महामन्त्री थापाको ११ बुँदे निर्देशन

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली कांगेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसबाट निर्वाचित पालिकाका प्रमुख–उपप्रमुखलाई ११ बुँदे निर्देशन दिएका छन् । उनले दलसँग समन्वय गरेर वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न निर्देशन दिएका हुन् ।
कांग्रेसको स्थानीय कार्य समितिबाट जनप्रतिनिधिले समन्वय नगरेको गुनासोपछि महामन्त्री थापाले पालिका प्रमुख र उपप्रमुखलाई त्यस्तो निर्देशन गरेका बताइएको छ । स्थानीय कार्य समितिसँग अनिवार्य रूपमा समन्वय गरी मतदातासँग गरेको वाचा प्राथमिकतामा राखेर बजेट बनाउन पालिका प्रमुख र उपप्रमुखलाई गत जेठ ३२ मा निर्देशन पठाएको महामन्त्री थापाले जानकारी दिए ।
‘स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा स्थानीय दल कार्य समितिसँग समन्वय हुने नगरेको गुनासो आइरहेको छ । तसर्थ, यस पटक अनिवार्य रूपमा स्थानीय दल समितिसँग बैठक बसी नीति, योजना र कार्यक्रम, बजेटका प्राथमिकता र स्थानीय आवश्यकतालगायत विषयमा छलफल गरी ती विषयलाई नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न दलसँग आवश्यक समन्वय गर्नुहोला,’ भनी थापाद्वारा प्रेषित निर्देशनमा भनिएको छ ।
‘वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्दा पार्टीको सङ्कल्पपत्रमा उल्लेख गरिएका वाचा र तपाईंले निर्वाचनमा व्यक्त प्रतिबद्धतालाई विशेष ध्यान दिनुहोला,’ भनिएको निर्देशनमा बजेटका विषयलाई योजनाबद्ध रूपमा प्राथमिकीकरण गर्नु होला भनी भनिएको छ । यसैगरी बाँकी तीनवर्षे कार्यकालमा शिक्षा, स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार, उद्योग, कृषि, पर्यटन, उद्यमशीलता, रोजगारीलगायत क्षेत्रलाई समेटेर योजना बनाउन भनिएको छ ।
बजेटका प्रक्रियागत कानूनी व्यवस्थाअनुसार असार पहिलो साताभित्र नीति तथा कार्यक्रम पेस गर्न तथा असार १० गतेभित्र अनिवार्य रूपमा बजेट सभामा पेस गर्न उनीहरूलाई निर्देशन दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तरसरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको बजेटको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ भनिएको कुरा पनि स्मरण गराइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *