गृहमन्त्रीलाई समस्या र चुनौतीको थुप्रो

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेसमा भद्र, निस्कलंक र क्षमतावान् मानिएका नेता रमेश लेखकले प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारमा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । नेकपा (माओवादी केन्द्र) का तात्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गिजोलेको गृहमन्त्रालयमा चुनौतीका पहाड र समस्याका थुप्रोहरु थुप्रिएर बसेका बताइएको छ ।
गृहमन्त्रलयमा नीतिगत एवं निपक्ष सुधारभन्दा स्टन्टबाजी गरेर चर्चित बनेका लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिर्देशकहरुलाई आफ्नो प्रवक्ता जस्तो बनाएर आफ्नो प्रभावमा पारेका थिए । सुरक्षा निकायमा क्षमता र कार्यकुशलतालाई भन्दा राम्रा मान्छे भन्दा हाम्रालाई महत्व दिने गरेको र हस्तक्षेपकारी भूमिका प्रदर्शन गर्ने गरेको प्रहरी श्रोतले बताएको छ । यस बाहेक मुलुकका ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा मापदण्ड विपरित मनपरी ढंगबाट गरेको चर्चा चलेको छ ।
मुलुक अहिले बाढीपहिरो, धनजनको असंख्य क्षति र आपराधिक घटनाको चपेटामा परेको छ । शान्तिसुरक्षा र अमनचयनकोे जिम्मेवारी पाएको गृहमन्त्रालय र प्रहरी संगठन व्यवस्थापकीय क्षमताको अभावमा गुज्रिरहेको छ । यस्तो संवेदनशील घडीमा गृहमन्त्री लेखकले जनताको घाउमा मलमपट्टी लगागउने अपेक्षा गरिएको छ ।
विगतमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बन्दा प्रकाश ज्वाला, रेणु यादव र रघुवीर महासेठजस्तो नगन्हाएका लेखकलाई गृहमन्त्रीमा असफल हुने छुट छैन । अब गृहमन्त्री लेखकले गृहमन्त्रालय भित्रका विकृति र विसंगतिको अन्त्य गरी सुशासन र सम्बृद्धिको पक्षमा उभिएर काम गर्नु पर्नेछ । काँग्रेस संसदीय दलको प्रमुख सचेतक बनेर निर्वाह गरेको भूमिकालाई थप उचाइमा लगी देश र जनताको पक्षमा उभिन सके सफल गृहमन्त्री बन्ने काँग्रेस वृत्तमा चर्चा चलेको छ । नेपाल प्रहरीमा देखिएको विकृति हटाई संगठनलाई भरपर्दो बनाउनुपर्ने चुनौती गृहमन्त्री लेखकको काँधमा आइलागेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *