काठमाडौं/ राष्ट्रिय मातृभूमि पार्टीले एक समारोह गरी शुभकामना आदानप्रदान तथा राजनैतिक विषयमा छलफल गरेको छ । पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा रमेश खरेल, पार्टीका महासचिव गोविन्द गिरी, वरिष्ठ नेता क्याप्टेन के.बी. लिम्बु लगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सो पार्टीद्वारा जारी प्रेस नोटमा जनाइएको छ ।
पार्टीले पछिल्लो समय भ्रष्टाचार विरोधी अभियानहरु तीब्र रुपमा अगाडि बढाइरहेको छ ।
चियापानसहितको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीका अध्यक्ष, महासचिव तथा बरिष्ठ नेताले सम्बोधन गरेका थिए । सम्बोधनको क्रममा नेताहरुले मुलुकलाई विकसित मुलुकको रुपमा लैजान सबैभन्दा ठूलो बाधक नै भ्रष्टाचार हो भन्ने विषयलाई जोड दिएका थिए । मुलुकमा ठूला दलका शीर्ष नेताहरुको श्रोत नखुलेको सम्पत्ति छानविन गरी राष्ट्रियकरण गर्ने हो भने १० वर्षलाई मुलुकको बजेट बन्छ भन्ने ठहर राष्ट्रिय मातृभूमि पार्टीको रहेको भनाई पार्टीका बरिष्ठ नेता क्याप्टेन के.बी. लिम्बुले राखेका थिए ।
लिम्बुले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय व्यवस्था गर्नुपर्ने र राष्ट्रिय मातृभूमि पार्टी सत्तामा गएको दिन भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरेरै छाड्ने अठोट समेत व्यक्त गरे । ३४÷ ३५ वर्षसम्म पनि सत्तामा बसेर मुलुक र जनताको लागि बर्बादीबाहेक केही पनि नगरेका दल र तिनका नेतालाई विश्राम गर्नुको विकल्प नभएको नेता लिम्बुले बताएका थिए । सानोबाट नै ठूलो हुने यी भ्रष्टाहरुको विरुद्धमा राष्ट्रिय मातृभूमि पार्टीले देशव्यापी अभियान चलाएर यिनीहरुको भण्डाफोर गरेरै छाड्ने पार्टीका अध्यक्ष, महासचिव लगायतका नेताहरुको उद्घोष थियो ।