ललितपुर/ गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको माग गर्दै संसदमा अवरोध गर्दै आएको नेपाली कांग्रेसले अब सडक आन्दोलन पनि गर्ने भएको छ ।
कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारविरुद्ध सडक प्रदर्शनीलाई अघि बढाउने निर्णय गरेको कांग्रेसले जनाएको छ । सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेको संलग्नताका विषयमा छानविनका लागि संसदीय समिति गठन गर्ने मागमा सरकार गम्भीर नभएको ठहर कांग्रेसले गर्दै अब सडक समेत तताउने भएको हो ।
सोही निर्णय अनुसार कांग्रेसले आइतबार काठमाडौंमा सडक प्रदर्शनी गर्ने भनी कार्यक्रम सार्वजनिक गरेको छ । यसैगरी गृहमन्त्री लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध, सहकारीका बचतकर्ताको वचत फिर्ता, गिरीबन्धु टी इस्टेटको जग्गा घोटाला लगायतका विषय उठाएर सडक प्रदर्शनी गर्ने भएको हो ।
महामन्त्री गगनकुमार थापाले कांग्रेसले संसदमा खेलिरहेको भूमिका र संसदीय दलमा भएका छलफलका बारेमा जानकारी बैठकमा गराएका थिए । आइतबार काठमाडौंमा विरोध प्रदर्शनपछि सडक आन्दोलनलाई प्रदेशस्तरमा पनि पु¥याउने कांग्रेसको तयारी छ ।
यसैबीच, कांग्रेसले विभिन्न सहकारीबाट करिब पाँच खर्ब रुपियाँ बराबर अपचलन भएको र मुलुकभरिका दर्जनभन्दा बढी ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको दुई खर्ब रुपियाँभन्दा बढी अपचलन गरेको भन्दै उनीहरूको बचत फिर्ता र सुरक्षाको सुनिश्चिततामा जोड दिएको छ ।
संसदमा उपप्रधान तथा गृहमन्त्रीले अशिष्ट, आपत्तिजनक, अपमानजनक र हिंस्रक अभिव्यक्ति दिएको पनि निष्कर्ष निकालेको छ । कांग्रेसले कांग्रेसका नेताहरूप्रति लक्षित गरी लामिछानेले दिएको अभिव्यक्तिका बारेमा प्रधानमन्त्रीको ध्यानाकर्षण सहित सरकारको धारणा माग गर्ने निर्णय पनि गरेको छ ।
कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिनु सरकारको बदनियत र प्रतिशोधपूर्ण कार्य भनी कांग्रेसको निर्णय गरेको छ । यस्तै बैठकले कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय कार्यसम्पादन समितिको सदस्यमा मनोनयन गर्न सभापतिले गरेको प्रस्ताव अनुमोदन पनि गरेको छ ।
शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, केन्द्रीय सदस्यहरू– कृष्णप्रसाद सिटौला, उमा रेग्मी, पुष्पा भुषाल, गोविन्द भट्टराई, कल्याणकुमार गुरुङ, देवेन्द्रराज कँडेल, रमेश लेखक, बहादुर सिंह लामा तामाङ, डा.गोपाल दहित, योगेन्द्र चौधरी, आङ्गेलु शेर्पा, अब्दुल रज्जाक, चन्द्रबहादुर के.सी., आरजु राणा देउवा, उमेशजंग रायमाझी, नैनसिंह महर, राजीव ढुङ्गाना, गोविन्दबहादुर शाह, रणबहादुर रावल, राजीवविक्रम शाहलगायतले धारणा राखेका थिए ।
कांग्रेसले अब सडक तताउने
Facebook Comments Box