शहीद लखन थापाबारे सही निर्णय लिऊ

Nayabimarsha (Weekly Newspaper from Nepal)

गोरखाको शहीद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न पुनः माग गरेको छ । पालिकाले कार्यपालिका बैठकबाट निर्णय गरेर नेपाल सरकारलाई उक्त निर्णय बुझाई सो माग गरेको हो । यसैगरी पहिलो जनविद्रोहमा लखनसँगै शहादतप्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई पनि शहिद घोषणा गर्न माग गाउँपालिकाले गरेको छ । लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुने भन्दै राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु नहुने कुरा पालिकाले उठाएको छ । गाउँपालिकाले पर्यटनमन्त्री प्रेमबहादुर आलेलाई ज्ञापनपत्र नै बुझाएको हो । यसैगरी लखन थापाले शहादत प्राप्त गरेको दिन सार्वजनिक विदाको घोषणा गर्न पनि पालिकाले माग गरेको छ । पालिकाले यो विषयलाई पहिलेदेखि नै उठाउँदै आएको भए पनि नेपाल सरकारले यस कुरालाई चासो नदिएको भनी दुःख पनि व्यक्त गरेको छ ।

नेपालको इतिहास पढ्नेहरुले लखन थापालाई नेपालको पहिलो शहीदको रुपमा चिन्ने गर्दछन् । उनीभन्दा अघि पनि विभिन्न कालखण्डमा शहादतप्राप्त गर्नेहरु थिए नै होलान् तर पनि आधुनिक इतिहासमा भने उनको नाम पहिलो शहीदको रुपमा दर्जिएको छ । उनले तात्कालीन समयमा न्याय तथा सुशासन अनि प्रजातान्त्रिक व्यवस्थाको लागि आफ्नो जीवन बलिदान दिएको भनी इतिहासमा उल्लेख पाइन्छ । त्यसैले पहिलो शहीदको रुपमा रहेका उनलाई राज्यले उचित स्थान दिनु न्यायोचित नै हो । उनको नाममा स्थानीय निकायको नामांकन गर्ने कार्य भएका छन् । यसैगरी कतिपय स्थानहरुमा उनको शालिक बनाएर उनलाई स्मरण गर्ने कार्य पनि गरिंदै आएको छ । यसकालागि नेपाल सरकार धन्यवादको पात्र नै बनेको छ ।

पछिल्लो समयमा नेपाली समाजमा शहीदको परिभाषा नै फेरिएको भनी टीका टिप्पणी हुने गरेको छ । शहीदको परिभाषा विपरित कतिपय घटनामा परी मृत्युवरण गरेका व्यक्तिहरुलाई समेत शहीदको पंक्तिमा राखिएको भनी त्यस्तो कार्यले वास्तविक शहीदहरुको योगदानलाई लज्जित बनाउने कार्य भएको भनी टीका टिप्पणी हुने गरेको छ । त्यसैले सरकारले शहीदहरुको बारेमा जनदबाबमा परेर भन्दा पनि वास्तविकतालाई ख्याल गरी निर्णय गर्नु उचित हुन्छ । यसरी घोषित शहीदका परिवारजनले राज्यबाट उचित सम्मान तथा सहयोग समेत प्राप्त गर्ने भएकाले त्यसका लागि सही मापदण्ड बनाइनु पर्ने हुन्छ । भएका मापदण्डको सही पालना गर्नु पनि सरकारको कर्तव्य हो । त्यसैगरी यसरी शहीद घोषितहरु तथा उनीहरुको परिवारजनलाई राज्यका तर्फबाट सही सम्मान गरिनु पर्दछ । सरकारले यसतर्फ ध्यान देओस् । यसैगरी लखन थापा पहिलो शहीद हुन् भन्ने कुरामा कुनै द्विविधा छैन भने सरकारले उनको सम्मानमा पनि कञ्जुस्याइँ गर्नु हुँदैन । सरकारले उनले शहादत प्राप्त गरेको दिन यकिन गरी उक्त दिन सार्वजनिक विदा दिंदा सही कार्य नै हुने हुन्छ । त्यसैगरी उनलाई राष्ट्रिय विभूति घोषणा गर्दा पनि कुनै समस्या हुने अवस्था छैन । यसका लागि सरकार तथा सम्बन्धित निकायहरुले ध्यान दिनु जरुरी छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *