वालिङको शिक्षा क्षेत्र विवादित

Nayabimarsha (Weekly Newspaper from Nepal)

स्याङ्जा/स्थानीय तहका जनप्रतिनिधिले जनअपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढ्दै जाँदा स्याङ्जाको वालिङ नगरपालिका विवादको चाङमा परेको छ ।
गैहकानूनी हिसाबले शिक्षक सरुवाको घटनाले वालिङ नगरपालिका पुन विवादित बन्न पुगेको हो । यसअघि शिक्षा ऐन संशोधनको विषय सर्वोच्च अदालतसम्म पुगेको थियो । जनताको घरदैलोको सरकारको रुपमा रहेका स्थानीय तहमा जनप्रतिनिधिको मनपरी र कर्मचारीको लापरबाहीले बेतिथि निम्त्याएको आरोप लाग्दै आएको छ ।
गत असोज १३ गते वालिङ नगरपालिका ५ स्थित श्री महेन्द्र माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक अर्जुन पोख्रेल र रणवीर जनहित माध्यमिक विद्यालयका माध्यमिक तहका स्थायी शिक्षक कमल लम्सालको सरुवालाई गैह्रकानूनी भन्ने दाबी गरिन थालिएको छ । वालिङ नगरपालिकाको शिक्षा शाखा प्रमुख र रणवीर जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मीप्रसाद रेग्मीको मिलेमोतोमा सरुवा गरिएको समाचार स्रोतले जानकारी दिएको छ । यो विवाद अहिले वालिङमा मात्र नभई शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन विभागसम्म पुगेको बताइएको छ ।
रेग्मीले आफू अनुकुलको शिक्षक सरुवा गरी आफू कार्यरत विद्यालयमा ल्याउन यो कर्ममा साथ दिएको बताइएको छ । उनले शिक्षा शाखा प्रमुख काफ्लेलाई प्रभावमा पारेपछि काफ्लेले समितिका बहुमत सदस्यलाई हस्ताक्षर गराएको स्रोतको दाबी छ । समितिका एक सदस्यले आफूहरुलाई पूर्णरुपमा प्रकृया मिलेको भन्दै हस्ताक्षर गर्न बाध्य पारिएको बताएका छन् । दुवै विद्यालयको सहमतिमा सरुवा भएको भनेर आफूहरुलाई फसाइएको भनी उनको दाबी छ ।
स्थानीय सरकार सन्चालन ऐन, २०७४ ले स्थानीय तहलाई शिक्षक सरुवाको अधिकार दिएको छैन । त्यसैले यो सरुवा शिक्षक सरुवा निर्देशिका २०८१ अनुसार गरिएको भनिए पनि निर्देशिकामा उल्लेख गरिएका कुनै प्रकृया अवलम्वन नगरिएको दाबी स्रोतले गरेको छ । निर्देशिकामा दरबन्दी मिलान गर्न सक्ने अधिकार भने स्थानीय सरकारलाई दिइएको छ । व्यक्ति मिलान सरुवालाई दरबन्दी मिलानको अपव्याख्या गरेर सरुवा गरेपछि गैह्रकानूनी सरुवा भएको आरोप लागेको हो ।
लम्साललाई महेन्द्र मा.वि.मा सरुवा गरेपछि उनको ठाउँमा ल्याइएका रेग्मी अनुकुलका पोख्रेललाई हाजिर नगराउन रणवीरका व्यवस्थापन समितिका ६ जना सदस्यहरुले नगरपालिकामा उजुरी दर्ता गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *