अनिवार्य र निःशुल्क शिक्षाको पालिका

Nayabimarsha (Weekly Newspaper from Nepal)

सम्पादकीय

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको नयाँ पहिचान जुरेको छ । उक्त पालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएपछि त्यस्तो पहिचान आएको हो । गाउँपालिका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बागमती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशकले उक्त घोषणा गरेका हुन् । उक्त गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणलाई आधार मानेर उक्त घोषणामा पुगिएको हो । छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएकाले त्यस्तो निर्णयमा पुग्न सहज भएको हो । पालिकाका सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा यसअघि नै भैसकेको थियो । रोशी गाउँपालिका अध्यक्ष लामाले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको भनी स्पष्ट पार्ने कार्य गरेका छन् ।
काभ्रेपलाञ्चोकको अलि दुर्गम पालिकाको रुपमा यो पालिका रहेको छ । यस्तो अवस्थामा पनि पालिकाले पहिले सबै वडामा उक्त कार्यक्रम सफल पार्न सक्नु राम्रो कार्य हो । तामाङ समुदायको बाहुल्यता रहेका धेरै पालिकाहरुमा अझै पनि कतिपय बालबालिकाहरु विद्यालय जानबाट वंचित रहेका भन्ने समाचारहरु आइरहेका छन् । बागमती प्रदेशमै रहेका कतिपय पालिकाहरुले यस्तो राम्रो कार्य गर्न नसकिरहेको अवस्था छ । यस्तो स्थितिमा रोशी गाउँपालिकाले थालेको नयाँ कर्मले सार्थकता पाएको देखिन्छ । तामाङ समुदायको बाहुल्यता रहेको पालिका भएर पनि यो पालिकामा रहेका बालबालिकाहरुलाई विद्यालयको पहुँचमा पु¥याउन सक्नुलाई अन्य पालिकाले पनि अनुकरणीय रुपमा लिनुपर्ने देखिन्छ ।
पछिल्लो समयमा विभिन्न पालिकाहरुले आफ्नो छुट्टै पहिचान बनाउनका लागि विभिन्न किसिमका कार्यहरु गर्दै आएका छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएर पनि पालिका प्रमुख दिनेश लामाले राजनीतिक दलको भूमिका भन्दा पनि माथि उठेर सबै वडाहरुमा यो कार्यलाई पहिले प्राथमिकतामा राखी कार्यान्वयन गराउन लागि परे । उनले वडाहरुमा सफलता पाएपछि मात्र पूरै पालिकालाई घोषणा गराउन सफल भएका हुन् । यस्तो अवस्थामा उनी धन्यवादका पात्र पनि छन् । यो कुरा जति गौरवका साथ अहिले प्रचार गरिएको छ त्यसलाई निरन्तरता दिनका लागि भने व्यावहारिक रुपमा कठिनाइ हुने अवस्था छ । स्थानीय स्तरमा कसैले राम्रो कार्य गरेमा सोही पालिकामा क्रियाशील अन्य दलहरुले त्यसलाई सकारात्मक रुपमा नलिने चलन पनि छ । अरुले गरेको विकासलाई समेत पचाउन नसक्ने खालको चरित्र नेपालीजनमा देखिने गरेको अवस्थालाई सो पालिकाले चिर्न सक्नुपर्दछ । राम्रा काम गर्नेहरुलाई प्रोत्साहन दिनु पर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *