पसल अनुगमनलाई निरन्तरता देऊ

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर नगरपालिका अनुगमन समिति पछिल्लो समयत सक्रिय भएको देखिएको छ । समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा मंगलबार नगरका ज्ञानकुञ्ज र दूधपाटी क्षेत्रका १० वटा खाद्य पसल अनुगमन गरेको जनाइएको छ । अनुगमन गर्दा तराजु नवीकरण नभएको र म्याद नाघेको सामानहरु जफत गरी नष्ट गरिएको पनि जनाइएको छ । यसरी गरिएको अनुगमनका क्रममा किराना पसलहरुमा दर्ता प्रमाणपत्र सबैले देखिने गरी पसलमै राख्न, साइनबोर्ड राख्न, मूल्यसूची राख्न, म्याद नाघेको सामान छुट्टै राख्न भनी सम्बन्धित पसलेहरुलाई जानकारी पनि गराइएको थियो । यसरी अनुगमनका क्रममा म्याद नाघेको सामान नेस्टलेको एभरिडे दूध एक पाकेट, छोटे छोटे मिनी पापड तीन पाकेट, शक्ति घ्यु तीन पाकेट, पैंचो मिक्स अचार एक पाकेट, आलु भुजिया एक पाकेट, म्याजिक मसला एक पाकेट जफत गरी नष्ट गर्न निर्देशन दिइएको पनि जनाइएको छ । यसैगरी सुनिल स्टोरमा साइनबोर्ड राख्न, मूल्यसूची राख्न, प्याकेजिग सामान खाद्यको अनुज्ञापत्र लिई लेवल राखी मात्र बिक्रीवितरण गर्न, तराजु नापतौल विभागमा नवीकरण गर्न निर्देशन दिएको जनाइएको छ ।

कतिपय पसलहरुमा जगदम्बा धनियाँ धुलोमा लेबलमा म्याद नाघ्ने मिति नभएको ६ पाकेट र म्याद नाघेको सामानहरु उपकार टिमुर तीन पाकेट, ट्रिकर च्वाइस विस्कुट नौ पाकेट, २०२० कुकिज विस्कुट ठूलो नौ पाकेट र सानो नौपाकेट पाइएकाले तिनीहरुलाई जफत गरी नष्ट गर्ने कार्य पनि भएको छ । यसैगरी भाजु पोखरी किराना पसललाई दर्ता नवीकरण गर्न, मूल्यसूची राख्न, साइनबोर्ड राख्न निर्देशन दिइएको छ । नसाः छें पसल दर्ता नभएको पाइएकोले तीन दिनभित्र दर्ता गर्न र दर्ता भए प्रमाणपत्र पसलमा सबैले देखिने गरी राख्न निर्देशन दिइएको छ । उषा ब्यूटिपार्लर दर्ता नभएकाले त्यसलाई तुरुन्तै दर्ता प्रक्रियामा लगिएको जनाइएको छ । उक्त अनुगमनमा अनुगमन समितिका सदस्यहरु हरिराम सुवाल, रोशनमैया सुवाल, भक्तपुर नगरपालिकाका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति सहभागी भएको जनाइएको छ । यसैगरी कर शाखाका अर्जन खाइतु, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक दीपक भारती, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, उद्योग वाणिज्य संघका राजु त्वानाबासू, घरेलु तथा साना उद्योग संघका लक्ष्मीप्रसाद कवा सहभागी भई गरिएको अनुगमनका कारण स्थानीय पसले तथा उद्योगीहरुमाझ सही खालका सामानहरु मात्र विक्री गर्नुपर्ने भन्ने कुराको थप चेतना भएको जनाइएको छ ।

दशैं–तिहारजस्ता चाडपर्वको समयमा मात्र अनुगमन गर्ने कार्यलाई तीब्रता दिने गरिएको अवस्थामा नगरपालिकाले हालको समयमा गरेको यो कार्य प्रशंसनीय कार्य हो । भक्तपुर नगरपालिकाले सबैजसो वडाहरुमा यस्ता अनुगमनको कार्यहरुलाई तीव्रता दिएको खण्डमा यसले जनता तथा विक्रेतालाई सजग हुन मद्दत पु¥याउने हुन्छ । यसैगरी यो विषय जनस्वास्थ्यसँग पनि जोडिएको विषय हो । त्यसैले यस्ता विषयलाई कुनै पर्वको रुपमा मात्र नभई नगरपालिकाले सधैंजसो छड्के रुपमा अनुगमन कार्यलाई अघि बढाउनु पर्ने हुन्छ । यसैगरी यो कार्य भक्तपुर नगरपालिकाले मात्र नभई अन्य स्थानीय निकायहरुले पनि गरेका खण्डमा त्यसले समाज र मानवस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने निश्चित छ । त्यसैले यस्ता अनुगमन कार्यलाई निरन्तरता दिनु आवश्यक छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *