काँग्रेसमा विरासत थाम्न नेता पुत्रहरुको दौडधूप

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर/ नेपाली काँग्रेसको १५औं महाधिवेशनको समय टुंगो नलाग्दै नेताहरुले जिल्ला दौडाहा शुरु गरी सकेका छन् । काँग्रेसले क्रियाशील सदस्यता वितरण र नवीकरणको अन्तिम म्याद २०८१ चैत मसान्तभित्र नहुने भएकाले २०८२ साल मंसिरमा काँग्रेसको १५औं महाधिवेशन नहुने काँग्रेसका जानकारहरुले बताएका छन् ।
काँग्रेसको राजनीति पार्टी सभापति शेरबहादुर देउवाको वरिपरि घुमिरहेको अवस्थामा विशेष परिस्थिति देखाई एक वर्ष म्याद थपी २०८२ मंसिरमा महाधिवेशन गर्ने देउवाको सोच रहेको समाचार श्रोतले जानकारी दिएको छ । सहमति अनुसार एमालेका अध्यक्ष एवं प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले २०८३ असारमा देउवालाई सत्ता हस्तान्तरण गर्नुपर्नेछ । ओली पछि छैटौं पटक प्रधानमन्त्री बन्ने पर्खाइमा रहेका देउवाले प्रधानमन्त्री बनेर आफ्नो उत्तराधिकारीका रुपमा हाल परराष्ट्रमन्त्री रहेकी श्रीमती डा. आरजु राणा देउवालाई अघि बढाउन चाहेको पनि स्रोतले बतायो ।
यसका लागि आरजुलाई उपसभापति बनाउने गरी पार्टी सभापतिमा आफ्नो अनुकूलको मान्छे ल्याउने भित्री रणनीतिमा सभापति देउवा जुटेको काँग्रेस वृत्तमा चर्चा छ । यस्तो अवस्थामा सभापति देउवाले महामन्त्री गगनकुमार थापा र काँग्रेस नेता डा. शशांक कोइरालामध्ये एकजनालाई साथ र समर्थन गर्ने अनुमान गरिएको छ ।
उता, १५औं महाधिवेशनलाई लक्षित गरी संस्थापक ईतरका वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री थापाले जिल्ला दौडाहा कार्यक्रम शुरु गरिसकेका छन् । काँग्रेसको १५औं महाधिवेशनमा सभापति देउवाले जसलाई समर्थन ग¥यो त्यसैले जित्ने संभावना रहेकाले वरिष्ठ नेता कोइराला र महामन्त्री थापाले बुढानिलकण्ठको आशिर्वाद प्राप्त गर्ने कोशिस गरिरहेको अवस्था छ । यस्तो अवस्थामा कांग्रेसका संस्थापक एवम् प्रतिष्ठित स्वर्गिय तीन नेता बी.पी. कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहश्र एक ठाउँमा जम्मा हुन पुगेका छन् ।
कोइरालाका पुत्र डा.शशांक, सिंहका पुत्र प्रकाशमान र निधिका पुत्र विमलेन्द्र एक ठाउँमा जम्मा भई आफूहरुको राजनीतिक भविष्यका लागि केन्द्रित हुन थालेको बताइएको छ । १४औं महाधिवेशनमा पनि एकजुट भएका नेतापुत्रहरुले अन्तिममा देउवालाई समर्थन गरेका थिए । यस्तो अवस्थामा महाधिवेशनमा रस्साकस्सी गरेर आउने प्रतिनिधिहरुले नयाँ नेतृत्व र रुपान्तरण चाहे पनि वरिष्ठ नेता कोइराला र नेतापत्रहरुको विरासतको राजनीति ‘हात्ती आयो हात्ती आयो फुस्स’ मा परिणत हुने बताइएको छ ।
काँग्रेसले महाधिवेशन भएको तीन वर्ष सत्ता हानाथाप र सिन्को नभाँची व्यतित गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *