मातृभूमि पार्टीले दियो अख्तियारमा उजुरी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौ/ राष्ट्रिय मातृभूमि पार्टीले नेपाल वायुसेवा निगममा भएको भ्रष्टाचार विरुद्ध कारबाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।
पार्टीका अध्यक्ष रामशरण पाण्डेको अध्यक्षतामा गएको टोलीले उजुरी दर्ता गराएको हो । बर्षौदेखि भ्रष्टाचार मौलाउँदै गएको निगममा कुनै पनि अधिकारीहरुमाथि कारबाही हुन नसको हँुदा भ्रष्टाचारीविरुद्ध उजुरी दर्ता गराउन पार्टी बाध्य भएको अध्यक्ष पाण्डे बताउनु हुन्छ । नेपाल र नेपालीको कीर्ति एवं गौरव छिटो माध्यमद्वारा संसारभर प्रक्षेपण गर्ने मूल संवाहकको परिचायक हाम्रो हवाई उडड्यन र राष्ट्रिय ध्वजावाहक पञ्चायतकालपछि पनि दिनानुदिन कुशासनको चंगुलमा पर्दै गएको कुरा उजुरीमा उल्लेख छ । यसैगरी निगमको व्यवस्थापन कमजोर हुँदै गएकोले धमिजाकाण्ड, लाउडा काण्ड, चेज एयर काण्ड, वाइडबडी काण्ड, साउथ चाइना काण्ड, विभिन्न समयमा भएका इन्जिन मर्मत काण्ड र बेलैमा जहाज मर्मत नगरी कुवेलामा भूमिस्थ गर्ने जस्ता अनगिन्ति वेथिति र भ्रष्टाचारका प्रकरणबाट हाम्रो ध्वजाबाहकले आन्तरिक र बाह्य उडानमा गतिलिन नसकेको भन्ने ठ्म्याइ रहेको पार्टीले उजुरीमा उल्लेख गरेको छ ।
यस्तो विषयलाई समाधान गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धरको समितिले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा दिएको प्रतिवेदन, २०८१ का सुझावहरु तत्काल लागू गर्न मिति २०८२ जेष्ठ १३ गते ध्यानाकर्षण गराइएको पनि उल्लेख गरिएको छ ।
उजुरी दर्ता गराउन गएका पार्टीका सदस्यहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयको मूल ढोका अगाडि विभिन्न नारा सहितको प्लेकार्ड लिएर शान्तिपूर्ण प्रदर्शनी गरेका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *