रुषा थापा
हाम्रो समाजमा ‘ठूलालाई चैन, सानालाई ऐन’ भन्ने गरिएको छ । २०६६ जेठ ११ गते माधवकुमार नेपाल प्रधानमन्त्री बने । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय उनकै मन्त्रिपरिषद्ले गरेको थियो । कालोपुल र काभ्रेको रोपनीका रोपनी जग्गा व्यक्ति तथा व्यवसायीलाई दिने पनि निर्णय गरियो ।
त्यस्तै, बाबुराम भट्टराई २०६८ भदौ १२ गते प्रधानमन्त्री भए । उनले पनि ललिता निवासको सरकारी जग्ग व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे । योसँगै थानकोट र मातातीर्थको रोपनीका रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरे ।
प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले पनि २०७८ बैशाख ७ र १३ गते मन्त्रिपरिषद् बैठकमार्फत झापाको गिरिबन्धु टि स्टेटको सरकारी जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गराए । यी तीनैजना अहिले पनि राजनीतिमा सक्रिय छन् । वर्तमान सरकारमा ओली नै प्रधानमन्त्री छन् ।
स्वर्गीय भइसकेका कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले पनि आपूm प्रधानमन्त्री हुँदा सरकारी तथा गुठीका जग्गा व्यक्तिको नाममा पास गरिदिने निर्णय गरेका थिए । नक्सालस्थित बाल मन्दिरको सरकारी जग्गा पनि व्यक्तिको नाममा दर्ता गराइयो ।
ललिता निवासको सरकारी जग्गा दर्ता गराउने वा गर्ने व्यक्तिहरुलाई अझै पनि सरकारले समात्न सकेको छैन जबकि अदालतले उनीहरुलाई दोषी ठहर गर्दै कैद र सजाय नै सुनाइसकेको छ । नक्कली भुटार्नी शरणार्थी प्रकरणमा काँग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि पोलिने संभावना रहेको भनी चर्चा चलेको थियो ।
सहकारी ठगीको आरोप लागेका माओवादी नेता शक्तिबहादुर बस्नेत र रास्वपा नेता डि.पी. अर्याललाई पनि प्रहरीले समात्न सकेको छैन । काँग्रेस नेता धनराज गुरुङ र एमाले नेता ऋषिकेश पोखरेलमाथि पनि सहकारी ठगीको अभियोग छ यद्यपि उनीहरु समातिन सकेका छैनन् । राप्रपा नेतृ गीता बस्नेतविरुद्ध त सहकारी ठगीमा पक्राउपुर्जी नै जारी भइसक्यो ।
राजनीतिक दलका उच्च पदस्थमा रहेका यी व्यक्तित्वलाई गृहमन्त्री रमेश लेखकले पक्राउ गर्न हालसम्म प्रहरीलाई निर्देशन दिएका छैनन् । मन्त्री वा सांसद हुँदा नेताहरुले भ्रष्टाचार गरेर अकुत सम्पत्ति जोडेको आरोप छ । त्यस्तै, काँग्रेस, माओवादीलगायत राजनीतिक दलका नेतासँग अकुत सम्पत्ति रहेको बताइन्छ ।
अहिले जुनसुकै पार्टीका नेताहरुको सम्पत्ति छानविन गरेमा सबै भ्रष्टाचारमा पर्ने छन् किनकि यिनीहरुले आफ्नो दश पुस्तालाई पुग्ने सम्पत्ति आयआर्जन गरिरहेका छन् । फेरि त्यसको स्रोत भने खुलाउन सक्दैनन् । केही दिनअघि माओवादीले सरकारको खबरदारी ग¥यो । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको हातमा ७८ लाख पर्ने घडी छ भनिन्छ ।
अनि आफैं भ्रष्टाचारी भएको व्यक्तिले अरुको खबरदारी गरेको सुहाउँछ ? राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भ्रष्टाचार गर्नु आमाको रगत खानुसरह हो भन्छन् तर अहिले उनको सम्पत्ति छानविन गरेमा उनी पनि एक नम्बरमै आउने चर्चा छ । चित्रबहादुर के.सी. र प्रेम सुवाल पनि आफ्नो सम्पत्ति सार्वजनिक गर्दैनन् ।
यसका कारण उनीहरु पनि भ्रष्टाचारी नै रहेको जनता बताउँछन् । देश र जनताको गीत गाएर र राजनीतिक दलको खोल ओढेर नेताहरुले देश नै बेचिसकेका छन् । जनताले तिरेको करमा मोजमस्ती गरिरहेका छन् । सरकारी कर्मचारी त झनै भ्रष्टाचारी भइहाले । कसरी भ्रष्टाचार गर्ने वा घुस खाने भन्ने मात्र उनीहरुको मतलवको विषय हो ।
हामीकहाँ सरकारी कर्मचारीलाई राष्ट्रसेवक भनिने गरिएको छ तर कर्मचारी देश र जनताका लागि विषालु सर्प बनेका छन् । अहिले बहालवाला होस् या पेन्सनवाला कर्मचारी भन्छन्, ‘नेताले देश बिगारे ।’ आपूm घुस खाने, भ्रष्टाचार गर्ने अनि दोष चाहिँ नेतालाई मात्र लगाउने ! देश बिगार्नुमा कर्मचारी र नेता दुवैको बराबरी हात छ ।
नेताहरु अहिले पनि हामी देश बनाउँछौ भनेर जनतालाई भ्रममा पारिरहेका छन् । देश नै नरहेपछि कुन देश बनाउँछन् कुन्नि ! देशै धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसके । अझै लिने क्रम जारी छ । अहिले सरकार एउटासँग ऋण लिएर अर्काको साँबाब्याज तिरिरहेको छ तर कतिञ्जेल यस्तो चल्छ ? विदेशीले ऋण दिन छोड्नासाथ देश तहसनहस हुने छ ।
अहिले ऋण दिएका देशहरु नै नेपाल आफ्नो स्वामित्वमा राख्न हानाथाप गर्ने छन् । अब त कसैले हामीलाई हाम्रो राष्ट्रियता सोधेमा नेपाली समेत भन्न नसकिने अवस्था निम्तिएको छ । सयौं वर्षअघि मुलुकको भूभाग धेरै थियो तर भारत र चीनले नेपालको अधिकांश भूभाग कब्जा ग¥यो । बाँकी भएको भूभाग पनि सरकारी कर्मचारी र नेता मिलेर बेचिसके ।
अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकमा रहेका नेपाली सामाजिक सञ्जालमार्फत नेपालमा विकास नभएको गुनासो गर्छन् । आपूm प्लस टु पढ्ने बित्तिकै विदेश पलायन हुने अनि त्यता बसेर मातृभूमिलाई गालीगलौज गर्ने ! यदि उनीहरु साँच्चिकै नेपाली भएको भए आफ्नै देशमा बस्थे ।
आफ्नो देशमा ठूलोसानो रोजगारी गर्थे । राज्यलाई कर तिर्थे । भ्रष्टाचार व्यापक भएमा भ्रष्टाचार विरोधी अभियान चलाउँथे । आफ्नो कर्तव्य र दायित्व पूरा नगर्ने अनि अधिकार मात्र खोजेर हुन्छ ! जनतालाई विकसित मुलुक जान पाए पुग्ने अनि कर्मचारी र नेतालाई भ्रष्टाचार, मोजमस्ती गर्न पाए पुग्ने । यति भएपछि देश कसरी विकास हुन्छ ?
मुलुकमा राजनीतिक परिवर्तनका निम्ति विभिन्न मितिमा धेरै चोटी आन्दोलन भयो । जनताको बलमा राजनीतिक परिवर्तन भयो । राजनीतिक परिवर्तन त भयो तर देश झनै खोक्रो भयो । कर्मचारी र नेताले भ्रष्टाचार गरे अनि व्यापारीले राजश्व छले । नेता, कर्मचारी र व्यापारीले मिलेर देश टाट पल्टाइसकेका छन् ।
मुलुकको अर्थतन्त्र धरायसी अवस्थामा पुगिसक्यो । सरकारी तथ्यांकअनुसार नै राजश्व उठ्न छोडेको छ भने खर्च दिनानु दिन बढ्दो छ । मुलुकमा उद्योग, कलकारखाना केही पनि छैन । राज्यसँग राजश्व उठाउने स्रोत नै छैन । जनताको लगानी घरजग्गा र गाडीमा मात्र छ । यसमा करोडदेखि अर्बसम्म लगानी गरिएको छ ।
यसको राजश्स्व राज्यले पाएको छैन । राज्यको ढुकुटी रित्तिदैँ गएको छ । नेताहरु अहिले पनि हामी देश विकास गछौं भन्छौं । यसलाई कसरी लिने ? जनताले देश खाँक्रो भएको नबुझेको कि नेताले जनतालाई उल्लु सोचेको ?