दाहाल आफ्नो हैसियत खोज्दै

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन सरकारमा दोस्रो ठूलो दलका नाताले हैसियतअनुसारको माग गरेर खोचे थापेका छन् । अध्यक्ष दाहालले चैत ८ गते जनकपुर पुगेर मन्त्रिपरषद् हेरफेर हुनेसमेत बताएका छन् ।

अध्यक्ष दाहालले मन्त्री र मन्त्रालय हेरफेर हुने बताएपछि माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुको निदहराम भएको छ । हाल माकेबाट जनार्दन शर्मा अर्थ, पम्फा भुसाल ऊर्जा तथा जलस्रोत, देवेन्द्र पौडेल शिक्षा, महेश्वरजंग गहतराज (अथक) र शशि श्रेष्ठ मन्त्री बनेका छन् । श्रेष्ठ भूमिसुधार मन्त्री हुन् ।

गठबन्धन सरकारको मन्त्रिमण्डलमा ४९ सिट भएको माओवादी चार मन्त्री र एक राज्यमन्त्री, २०—२२ जना सांसद रहेका नेकपा (एकीकृत समाजवादी) लाई चार मन्त्री र १ राज्यमन्त्री बराबरी मन्त्री दिइएपछि अध्यक्ष दाहालले बढी मन्त्रालय मागेको हुनसक्ने चर्चा चलेको छ । मन्त्रिपरषद्समेत हेरफेर हुने बताएका दाहालले अहिलेका चारैजना मन्त्रीहरु शर्मा, भुसाल, पौडेल र गहतराजलाई हटाएर एमसीसी प्रकरणमा असन्तुष्ट बनेका नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर, देवप्रसाद गुरुङ र लीलामणि पोखरेललाई मन्त्री बनाएर थुम्थुम्याउने रणनीतिमा लागेको जानकारहरुले बताएका छन् ।

काँग्रेसको भागमा परेको रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पूर्णता दिँदा काँग्रेसबाटै मन्त्री बनेका डा. नारायण खड्का र उमा रेग्मीले छुट्टी पाउने प्रबल सम्भावना छ । यता, नेकपा (एस) ले मन्त्री हेरफेर गर्नासाथ सो दलमा पहिरो जाने अवस्था आएपछि हेरफेर नहुने अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । नेकपा एसबाट हाल चारजना प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ, विरोध खतिवडा र रामकुमारी झाँक्री मन्त्री तथा भवानी खापुङ राज्यमन्त्री छन् ।

त्यसैगरी, जनता समाजवादी पार्टी (जसपा) का दुईजना मन्त्रीहरु रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा महेन्द्र राय यादव कृषि मन्त्री परिवर्तन हुने चर्चा चले पनि जसपा अध्यक्ष उपेन्द्र यादवले भौतिक मन्त्री यादवको कोसेलीपातका कारण हटाउन नचाहेको समाचार स्रोतले बताएको छ । चैत १५ गतेदेखि आचारसंहिता लाग्ने भएकाले त्योभन्दा अगावै मन्त्रिमण्डल हेरफेर नभए स्थानीय चुनावपछि मात्र हुने चर्चा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *