सत्ताकै कारण ओली–दाहालबीच कटाक्ष

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंं/ ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ बताएका नेकपा (एमाले) अध्यक्ष खड्गप्रसाद शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सत्ताकै कारण नदीका दुई किनारा बन्न पुगेका छन् ।
कुनै बेला एक सिक्काका दुई पाटा बनेका ओली–दाहालबीच सत्ताकै कारण तल्लो स्तरको आरोप प्रत्यारोप चलिरहेको छ । कहिले नेपाली काँगे्रस र कहिले एमालेको ढाडमा टेकेर सत्ताको रजगज गरी रहेका दाहाल सरकारबाट बाहिरिएपछि दिनप्रतिदिन इगो राखी एकले अर्कोलाई खुइल्याउने र कमजोर पार्ने अभियानमा लागेका भनी चर्चा छ ।
मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी बीचको द्वन्द्वले वाम आन्दोलन झन् कमजोर बन्दै गैरहेको राजनीतिक वृत्तमा चर्चा छ । अहिले एमालेका विरुद्ध माओवादी केन्द्र, नेकपा (ए.स.) र हालै पार्टीबाट निष्काशन गरिएका नेता भीमबहादुर रावलले २०८४ को चुनावमा एमालेलाई खुट्टा टेक्न नदिने रणनीति लिएका छन् । सोही अवस्थामा वाम शक्ति धु्रवीकरण हुन पुगे पनि राजनीतिमा भोलि फेरी एक ठाउँमा नउभिएलान् भन्न सकिन्न । एमालेमा ओलीको र माओवादी केन्द्रमा दाहालको विकल्प नभएकाले कसैले मुख फोर्न नसक्ने अवस्था देखिएको छ ।
हालै मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीहरुले केन्द्रीय समितिको बैठक सम्पन्न गरेका छन् । एमालेको केन्द्रीय बैठकमा अध्यक्ष ओलीको प्रतिशोध साँध्ने प्रवृत्ति विरुद्ध नेताहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, पृथ्वी सुब्बा गुरुङ र योगेश भट्टराईले असन्तुष्ट व्यक्त गरेपछि पार्टी दुई धारमा विभाजित भएको एमाले श्रोतले बताएको छ । यस्तै ईश्वर पोख्रेल, विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, विष्णु रिजाल र रघुवीर महासेठले ओलीको कदमको पक्षमा उभिएपछि एमालेभित्र भुसको आगो दन्किन थालेको जानकारहरुले बताएका छन् ।
रावललाई निष्कासन गर्दा र विन्दा पाण्डे तथा उषाकिरण तिम्सेनामाथि ६ महिना निलम्बन गर्ने निर्णयले पार्टीको भविष्य धरापमा पर्ने र सुदूरपश्चिममा एमाले बढारिने व्यापक चर्चा चलेको छ । त्यतिमात्र हैन एमालेमा आफूलाई सी जिङ्गपिङ्गका रुपमा स्थापित गर्न आफ्ना विरोधीहरुलाई कारबाही गरी भित्तामा पु¥याएपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले चासो राखेकी छन् ।
यता, माओवादी केन्द्रको बैठकमा पनि नेताहरु टाइसुट लगाएर करोडौं मूल्य पर्ने गाडी चढेर गएपछि सम्पत्ति छानविनको बहस शुरु भएको छ । सर्वहारा पार्टीको नारा दिएर विगत १८ वर्षदेखि सत्तास्वार्थमा लागी काठमाडौंमा २–३ वटा घर, जग्गा, करोडौं मूल्य पर्ने घडी, प्रशस्त बैंक ब्यालेन्स र छोरा छोरीहरुलाई विदेशमा पढ्न पठाएपछि माओवादी केन्द्रप्रति जनताको आकर्षण घट्दै गैरहेको छ ।
माओवादीलाई सुन तस्करहरुको पार्टी भनेर एमालेका अध्यक्ष ओलीले आरोप पनि लगाएका छन् । भ्रष्ट, कमिशनखोर, माफिया र तस्करहरुको पार्टी भनेर आरोप खेपी विगत ३५ वर्षदेखि पार्टीमा एकछत्र राज गरिरहेका अध्यक्ष दाहालले नेताहरुको सम्पत्ति छानविन गर्नेमा आशंका पैदा भएको छ । जनतासँग जोडिन जागरण अभियान र संगठन निर्माणमा जुटे पनि फेरि जनताले पत्याउन सक्ने अवस्था नरहेको बताइन्छ ।
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन फेरि माओवादी केन्द्रमै फर्किएर राजनीतिमा चासो राख्नुलाई लक्ष्मणरेखा नाघेको भनी टीकाटिप्पणी शुरु भएको छ । हालको अवस्थामा माओवादी केन्द्रको सत्तामा जाने सपनामा लगभग पूर्णविराम लागेको जानकारहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *