दोलखामा कांग्रेसको प्रशिक्षण

Nayabimarsha (Weekly Newspaper from Nepal)

चरिकोट/ नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको आयोजनामा आज शुक्रबार दोलखाको चरिकोटमा ‘बागमती प्रदेश पार्टी र जनप्रतिनिधि विषयक प्रशिक्षण कार्यक्रम’ हुने भएको छ । दोलखा कांग्रेसको व्यवस्थापनमा सो कार्यक्रम हुन लागेको हो ।
सो कार्यक्रमको उद्घाटन कांग्रेसका उपसभापति एवम् केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले गर्ने बताइएको छ । यसैगरी बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ विशिष्ठ अतिथिका रुपमा रहने कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागको प्रमुख चन्द्र महर्जनले जानकारी दिए । आज शुक्रबार दिउँसो २ बजे उद्घाटन हुने तथा भोलि शनिबार साँझ साढे ७ बजे समापन हुने गरी कार्यक्रम राखिएको विभागका सदस्य सचिव रामेश्वर ढकाल बताउँछन् ।
बागमती प्रदेशमा कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्यहरु ३७ जना सहभागी हुने बताइएको छ । यसैगरी जिल्ला समन्वय समितिका प्रमुख÷उपप्रमुख गरी १० जना तथा स्थानीय पालिकाका प्रमुख÷अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्ष गरी एक सय सातजनाको सहभागिता रहने अपेक्षा गरिएको प्रशिक्षण शाखा दोलखाका प्रमुख अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिए । उनीहरुलाई दलको नीतिका विषयमा थप प्रशिक्षण दिने उद्देश्यका साथ कार्यक्रम गर्ने तयारीमा दोलखा कांग्रेस जुटेको बताइएको छ ।
उक्त कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यहरु, बागमती प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समितिका पदाधिकारीहरु तथा स्थानीय निकायका जनप्रतिनिधिहरुका अतिरिक्त बागमती प्रदेश अन्तर्गतका कांग्रेसका सभापतिहरु पनि दोलखामा जम्मा हुने भएका हुन् । सो कार्यक्रममा सहभागिता जनाउन उपसभापति पूर्णबहादुर खड्का उत्साहका साथ यहाँ विहीबार नै आइपुगेको बताइएको छ ।
जनप्रतिनिधिहरुलाई डा.सुरेश आचार्य, प्राध्यापक कृष्ण खनाल, पुष्पा भुसाल, विनोद चौधरी, डा.बुद्धिमान श्रेष्ठ, डा.कृष्णप्रसाद पौडेल र डा.खिमलाल देवकोटाले प्रशिक्षण दिने आयोजकले जानकारी दिएको छ । सम्पूर्ण तयारी भैसकेको दोलखा कांग्रेसका सभापति वर्मा लामाले जानकारी दिएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *