पुरातात्विक महत्वका सामग्रीको खोजी गर

Nayabimarsha (Weekly Newspaper from Nepal)

नेपालबाट चोरी भएर अमेरिका पु¥याइएका मूर्ति र टुँडाललाई नेपाल फर्काउने कार्य भएको छ । अमेरिकाको न्युयोर्कस्थित रुबिन म्युजियममा फेला परेका टुँडाल र एउटा काष्ठकलालाई नेपाल फर्काउने कार्य भएको पुरातत्व विभागले बुधबार जानकारी गराएको छ । यसैगरी न्युयोर्ककै तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति पनि नेपाल ल्याइएको जानकारी दिइएको छ । ती मूर्ति र टुँडाल सोमबार काठमाडौं ल्याइएको जनाइएको छ । पुरातत्व विभागले अमेरिकाबाट ल्याइएको एउटा बुद्धको मूर्ति, यम्पी महाविहार ललितपुरबाट चोरिएको एउटा तोरण र एउटा झ्यालको मुनि राखिने गन्धर्व आकृतिको काष्ठकला नेपाल फर्काइएको जनाएको हो । रुविन म्युजियमकै पदाधिकारीले ती सामग्रीहरु विभागलाई हस्तान्तरण गरेका हुन् ।

विभिन्न समयमा नेपालमा चोरी भएका पुरातात्विक महत्वका ती सामग्रीहरुमध्ये इटुम्बहालको केशचन्द्र महाविहारबाट हराएको मालासहित उडिरहेकी अप्सरा (गन्धर्व) फेला परेको हो । यसैगरी पाटनको यम्पी विहारबाट हराएको मूलढोकामाथिको तोरण आकृति पनि सोही म्युजियममा फेला परेको थियो । यी मात्रै नभई धेरै मूर्ति र पुरातात्विक महत्वका सामग्री, मूर्तिहरु नेपालबाट विभिन्न समयमा चोरी भएका थिए । यसरी ती समयमा चोरी भएका पुरातात्विक महत्वका सामग्रीहरु पछिल्लो समयमा अमेरिका लगायतका विभिन्न युरोपेली मुलुकहरुमा फेला पर्न थालेका छन् । कतिपय सामग्रीहरु त्यस्ता संग्रहालयमा फेला परेका छन् त कतिपय भने व्यक्तिका निजी संग्रहालयहरुका रहेको चर्चा चलेको छ । अमेरिका लगायतका कतिपय देशहरुले पछिल्लो समय त्यस्ता पुरातात्विक महत्वका सामग्रीहरु जुन देशबाट आएका हुन् तिनीहरुको प्रमाण हेरेर तिनै देशमा फर्काउने नीति लिएका कारण पनि पछिल्लो समयमा त्यस्ता सामग्रीहरु नेपाल फर्काउन सहज भएको हो ।

यसरी नेपाल आएका सामग्रीहरुको अवस्थालाई मध्यनजर गर्दा नेपालबाट चोरी भएका धेरै नै यस्ता सामग्रीहरु विदेशका विभिन्न ठाउँमा पुगेको अनुमान गर्न सकिन्छ । नेपाल सरकारसँग आधिकारिक तथ्यांक नरहे पनि यस्ता सामग्रीहरु विश्वका विभिन्न मुलुकबाट फेला पर्नुले यस्ता धेरै सामग्रीहरु चोरी भएका हुन सक्ने अवस्था देखिएको छ । नेपाल सरकारले यस्ता सामग्रीहरुको खोजीका लागि विभिन्न मुलुकमा रहेका आफ्ना राजदूताबास तथा राजदूतहरुलाई परिचालन गर्न सक्नुपर्दछ । सरकारले त्यस्ता मुलुकमा रहेका आफ्ना निकायहरुलाई परिचालन गरी विभिन्न संग्रहालयहरुमा नजर राख्न सकेका खण्डमा त्यस्ता सामग्रीहरु फेला पर्ने संभावना प्रबल देखिन्छ । सरकारले यस्तो कार्यलाई प्राथमिकतामा राखी ती सामग्रीहरुलाई नेपालमा भित्र्याई पहिलेकै स्थानमा राख्न सकेका खण्डमा विश्वका पर्यटकहरुको नेपाल आगमन अझै बढ्ने अवस्था रहन्छ । त्यसैले सरकार तथा अन्य सम्बन्धित निकायहरुले यस्ता सामग्रीहरुलाई नेपालमा फर्काउनका लागि सक्रियताका साथ थालनी गर्नु उचित देखिन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *