समाज कल्याणलाई डिजिटाइजेशनमा लैजाने

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ / समाज कल्याण परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिइएको छ । परिषद्का अध्यक्ष समेत रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले परिषद्लाई डिजिटाइजेशनको प्रक्रियामा अगाडि बढाउन निर्देशन दिएकी हुन् ।
परिषद्का नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीको पदभार ग्रहण कार्यक्रमपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री चौधरीले डिजिटाइजेशनको महत्वका बारेमा बताएकी थिइन् । मन्त्रिपरिषद्ले माझीलाई उपाध्यक्ष नियुक्त गरेको बताउँदै मन्त्री चौधरीले आफ्नो कार्यकालमा केही नयाँ काम गरेर देखाउन परिषद्का पदाधिकारी तथा कर्मचारीलाई आग्रह गरिन् । परिषद्लाई डिजिटाइजेशन गर्नका निम्ति परिषद्को बोर्ड र कार्य समितिले निर्णय गरेको भन्दै त्यसलाई अगाडि बढाउन उनले निर्देशन दिइन् ।
कर्मचारीको वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन गरी बढुवाका लागि तत्काल प्रक्रिया अगाडि बढाउन उनले निर्देशन दिंदै छुट्टै कर्मचारी नियमावली ल्याएर पनि कर्मचारीहरूको व्यवस्थापन गर्न सकिने उनले बताइन् । मानव स्रोत व्यवस्थापन तोकेर कर्मचारी व्यवस्थापन गर्न आग्रह गर्दै उनले आवश्यक तालिम, कार्यशाला, गोष्ठीको व्यवस्थापन गर्न निर्देशन दिइन् ।
यसैबीच पदभार ग्रहण गर्दै नवनियुक्त उपाध्यक्ष नन्दलाल माझीले सबैको सहयोग भएमा परिषद्लाई नयाँ ढंगले लान सहज हुने धारणा राखे । यसैगरी परिषद्का कोषाध्यक्ष विनय लामाले संस्थाप्रति विश्वासको वातावरण तयार गर्नुपर्ने आवश्यकतालाई औंल्याए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *