सडक विभागमा सुधारको संकेत

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ सडक विभागमा डा. विजय जैशीले महानिर्देशक बनेर नेतृत्व सम्हालेको एक महिना मात्र पुगेको छ । डा. जैशी गत जेठ १२ गते विभागको महानिदेशक बनेका थिए । सडक विभागमा डा. जैशी आउनसाथ व्यापक सुधारहरु भै हुने विरुवाको चिल्लो पात भनेझैं लक्षणहरु देखिन थालिसकेका छन् । डिजी जैशी कार्यक्षमता, भिजन र विभागलाई बुझेको प्राविधिक सहसचिव भनेर चर्चा गरिएको छ ।
डा. जैशी आउनासाथ पूर्व महानिर्देशक रामहरि पोख्रेलको कार्यकालमा अलपत्र परेका सडकहरु र बी.पी.राजमार्ग यो बर्खामा चल्ने गरेर बनाउन आउनासाथ निरन्तर खटिईरहेको समाचार श्रोतले जानकारी दिएको छ । बी.पी.राजमार्गको क्षतिग्रस्त सडकहरुको विभिन्न ठाउँमा बोल्ड थप्ने, तारजाली गर्ने र सडक सम्याउने कामहरु भैरहेकाले हालसम्म यातायात सुचारु भै रहेको बताइएको छ । त्यसबाहेक रकमान्तरमा पनि व्यापक सुधार भएको श्रोतको बताएको छ ।
पोख्रेल डिजी हुँदा प्रगति ४८ प्रतिशत रहेकोमा अहिले आजका मितिसम्म ६० प्रतिशत हाराहारी रहेको र ७० देखि ७५ प्रतिशत पुग्ने अनुमान गरिएको छ । विगतमा काठमाडौंमा मात्र झुम्मिने स्टाफहरु अहिले सबै साइडहरुमा रहेको र बजेट तथा रकमान्तरका लागि अर्थ मन्त्रालय धाउन नपर्ने व्यवस्था गरिएको छ । विगतमा डिजीले मन्त्रालय कुर्ने र अन्तिम समयतिर विभाग छिर्ने चलन थियो । त्यसबाहेक नयाँ डिजी आउनसाथ धुलिखेल–खावा सडक ग्रेडिङ्ग गरेर सम्याउने काम भएको र महाकाली पुलको समस्या नेपाली सैनिकसँग समन्वय गरेर समाधान्मुख अवस्थामा पुगेको जानकारहरुले बताएका छन् ।
यसरी एक महिनामा सुधारका संकेतहरु देखिन थालेपछि विभागको नेतृत्वप्रति सबैको आशा र विश्वास जागेको छ । विगतमा सुशीलबाबु ढकालपछि महानिर्देशक बनेका रामहरि पोखरेलले कामभन्दा मन्त्रालयको चाकडी र निर्माण व्यवसायीहरुसँग कमिशनमा हिरिक्क हुने गरेकाले निर्माण व्यवसायीहरुले नटेरेको र सडकहरु अस्तव्यस्त बनेको चर्चा विभागमा चलेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *