ने धारणा राखेका थिए ।
नेपाली कांग्रेस मण्डनदेउपुर नगर कार्यसमितिद्वारा आयोजित नगर सम्मेलनमा नगर सभापति कश्यप पौडेल, कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे, बागमती प्रदेशका सदस्यहरू गणेश फुयाल, प्रज्वल दवाडीको सक्रियता थियो । यसैगरी नेता विष्णुमणि नेपाल, रामेश्वर ढकाल, कमल लामा, पुरुषोत्तम ठकुरीलगायत नेता–कार्यकर्ताको ठूलो उपस्थिति रहेको थियो ।
नगरस्तरिय कार्यक्रम भएकाले सो कार्यक्रममा केन्द्रीय स्तरका नेताहरुलाई समावेश नगराइएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *