२०८४ को निर्वाचनपछि मात्रै महाधिवेशनको बहस

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाली काँग्रेस पार्टीमा आफ्नो वर्चश्व कायम गर्दै आएका पार्टी सभापति शेरबहादुर देउवाले सकेसम्म २०८२ मा पार्टीको १५ औं महाधिवेशन नगरी २०८४ को चुनावपछि मात्रै महाधिवेशन गर्ने रणनीतिमा जुटेको काँग्रेस स्रोतले बताएको छ ।
सभापति देउवाको यही आसय बुझेर गत पुस १६ गते चितवनमा काँग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि पार्टीको महाधिवेशन आम निर्वाचनपछि मात्रै गर्न उपयुक्त हुने बताएका थिए । सभापति देउवाको भित्री आसय यही हो भने संस्थापन इतरपक्षका नेताहरुले खासगरी वरिष्ठ नेता डा. शेखर कोइराला पक्षधर नेताहरुले २०८२ मंसिरमै महाधिवेशन गर्नुपर्ने भनेर शुरु गरेको देशव्यापी अभियानको कुनै अर्थ नरहेको काँग्रेसमा बहसको विषय बनेको छ । निर्वाचनको मुखमा पार्टीको महाधिवेशन गराउँदा पार्टी भित्रको घात अन्तरघातको रोग झन् झाँगिने र त्यसको असर २०८४ को आम निर्वाचनमा पर्ने डा. शशांक कोइरालाको तर्क थियो ।
सभापति देउवाकै स्वार्थ र दाउ अनुसार सतहमा ल्याइएको यो बहस कार्यान्वयन हुन्छ कि हुँदैन त्यो भने हेर्न बाँकी नै छ । काँग्रेसको विधानले चार वर्षमा महाधिवेशन गराउनु पर्दछ भन्ने व्यवस्था गरेको छ । चार वर्षमा १५औं महाधिवेशन नगरे पार्टीको दर्ता नै खारेज हुने अवस्था रहन्छ । विशेष परिस्थिति उल्लेख गरेर थप एक वर्ष लम्ब्याउन चाहे २०८३ मा महाधिवेशन गर्नैपर्ने काँग्रेसका जानकारहरुले बताएका छन् ।
१५औं महाधिवेशनमा सभापति देउवा आफू चुनाव लड्न नपाउने अवस्थामा चुनाव अघि नै महाधिवेशन भयो भने टिकट वितरणदेखि पार्टीमा अर्कैको पकड हुन्छ भन्ने त्रास देउवामा रहेको समाचार श्रोतले बताएको छ ।
यसैबीच गत पुष १६ गते पूर्वमहामन्त्री कोइराला र केन्द्रीय सदस्य नारायण खड्काको चुनावपछि महाधिवेशन गर्नुपर्ने प्रस्ताव महामन्त्री गगन कुमार थापाले प्रतिवाद गरेका छन् । काँग्रेसका वरिष्ठ नेता शेखर कोइराला, महामन्त्री गगन कुमार थापा, पूर्व उपसभापति विमलेन्द्र निधी लगायतका नेताहरुले पार्टीको १५औं महाधिवेशन तोकिएकै समयमा हुनुपने बताएपछि सभापति देउवा धर्मसंकटमा परेको काँग्रेस समाचार श्रोतले बताएको छ ।
यता, संस्थापन पक्षका नेताहरु विश्वप्रकाश शर्मा, महालक्ष्मी उपाध्याय (डिना ), सहमहामन्त्री महेन्द्र यादव र भीष्मराज आङदम्बे र अन्य नेताहरुले पनि धमाधम गुट परिवर्तन गरी वरिष्ठ नेता कोइरालालाई साथ दिन थालेपछि सभापति देउवाले पोखरामा भएको ७७ जिल्लाका पार्टी सभापति र अन्य नेताहरुप्रति लक्षित गर्दै पार्टी एकता भए २०८४ को चुनावमा काँग्रेसले बहुमत ल्याउने बताएका छन् । पार्टी उपसभापति पूर्णबहादुर खड्काले अभिमूखीकरण कार्यक्रममा काँग्रेसकै अन्तर्घातले गएको २०७९ सालको चुनावमा प्रदेशमा ४० र संघमा ३० सिट गुमाएको चिन्ता व्यक्त गर्दै काँग्रेसको घात अन्तरर्घातको रोगलाई बेलैमा समाधान गर्नुपर्ने बताएका छन् ।
अहिले काँग्रेसका नेताहरुको दोहोरी र नेता तथा कार्यकर्ताहरुलाई बन्द नगरे २०८४ को चुनाव पनि काँग्रेसका लागि प्रतित्युत्पादक बन्ने खतरा रहेको श्रोतले बताएको छ । काँग्रेस आफूले पाए ठीक, आफैं मात्रै राम्रो भन्ने मनोदशाबाट मुक्त भै एक ढिक्का भएर पार्टी संगठन निर्माणमा जुट्नुपर्ने काँग्रेसका भुक्तभोगीहरुले बताएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *