काठमाडौं/ सत्ता स्वार्थमा केन्द्रित भएर गठन गरिएको समाजवादी मोर्चा अलपत्र परेको छ । नेपालको वामपन्थीहरुलाई एकत्रित गर्ने उद्देश्यले गठन गरिएको समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेकपा गरी चार दल आबद्ध भएका थिए ।
समाजवादी मोर्चामा एमालेलाई ल्याउन घनीभूत प्रयास गरे पनि अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले इन्कार गर्दै आइरहेका थिए । जतिबेला समाजवादी मोर्चा गठन गरिएको थियो त्यतिबेला नेकपा बाहेक बाँकी तीनवटै दल सत्तामा थिए र सत्ताको चास्नीमा डुबुल्की मारिरहेका थिए । मोर्चाको नेतृत्व नेकपा एसका अध्यक्ष माधवकुमार नेपालपछि अहिले नेकपा विप्लवले गरिरहेका छन् र आगामी संसदीय निर्वाचनमा भाग लिने समेत बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीमाथि जनता समाजवादी पार्टी फुटाएको आरोप लागेको छ । अहिले जसपा विभाजन भएपछि र नेकपा एसलाई पनि विभाजन गर्ने अध्यक्ष ओलीको सकृयता बढेपछि समाजवादी मोर्चाको औचित्य समाप्त भएको चर्चा हुन थालेको छ । अध्यक्ष नेपाल पार्टी विभाजन रोक्न र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विभाजन भएकाहरुलाई फकाउन केन्द्रित रहेको जानकारहरुले बताएका छन् ।
जसपाका अध्यक्ष अशोक राई नेतृत्व रहेका सातजना र नेकपा (एस) का ५–६ जनालाई विभिन्न प्रलोभनमा पारेपछि उनीहरु बालकोटतिर धाउन थालेका समाचार स्रोतले बताएको छ ।
यसैबीच जसपा र नेकपा एसबीच पार्टी एकता गर्ने पनि प्रयास भैरहेको जानकारहरुले बताएका छन् । जसपा र नेकपा एसबीच पार्टी एकता भए संसदमा चौथो शक्ति बन्नेछ । हाल संसदमा २१ सिटको रास्वपाले गृह, श्रम, शिक्षा र खेलकुद गरी चारवटा मन्त्रालय लिएर राइँदाइँ गरी रहेको छ ।
जसपा र नेकपा एस मिले नेकपा एमाले र माओवादी केन्द्रको सपना तुहिने राजनीतिक वृत्तमा चर्चा चलेको छ र समाजवादी मोर्चाले हावा खाने बताइएको छ ।
समाजवादी मोर्चाको अस्त्र कता हरायो ?
Facebook Comments Box