काठमाडौं/ सन् २०२३ र २०२४ मा भएको कारोबारमा लाग्ने जरिवाना भन्दै विमान बंगलादेशले नेपाली ट्राभल एजेन्सीलाई अनाधिकृत बिल पठाएर आतंक मच्चाएको छ । २०२३ अक्टुबरदेखि २०२४ जुन महिनासम्म भएको टिकट बुकिङमा जिडिएस सिस्टमको गलत प्रयोग गरेबापतको जरिवाना (एडिएम) भन्दै तीन ट्राभल एजेन्सीलाई झण्डै एक करोड नेपाली रुपिंयाँको बिल पठाएको बताइएको छ ।
बिल पूर्णरुपमा पूर्वाग्रही ढंगबाट तयार गरिएको भनी पीडित ट्राभल एजेन्सीका संचालकहरुले संयुक्त रुपमा बताएका छन् । “हामी कुनै पनि प्रकारले संलग्न नभएको कारोबारको बिल एकतर्फी रुपमा विमान बंगलादेशले पठाई हामीसँग फिरौतीको रुपमा रकम माग गरिएको छ ।” उनीहरुले भनेका छन् ।
के हो विवाद?
इम्पायर ट्राभल, सेभेन स्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले एडिम पठाएको घटनामा, तिनै ट्राभल एजेन्सी कतै पनि संलग्न नै नभएको कारोबारमा पठाइएको ठूलो रकमको जरिवाना नै यसको विवादको जड रहेको भनी उनीहरुले भनेका छन् । आएटा सर्टिफिकेसन नलिएका नन् आएटा ट्राभल एजेन्सी स्काईलाइन, मिदोरी, फ्लाइट सस्तो र जर्नी ज्वेल्स् ट्राभल एजेन्सी मार्फत जिडिएस सिस्टमको दुरुपयोग गरिएको र सो को जरिवाना भन्दै इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले जरिवानाको बिल पठाएको हो । स्काइलाइन, मिदोरी, फ्लाइट सस्तो र जर्नी ज्वेल्स् ट्राभल एजेन्सीसँग व्यावसायिक कारोबार बाहेक कुनै सम्बन्ध नभएका इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई विमान बंगलादेशले आएटामार्फत एडिम पठाएर रकम असुल्न खोज्नु भनेको अपहरण गरेर फिरौती असुल्नु बराबर हो भन्नेसम्मको बुझाइ ट्राभल एजेन्सीहरुको छ । ट्राभल व्यवसायीहरु भन्छन्, “यो अन्याय मात्र होइन यसभित्र ठूलो षड्यन्त्रको गन्ध छ ।”
कसरी पठाइयो एडिएम
बंगलादेशबाट जापान, लण्डन र क्यानडासम्म उडान भर्न थालेपछि विमान बंगलादेशले कोभिड पछाडिको समयमा नेपालबाट उल्लेख्य यात्रु प्राप्त गर्न थाल्यो । निक्कै महंगो हवाई टिकट दर भएको तात्कालिन समयमा विमान बंगलादेशले सस्तो टिकट दर सार्वजनिक गरेपछि सेवा राम्रो नभए पनि ट्राभल एजेन्सी र यात्रु समेत विमान बंगालदेशतर्फ आकर्षित भए ।
यससँगै बिना कमिसन र घुस डेक नहल्लिने भनेर चिनिएका तात्कालिन कन्ट्री म्यानेजर अनिसुर रहमान पैसा नै असुल्ने धन्दामा लागि परे । ट्राभल एजेन्सीले पनि बाध्य भएर दशौं लाख कमिसन बुझाउँदै क्यापिङ र टिकेटिङको अथोरोटी लिए । विमान बंगलादेशका कन्ट्री म्यानेजरलाई कमिनस नबुझाएसम्म सिस्टममा सिट नै देखिंदैन थियो । उनलाई जसले कमिसन बुझायो त्यसैले मात्र सिट पाउने अवस्था थियो । यसमा एक ठूलै ट्राभल्स एजेन्सीका निर्देशकले पनि बिचौलियाको राम्रै भूमिका खेले । उनै बिचौलियामार्फत नै अनिसुर रहमानले कमिसन र अण्डर टेबल रकम बुझ्ने गरेको भनी आरोप लगाइएको छ ।
यही क्रममा स्काइलाइन ट्राभल्सका सुदीप खनाल पिक्चरमा आउँछन् । उनले विमान बंगलादेशको यो परिस्थितिलाई ठूलो अवसरको रुपमा देखे र स्काइलाइनका साथमा थप तीनवटा ट्राभल एजेन्सी मिदोरी, फ्लाइट सस्तो र जर्नी ज्वेल्स ट्राभलका नाउँमा समेत ग्यालिलियो नेपालबाट टिकेटिङ सिस्टम लिन सफल भए । यसमा ग्यालिलियोले कस्ता डकुमेन्टका आधारमा एकै व्यक्तिलाई एकै ठेगानमा चार–चार वटा अलग सिस्टम किन र कसरी दियो त्यो पनि ठूलो प्रश्न बनेको छ ।
यता चार भिन्न एजेन्सीको नाउँमा टिकेटिङ सिस्टममा एक्सेस पाएका सुदीपले विभिन्न सिस्टममा विमान बंगलादेशका सबै टिकट बुक गर्ने र लामो समय होल्ड गर्न थाले । यसबाट सिस्टममा सिट आउँदैन थियो र उनीसँग मात्रै हुन्थ्यो । उनले सो अवधिमा एकछत्र ब्यापार गरे । ‘यो स्तरको ब्यापार कसरी एउटै ट्राभल एजेन्सीबाट भयो हामी छक्क पथ्र्यौं, त्यही बेला शंका त लागिसकेको थियो । एअरलाइन्सको मिलेमतो विना यो संभव थिएन ।’ पीडित व्यवसायीहरु बताउँछन्, “त्यही बेला सुदीप र अनिसुरको मिलेमतो शुरु भइसकेको रहेछ ।”
सामान्यतया एअरलाइन्सले यो कुरा थाहा पाउन कति पनि समय लाग्दैन र समयमै थाहा पनि पाएकै रहेछ । त्यसैले, अनिसुरले भविष्यमा केहि परे बच्नकै लागि त्यही बेला ग्यालिलियोसँग इन्क्वायरी पनि गरेछन् । सिट धेरै होल्ड गर्ने यी चारै एजेन्सीको बारेमा । जसलाई ग्यालिलियोले पनि आधिकारीक रुपमा जवाफ विमान बंगलादेशलाई सोही बेला दियो तर बजारमा यो कुरा आई नै पुगेन । अनिसुरले आँर्फैसँग गुपचुप राखे ।
अनिसुर रहमानले पनि यो जानकारी आएपछि न त ती नन् आयटा एजेन्सीको टिकट इस्यु गरिदिने ट्राभल एजेन्सीलाई सोको जानकारी गराए न त स्काइलाइन तथा ती ट्राभल एजेन्सीलाई कारबाहीको दायरामा ल्याउने कोशिस गरे । बरु यो मिलाई दिने भन्दै रकम उठाउन बिचौलिया सलबलाए । स्काइलाइनका सुदीपले पैसा दिए दिएनन् प्रष्ट भएन तर जिडिएस मिसयुज रोकिएन झन् मौलायो । यो अहिले विमान बंगलादेशले पठाएको समरीले प्रष्टै देखाउँछ । यसबाट स्काइलाइनका सुदीप र अनिसुर रहमान तथा जिडिएसको समेत मिलेमतोमा राम्रै रकम कुम्ल्याउन उनीहरु सफल भएका बताइन्छ ।
अनिसुर रहमान कन्ट्री म्यानेजर रहँदासम्म यो धन्दा अन्तिम दिनसम्मै मौलाएको देखिन्छ । उनको यो आर्थिक अनियमितता लामो समय लुक्ने खालको थिएन । विमान बंगलादेशको मुख्यालयले थाहा पायो र अनिसुरको नेपालमा कार्यकाल नथप्ने भयो । अनिसुर बंगलादेश फर्किए, अनिसुरको यो धन्धा छताछुल्ल भयो । अनि आफ्नो जागिर जोगाउन अनिसुरले बल्ल इनिसिएटिभ लिए, एडिएम रेज गरे अनि विलिङ चाहिँ इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई भाग बण्डा लगाएर गरिदिए । स्काइलाइन, मिदोरी, फ्लाईट सस्तो र जर्नी ज्वेल्स् ट्राभल एजेन्सीले यसमा छुट पाए । उनीहरुले गरेको घोटालाको बिल तिर्ने जिम्मा अरुलाई दिइयो । नन् आएटा एजेन्सीलाई एअरलाइन्सले आएटाबाट फाइन लगाउन मिल्दैन र सिधै स्काइलाइनबाट उठाउन अनिसुरले मिल्ने भएन, किनकि उनको त मिलेमतो भएको ठाउँ नै त्यही थियो ।
त्यसैले यहाँ यी ट्राभल एजेन्सीसँग कारोबार गर्ने गरेकै भरमा फिरौती उठाउने शैलीमा इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई बिल पठाइयो ।
बद्मासी र शंकास्पद व्यवहार
१. सिस्टम मिसयुज भएको डिसेम्बर २०२३ मै थाहा पाएर पनि चुप लागेर बस्नुर अनिसुर रहमान बंगलादेश फर्किएपछि एडिएम रेज गर्नु ।
२. व्यावसायिक कारोबारको सम्बन्ध भएकै कारण इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्सलाई बिलिङ गर्नु । सिस्टम मिस युज गरेका एजेन्सी र पीडित एजेन्सी बीच जिडिएसमार्फत लिंक गरिने कुनै पनि किसिमको आएटा नम्बर लिंक नभएको प्रमाण जिडिएसले दिंदादिंदै पनि लिंक भएको भनेर भन्नुले एअरलाइन्सको नियत नै खराब भएको देखाउँछ ।
३. स्काइलाइनका साथमा थप तीनवटा ट्राभल एजेन्सी मिदोरी, फ्लाइट सस्तो र जर्नी ज्वेल्स ट्राभलको संचालक तथा ठेगाना एउटै भएको र स्काइलाइन आएटा सर्टिफाईड ट्राभल एजेन्सी भएर पनि स्काइलाइनले गरेको जिडिएस मिसयुज थाहा पाउँदापाउँदै स्काइलाइनलाई एडिएम रेज नगरी अरुलाई गर्नु र स्काइलाइनलाई जोगाउनुमा अनिसुर रहमान र सुदीप खनालको मिलेमतो प्रष्टिन्छ ।
४. आएटाको नियम अनुसार पूरा डिटेल दिएर मात्र एडिएम रेज गर्नुपर्नेमा विमान बंगलादेशको आन्तरिक इमेलको स्क्रिन सट राखेर एडिएम रेज गर्नु अनि देशै भरका नन् आयटा एजेन्सीको एडिएम सिधै तीन ट्राभल एजेन्सीलाई भाग बण्डा गरेर बिलिङ गर्नुले अनिसुर रहमानले आफ्नो गल्ती ढाकछोपका लागि एजेन्सीलाई मोहोरा बनाइएको प्रष्टै छ ।
५. इम्पायर ट्राभल २०२३ जुनमा र सेभेनस्टार इन्टरनेशनल ट्राभलले २०२४ फेब्रुअरिमा क्यापिङ लिए पनि विमान बंगलादेशको क्यापिङ लिनुभन्दा पहिल्यै देखिको जिडिएस मिसयुजको पनि बिलिङ गर्नुले यो बिलिङमा गलत नियत राखिएको प्रष्ट हुन्छ ।
६. एडिएम रेज गर्ने क्रममा प्रमाणको रुपमा आएटामा राखिएको आन्तरिक स्क्रिन सटमा जस्तो सुकै डिस्प्युट भए पनि डिक्लाइन गर्नु भन्ने प्रि डिसाइडेड इमेल राखिनुले यसमा डिस्प्युट आउँछ तर पनि पैसा चाहिंँ असुल्ने भन्ने फिरौतीको स्तरको नियत देखिन्छ ।
यी सबै पक्षले विमान बंगलादेश आएटाको भरमा नेपाली ट्राभल एजेन्सीबाट सिधै रकम उठाउने कुनै कुरै नसुन्ने रणनीतिमा लागेको देखिन्छ । आएटाले पनि यसमा ट्राभल एजेन्सीको गुनासो सम्बोधन गर्ने कुनै कोसिस नै गरेको पाईंदैन । आएटामा गरिएका गुनासोको कस्टरम सर्भिस डिपार्टमेन्टले जेनेरेकि रिप्लाईमा समय गुजारेको देखिन्छ ।
के भन्छन् अन्य ट्राभल एजेन्सी?
इम्पायर ट्राभल, सेभेनस्टार इन्टरनेशनल ट्राभल र ओशो ट्राभल्स माथि स्पष्ट रुपमा अन्याय भएकोमा नेपालका प्रमुख र ठूला ट्राभल एजेन्सीको ऐकबद्धता रहेको छ । २० भन्दा बढी ठूला ट्राभल एजेन्सीले विमान बंगलादेशको मुख्यालय तथा सम्बन्धित पक्षलाई यो अन्यायको विरुद्ध आवाज उठाउँदै एडिएम पुनरावलोकनको आग्रह गरेका छन् ।
नेपाली ट्राभल एजेन्सीलाई फसाउने दाऊ
Facebook Comments Box
